स्याउलीबाङमा पुगेन मोटरबाटो
प्यूठान — नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका स्थानीयको गाडीमा यात्रा गर्ने सपना वर्षौंदेखि अधुरै छ । पैदल हिंड्ने सडक पनि ठाउँठाउँमा पहिरो जाँदा जोखिम मोलेर हिंड्नुपरेको छ । खबाङ, लिघा, डाम्रीवासीलाई बर्खामा बजार झर्नसमेत सास्ती छ ।
स्याउँलीबाङमा बर्सेनि मोटरबाटो पुर्याउने कुरा गरिए पनि कार्यान्वयन नभएकाले यहाँका बासिन्दाका लागि सडक सपना सधैं अधुरो रहेको नौबहिनी गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर सेनले बताए । ‘बजेट परेपछि कार्यान्वयन गर्ने दायित्व सम्बन्धित कार्यालयको हुन्छ,’ उनले भने, ‘तर, यहाँ राम्रोसँग कार्यान्वयन नहुँदा समस्या भएको छ ।’ सडक पुर्याउन भनेर परेको बजेटको समेत सही सदुपयोग नभएका कारण स्थानीयले दु:ख पाउनुपरेको उनले बताए । गत आवमा पूर्वाधार विकास कार्यालय प्यूठानबाट आएको ५० लाखमध्ये ७ लाख रुपैयाँ मात्र खर्च भएको थियो । ४३ लाख रुपैयाँ फिर्ता भएको थियो । ‘न ठेकेदारले राम्रोसँग सडक बनाउँछ, न कार्यालयले समयमै काम गराउन तदारुकता देखाउँछ,’ नौबहिनी गाउँपालिका–४, खबाङका वीरबहादुर पुनले भने, ‘यसो गर्दा हामीले सारै दु:ख पायौं ।’ उनले बाहाने बजारबाट ६ घन्टा पैदल हिंडेर खाद्यान्न लगेर खानुपरेको दुखेसो सुनाए ।
‘बाहाने–स्याउलीबाङ सडक पूरा गर्छौं भनेर नेताले भन्न थालेको धेरै भो,’ उनले भने, सडक निर्माणका लागि प्रदेश सरकार, केन्द्रीय सरकारसँग पहल भइरहेको नेताहरूले बताउँदै आए पनि त्यो अहिलेसम्म बोली र भाषणमै सीमित छ ।’ नौबहिनी–६, बाहानेको लाखाचौर स्थित लुङखोलामा निर्माण हुन थालेको पक्की पुलसमेत समयमै निर्माण नभएको स्थानीय रेकम खड्काले बताए । ‘यो पुल समयमा निर्माण भइदिएको भए खबाङको रिठ्ठाघाटसम्म गाडी चल्न सक्थ्यो,’ उनले भने, ‘पुल पनि वर्षौंदेखि अधुरै छ ।’ साविकको जिल्ला विकास समितिमार्फत ५ करोड, गत वर्ष जिल्ला पूर्वाधार विकास कार्यालयबाट ५० लाख, सांसद क्षेत्र विकास कार्यक्रमबाट ४० र गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरे पनि स्याउँलीबाङमा सडक पुर्याउन नसकिएको नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले बताए ।
‘स्याउँलीबाङ पुगेर यस वर्ष जसरी पनि सडक ल्याउँछौं भन्ने प्रतिबद्धता जनाएर फर्केका छौं,’ उनले भने, ‘यस विषयमा गाउँपालिका गम्भीर छ ।’ हिउँदमा मात्र गाडी चल्ने गरी भए पनि लुङखोला किनारैकिनार स्याउँलीबाङसम्म गाडी पुर्याउने योजना रहेको उनले बताए । ‘यसका लागि २५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेका छौं,’ रिजालले भने, ‘यसपटक बाहानेबाट स्याउँलीबाङ गाडी हिउँदमै पुग्छ ।’