३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

घरघरै जर्किनमा पेट्रोल

मधु शाही

(बाँके) — नरैनापुर गाउँपालिका–४ की मोहना राई र छोरी आमियाबीच सामान्य विषयमा झगडा भयो । १७ वर्षीया आमियाले आमालाई आत्महत्या गर्ने धम्की थिइन् । घरमा बेच्न राखिएको बोतलको पेट्रोल ल्याइन् र शरीरभरि छर्किइन् । ‘मर्छु भन्दै सलाई कोर्न थाली,’ मोहनाले एक वर्षअघिको घटना सम्झिइन्, ‘डरले आत्तिएँ, त्यस दिनदेखि पेट्रोल नै बेच्न छाडें ।’ 

उनले छाडे पनि गाउँमा घरैपिच्छे खुलेआम पेट्रोलको व्यापार भइरहेको छ । अति प्रज्वलनशील मानिने पेट्रोलियम पदार्थ यहाँ जर्किन र बोतलमा बेचिन्छ । नजिकै पेट्रोल पम्प छैन । स्थानीय जाकिर अन्सारीको परिवार पेट्रोल व्यापारबाटै धानिएको छ । नेपालगन्जबाट ल्याएर प्रतिलिटर १० रुपैयाँ नाफामा बिक्री गर्छन् । ‘पेट नपाली भएन, बाध्यता छ,’ उनले भने, ‘यो व्यापारका कारण झन्डै कान्छो छोरा गुमाउनुपर्‍यो ।’ फुसले छाएको छाप्रोमा चार जनाको परिवार बस्छ । पेट्रोललाई चोरी, घाम र पानीबाट जोगाउन उनी जर्किन र ड्रम भान्सानजिकै राख्छन् । सबै त्यहीं लाइन लागेर सुत्छन् । एक दिन उनका चारवर्षे कान्छो छोरो हातमा पटाका खेलाउँदै पेट्रोल राखिएको बोतलछेउ पुगे । पटाका पड्किएपछि उनी भागे तर केहीबेरमै बोतल दनदनी बल्न थाल्यो । ‘छोरो बेलैमा नभागेको भए हातखुट्टा जल्ने थियो,’ अन्सारीले भने, ‘त्यस दिनदेखि केटाकेटीलाई नजिक पर्न दिन्नँ तर पेट्रोल बेचेकै छु ।’


नेपालगन्जदेखि झन्डै एक घण्टा परको नरैनापुर गाउँपालिका जिल्लाको दुर्गम क्षेत्र मानिन्छ । यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । स्थानीय नेपालगन्ज र सीमावर्ती भारतीय बजारमा निर्भर छन् । पछिल्लो समय सडक विस्तारसँगै यातायात साधन बढेका छन् । मोटरसाइकल, स्कुटी र गाडी चल्न थाले पनि व्यवस्थित पेट्रोल पम्प छैन ।नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् । नेपालगन्जबाट एक महिनामा ३० लिटर पेट्रोल ल्याउँछन् । उनी आफैं सुरक्षित महसुस भने गर्न सकिरहेका छैनन् । ‘पेट्रोलछेउ नै ओछ्यान लगाएर सुत्छु,’ उनले भने, ‘धेरैले त पेट्रोल चोरिदिने गर्छन् ।’ चोरी हुन नदिन पेट्रोलछेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् । नरैनापुर–२ का ४० वर्षे श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थालेको बताए । सुरुमा आफ्नो ट्याक्टरका लागि ल्याउँथे । त्यही पेट्रोल बढी मूल्यमा बिक्री हुन थालेपछि उनलाई यसको रस बस्यो । एक लिटर पेट्रोलमा १० देखि २० रुपैयाँसम्म नाफा देखेपछि यसकै व्यापारमा लागेको बताए । दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुने उनले सुनाए ।


बाबाले बाटोमा बेच्न राखिएको पेट्रोलछेउ कोही चुरोट सल्काउँदै आउला भनेर एक जना कुरुवासमेत राखेका छन् । ‘आगोबाट जोगाउनु मुख्य चुनौती छ,’ उनले भने, ‘ठूलै पम्प खोलेर व्यवस्थित रूपमा व्यापार गर्न लगानी छैन ।’

नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोख्रेलका अनुसार खुलेआम पेट्रोल बेच्नु सिंगो गाउँ असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने उनले बताए । ‘खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको छ,’ पोख्रेलले भने, ‘गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै छ ।’ स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ ।


नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरीले खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको सुनाए । पछिल्लो समय पेट्रोल बेच्दा साधन हुनेलाई मात्रै दिन, बोतलमा लिन आउनेलाई कारण खुलाएर मात्रै बिक्री गर्न व्यापारीसमक्ष अनुरोध गरेको उनले बताए । प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि यहाँ पेट्रोल पम्प नहुँदा रोकथाम गर्न सम्भव नरहेको उनको दाबी छ । ‘सिंगो गाउँपालिकामै पेट्रोल पम्प छैन,’ उनले भने, ‘नबेच भन्न सम्भव नै छैन । त्यसैले घरघरमा गएर सुरक्षित व्यापार गर्न जनचेतना जगाउने गर्छौं ।’


प्रकाशित : आश्विन ५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?