प्रतिबन्धित पेय पदार्थ छ्यापछ्याप्ती

बर्दिया — सरकारले प्रतिबन्ध लगाएका विभिन्न स्वादका शक्तिवर्द्धक जुस बजारमा छ्यापछ्याप्ती बिक्री भएको पाइएको छ । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सेन्थेटिक फ्लेवर र इनर्जी जुसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै सरकारले गत असारदेखि बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । 

पश्चिम तराईका जिल्लास्थित पसलमा यस्ता पेय पदार्थ जति पनि किन्न पाइन्छ । त्यस्ता विभिन्न ब्रान्डका जुस भियतनाम, बंगलादेश र थाइल्यान्डबाट आयात हुँदै आएका थिए । शक्तिवर्द्धक जुसले मुटु, मृर्गौलामा असर गर्ने विज्ञको भनाइ छ । यस्ता पेय पदार्थले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जानकारी नपाउँदा सर्वसाधारण सेवन गर्न बाध्य छन् । सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी छैन ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवर्द्धक जुसमा पूर्ण प्रतिबन्ध लागिसकेको बताइन् । रेडबुल, लिची, एप्पल स्लाइडरजस्तै थुप्रै प्रकारका शक्तिवर्द्धक जुस बजारमा पाइन्छन् ।


‘सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छ,’ उनले भनिन्, ‘त्यस्ता पेय पदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्त्व पाइँदैन ।’ खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेय पदार्थ बिक्री भइरहेको बताए । तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उनको तर्क छ ।

‘व्यापारीसँग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्छन् । भारतमा पनि त्यस्ता पेय पदार्थ उत्पादन नहुने भएकाले स्टककै हो भन्ने लाग्छ,’ उनले भने, ‘दसैं–तिहारसम्म स्टक सकिन्छ होलाजस्तो छ । त्यसपछि बिक्री बन्द हुन्छ ।’


‘निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना (खण्ड ६९, संख्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं. १ को प्रकरण ४)ले शक्तिवर्द्धक पेय पदार्थहरू र यस्तै प्रकारका पेय पदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हुँदा यस्ता पेय पदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ,’ सरकारले गरेको निर्णयमा उल्लेख छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले शक्तिबर्द्धक पेय पदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताए । उनका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका थिए । ‘केही व्यवसायीले मगाएको पेय पदार्थ बन्दरगाहसम्म आइपुगेको थियो । केहीको भन्सारसम्म पुगेको थियो । यो बेला सरकारले रोक लगाएपछि अदालत गयौं,’ उनले भने, ‘नेपालका लागि आइसकेको पेय पदार्थ बिक्री गर्नका लागि अदालतले बाटो खोलिदिएको हो ।’

प्रकाशित : आश्विन ४, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?