२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आपत्‌को सहयोगी विद्युतीय रिक्सा

कमल पन्थी

(बर्दिया) — दुई वर्षअघिसम्म दिनरात फुर्सद नमिल्ने यहाँका एम्बुलेन्स चालकको अहिले व्यस्तता घटेको छ । बिरामी अस्पताल पुर्‍याउन एम्बुलेन्सको साटो ई–रिक्सा (विद्युतीय रिक्सा) प्रयोग गर्न थालिएको छ ।

आपत्‌को सहयोगी विद्युतीय रिक्सा

त्यसले गर्दा एम्बुलेन्स कामविहीन भएका हुन् । भाडा पनि सस्तो र सजिलै उपलब्ध हुने भएकाले बिरामीलाई अस्पताल पुर्‍याउने माध्यम् ई–रिक्सा बनेको हो । जिल्लास्थित एम्बुलेन्स चालक समितिका अध्यक्ष खिदुलाल चौधरीले ई–रिक्साका कारण बिरामी पाउन मुस्किल परेको बताए । ‘दिनभरिमा मुस्किलले दुर्गमका १/२ जना विरामी जिल्ला अस्पताल र बाँके पुर्‍याउँछौं,’ उनले भने, ‘अक्सिजन दिएर लैजानुपर्ने रोगी र गर्भवतीलाई एम्बुलेन्सको आवश्यकता बढी हुने गरेको छ ।’ अहिले गाउँ, सहरका वडा–वडामा ई–रिक्सा सञ्चालन गरिएका छन् । बोलाउने बित्तिकै घरमै पुग्ने गरेकाले सहज बन्दै गएको छ ।


जिल्लाभरि सञ्चालनमा रहेका दुई दर्जन एम्बुलेन्सको अवस्था उस्तै छ । आपतमा ई–रिक्सा प्रयोग हुन थालेका छन् । नगर क्षेत्रमा सञ्चालित यस्ता रिक्साले बढीमा २० देखि १ सय रुपैयाँसम्म दूरी हेरेर भाडा लिने गरेका छन् । एम्बुलेन्सले सदरमुकाम गुलरियाभित्रका बिरामीलाई अस्पताल पुर्‍याएबापत ५ सय रुपैयाँ भाडा लिन्छन् । चाँडै उपलब्ध हुने भएकाले सर्वसाधरणले रिक्साको प्रयोग गर्न थालेको गुलरिया–६ का शंकरप्रसाद यादवले बताए । यस्ता रिक्साले यहाँबाट नेपालगन्जसम्मको ५ सय रुपैयाँ एकतर्फी भाडा लिने गरेका छन् । एम्बुलेन्सले २ हजार ५ सय रुपैयाँसम्म लिने गरेका छन् । त्यसैले अधिकांश बिरामी रिक्सामा नेपालगन्ज आउजाउ गरिरहेको खड्गा मेडिकल स्टोरका सञ्चालक सन्तोष थापाले बताए ।


‘सहरमा यस्ता रिक्सा सञ्चालन नभएका बेला २४ औं घण्टा उपचार गर्दै ठिक्क हुन्थ्यो,’ उनले भने, ‘अहिले दिनमा एक–दुईपटक बिरामी बोक्ने काम पाउने गरेका छन् ।’ गम्भीर प्रकृतिका बिरामी नेपालगन्ज लगायत सहरका अस्पतालमा लैजानु पर्छ । त्यस्तो बेलामा रातीमा बढी जानु पर्ने हुन्छ । रेडक्रस सोसाइटीका अनुसार रिक्सा सञ्चालनमा नआउँदासम्म एउटा एम्बुलेन्सबाट मासिक १ लाख रुपैयाँ भन्दाबढी आम्दानी हुन्थ्यो । अहिले घटेर ५० हजार रुपयाँ पुगेको छ ।


सानोश्री ताराताल, मोहम्मदपुर, जिल्ला अस्पताल, राजापुर लगायत ठाउॅमा एम्बुलेन्स सेवा सञ्चालनमा छन् । ग्रामिण क्षेत्रमा भने एम्बुलेन्स सेवा खासै प्रभावकारी बन्न सकेको छैन । ग्रेभल र कच्ची सडकमा ई रिक्सा गुड्न प्रयोग बढ्दै गएको छ । ग्रामिण क्षेत्रमा सडक विस्तार संगै पक्कि हुन थालेपछि एम्बुलेन्स सेवा प्रभावित बन्दै गएको छ स्थानीयको छ । ईरिक्सा चालक बद्लु लोधले गुलरिया बजार क्षेत्रका विरामी लगायत सर्वसाधरण संग २० रुपैया किराया अस्पताल पुराएको लिने गरेको बताए । जिल्ला ट्राफिक प्रमुख लोकेन्द्रबहादुर मल्लले जिल्ला अस्पतालमा दैनिक एक सयभन्दा बढी रिक्सा विरामी बोकेर आउने गरेको बताए ।


प्रकाशित : आश्विन ४, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?