कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशसभाको बजेट अधिवेशन : बुद्ध शान्ति पदक जापानी भिक्षुलाई

घनश्याम गौतम

(रुपन्देही) — प्रदेश सरकारले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिलाई विभिन्न पदक प्रदान गर्ने भएको छ । सरकारले ११ विधामा ३५ जनालाई पदक वितरण गर्न लागेको हो ।

पदक संविधान दिवसको अवसर पारेर शुक्रबार घोषणा हुनेछन् । प्रदेश ५ सरकार स्थापना दिवसको अवसर पारेर फागुन ३ गते पदक वितरण हुनेछन् । धेरै पदक मरणोपरान्त व्यक्तिलाई प्रदान गरिएको छ । सरकारको विहिवारको मन्त्रिपरिषद बैठकले पदक वितरण गर्ने व्यक्तिको नाम र विधा टुङ्गो लगाएको छ ।


सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा ११ विधामा पदक वितरण गर्न लागिएको बताए । स्रोतका अनुसार शान्ति स्थापनामा योगदान पु‍र्‍याउनेलाई सम्मान गर्ने गरी स्थापना गरिएको प्रदेशकै ठुलो बुद्ध शान्ति पदक लुम्बिनीमा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई मरणोपरान्त प्रदान गरिने भएको छ । त्यस्तै संघीयता र गणतन्त्रको सुदृढीकरणका लागि उल्लेखनीय योगदान गर्नेलाई प्रदान गर्ने दोस्रो ठुलो प्रदेश प्रमुख जनसेवा पदक राजनीतिज्ञ एवं साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठ र पत्रकार कृष्णसेन इच्छुकलाई मरणोपरान्त प्रदान गरिएको छ । प्रदेशको समृद्धिमा योगदान गर्ने मुख्यमन्त्री प्रज्वल दीप पदकबाट प्रदेश सभाका सदस्य स्वर्गीय उत्तरकुमार ओलीलाई मरणोपरान्त प्रदान गरिएको छ । प्रदेश रत्न पदकबाट खेलाडी सोमपाल कामी, साहित्यकार महेश चौधरी, गुल्मीका शिक्षाविद स्वर्गीय परमानन्द भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रको प्रज्ञा रत्न पदक बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस र गुल्मीको रेसुंगा माविले पाउने भएका छन् ।


सरकारले प्रदेश सरकार अन्तर्गतका कर्तव्यनिष्ठ कर्मचारीलाई प्रदेश सेवा समर्पण, सुरक्षा तथा विपद उद्धारमा अभूतपूर्व क्षमता प्रदर्शन गर्नेलाई उजिरसिंह दीप, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका सामाजिक सेवामा उल्लेखनीय योगदान गर्नेलाई समाजसेवा श्री पदक प्रदान गरिनेछ । कृषि, श्रम, रोजगारी, विज्ञान तथा प्रविधि, भाषा, साहित्य, कला, संगित, शिक्षा, खेलकुद र सूचना तथा संचारको क्षेत्रमा अनुकरणीय कार्य गर्नेलाई प्रदेश रत्न, पर्यटन क्षेत्रको विकासमा योगदान गर्नेलाई पुथाश्री शिखर सम्मान, महिला सशक्तीकरण र बालबालिकाको संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेलाई प्रजापति गौतमी पदक दिइनेछ ।


अधिवेशन अन्त्य

प्रदेश सभाको चौंथो अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले पठाएको प्रदेश सभाको चौंथो एवं बजेट अधिवेशन अन्त्य भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले विहिवारको बैठकमा पढेर सुनाएका थिए । बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको बजेट अधिवेशन जेठ २ गतेबाट शुरु भएको थियो ।


प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार चौंथो अधिवेशनमा ३२ बैठक बसेका छन् । सरकारले १० विधेयक दर्ता गराएको थियो । ति मध्ये ९ विधेयक पारित भएको र प्रदेशको सुशासन प्रवर्धन गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलमा छ । प्रदेश सभाले चौंथो अधिवेशनसम्ममा ४९ विधेयक पारित गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?