१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

८४ वर्षमाथिकालाई घरमै उपचार

अस्पताल पुगेर औषधि ल्याउन सक्ने अवस्था नभए पनि स्वास्थ्यकर्मीहरू घरमै आएपछि धेरै सजिलो
हरि गौतम

(रुकुम पूर्व) — भूमे गाउँपालिका २ स्थित काँक्री स्वास्थ्य चौकीले ८४ वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै उपचार सेवा थालेको छ । साबिकको काँक्री गाविस तथा हालको भूमे गाउँपालिकाका १ र २ वडाका ज्येष्ठ नागरिकले घरघरमै नियमित स्वास्थ्य सेवा पाइरहेका हुन् । स्वास्थ्यकर्मी ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजाँच, उपचार, परामर्शका साथै नि:शुल्क औषधिसमेत वितरण गर्छन् । 

८४ वर्षमाथिकालाई घरमै उपचार

स्वास्थ्यकर्मीहरू एक महिनामा दुईपटक ज्येष्ठ नागरिकका घरमै पुगेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचार र परामर्श दिने गरेका छन् । ‘यस स्वास्थ्य चौकीको कार्यक्षेत्रभित्रका ८४ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकअप गर्न घरघर पुगिरहेका छौं,’ स्वास्थ्य चौकी इन्चार्ज सञ्जीव खड्काले भने, ‘स्वास्थ्य चेकअपका साथै सरसल्लाह, परामर्श र नि:शुल्क औषधि वितरण गरिरहेका छौं ।’ प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर उपचार गर्न थालिएको उनले बताए ।


भूमे गाउँपालिकाका पञ्चासे, लुकुम, काँक्री, खाबाङ, गाबाङ, सैपातुङका विभिन्न टोलमा पुगेर ज्येष्ठ नागरिकको उपचार गर्ने गरिएको हो । स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीदेखि चार घण्टासम्मको पैदल दूरी पार गरेर ज्येष्ठ नागरिकको उपचारमा जाने गरेका छन् । स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रभित्र १३ जना ८४ वर्षमाथिका ज्येष्ठ नागरिक छन् । घरघर पुगेर उपचार गर्दा उनीहरू खुसी भएको स्वास्थ्यकर्मीहरूले बताए । घरमै बसीबसी स्वास्थ्य चेकजाँच, सरसल्लाह, परामर्शका साथै नि:शुल्क औषधि पाइने भएपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । घरमै आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, सरसल्लाह दिने र आवश्यक परे औषधिसमेत नि:शुल्क पाइने भएपछि खुसी लागेको भूमे–२, गाबाङकी ८६ वर्षीया तिर्सना रोकाले बताइन् । आँखा दु:ख्ने र खोकी लाग्ने समस्याले आफू ग्रस्त भएको उनले सुनाइन् । ‘अस्पतालका नानीबाबुहरू आएर हालखबर सोध्नु हुन्छ, नाडी छाम्नु हुन्छ, चेक गर्नुहुन्छ,’ उनले भनिन्, ‘अलिअलि औषधि पनि दिनु भएको छ । यो औषधिले रोग केही बिसेक भएको छ ।’ हिंडडुल गर्न नसक्ने अवस्थामा अस्पताल पुगेर औषधि ल्याउन सक्ने अवस्था नभए पनि स्वास्थ्यकर्मीहरू घरमै आएपछि धेरै सजिलो भएको उनले सुनाइन् ।


भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले स्वास्थ्य चौकी काँक्रीले गएको चैत महिनादेखि यसको सुरुवात गरेको बताए । ‘स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू घरघरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गरेका छन्,’ उनले भने, ‘यसबाट नागरिकमा आशाको सञ्चार भएको छ । स्थानीय सरकारप्रति विश्वास जागेको छ ।’


प्रकाशित : आश्विन ३, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?