रोकिएन बालविवाह

रोल्पा — जिल्लाका जनप्रतिनिधिलाई बालविवाह रोक्न चुनौती बनेको छ । पूर्वाधार निर्माणमा केन्द्रित उनीहरूलाई कम उमेरमा हुने बिहे रोक्न धौधौ भएको हो । कलिलैमा बिहे गरी आमा बन्न थालेपछि महिलाको स्वास्थ्यमा असर देखिएको छ । त्यसैले यहाँका अधिकांश गाउँ र नगरपालिका यस्ता विवाह रोक्ने योजना बनाइरहेका छन् । 

‘यसबारे लगातार सचेतना विस्तार गर्दा पनि सफलता पाउन सकिएको छैन,’ त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले भने, ‘हरेस खाएका छैनौं ।’ यसअघि जनप्रतिनिधिले सार्वजनिक स्थानमा मदिरा र सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउन नियम लागू गरेका थिए । अहिले बालविवाह र बालश्रम रोक्न त्यस्तै निर्णय गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । ‘यस विषयप्रति गम्भीर हुनुपर्ने ठानेकी छु,’ त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सावित्राकुमारी बुढाले भनिन् । अध्यक्ष वलीका अनुसार घरघरमा शिक्षित जनशक्ति भए पनि बालविवाह रोक्न गम्भीरता देखिएको छैन । ‘लुकेर बाल विवाह गर्ने र कम उमेरमा बच्चा जन्माउने बढेका छन्,’ उनले भने, ‘रोक्न सकिएको छैन ।’ स्वास्थ्य चौकीमा गर्भ जचाउन आउनेमध्ये २० वर्षमुनिका धेरै भेटिएपछि जनप्रतिनिधि गम्भीर बनेका हुन् ।


गर्भ जाँच गराउन आएकामध्ये कम उमेरका धेरै भएकाले चेतना नपुगेको नेर्पास्थित स्वास्थ्य चौकीकी अनमि मोतीकला केसीले बताइन् । उनका अनुसार पहिलोपटक गर्भ जचाउन आउनेको उमेर २० वर्षमुनि पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार त्रिवेणीमा मात्रै २० वर्षमुनिका गर्भवतीको संख्या झन्डै ५० प्रतिशत रहेको पाइएको छ । शिक्षित, सचेत र सुगम मानिएको त्रिवेणीमा पनि बाल विवाह, बाल गर्भवती र बालश्रमको समस्या उत्तिकै देखिएको जिल्ला अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताए ।


जिल्लाभर बाल विवाह र कम उमेरमा गर्भवती हुने धेरै छन् । सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर यसबारे स्थानीय तहबाट चेतना र सहयोग बढाउनुपर्ने आवश्यकता भएको स्वीकार गर्छन् । ‘शिक्षा, स्वास्थ्य र पारिवारिक व्यवस्थापनसम्बन्धी जानकारी तीव्र रूपमा गाउँमा फैलाउनु आवश्यक छ,’ उनले भने, ‘अब हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’ सदरमुकाम लिबाङ रहेको रोल्पा नगरपालिकाभित्र समेत यसबारे थुप्रै चुनौती छन् । ‘बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम ल्याएका छौं,’ नगर प्रमुख पूर्ण केसीले भने, ‘बाल विवाह रोक्न सके कम उमेरमा गर्भवती हुने चलन स्वत: हट्नेछ ।’ पूर्वोत्तर रोल्पास्थित सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले आफ्नो गाउँ निकै दुर्गम र कम विकसित क्षेत्रमा परेकाले स–साना योजनामै सीमित हुनुपरेको बताए । ‘मानवीय विकासप्रति चाहेर पनि ध्यान दिन सकिएको छैन,’ उनले भने, ‘पञ्चायतकालदेखि नै पछि पारिएको क्षेत्रको प्रतिनिधित्व गरेकाले स्थानीयका थुप्रै समस्या छन् । कहाँबाट काम थाल्ने भन्ने अलमलमै छु ।’


प्रकाशित : आश्विन २, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?