कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेश मुकाममै असुरक्षा

खुला सिमानाले समस्या  
आर्थिक र आपसी विवाद पनि कारण

(भैरहवा) र (कपिलवस्तु) — बैंकबाट रकम झिकेर घर फर्किरहेका रूपन्देही ओमसतिया गाउँपालिका ५, पट्खौलीका महेन्द्र कुर्मीमाथि आइतबार गोली प्रहार हुँदा घटनास्थलमै उनको ज्यान गयो । भैरहवास्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ झिकेर श्रीमतीसहित उनी मोटरसाइकलमा घर फर्किरहेका थिए ।

भैरहवा–परासी हुलाकी मार्गअन्तर्गत वैकुण्ठपुरमा उनीमाथि गोली प्रहार गरिएको थियो । पहिलोपटक प्रहार गरेको गोली लागेर कुर्मी घाइते भएका थिए । मोटरसाइकल छाडेर भाग्दै स्थानीयको घरभित्र छिर्न लाग्दा आक्रमणकारीले पुन: गोली प्रहार गरेर नगद लुटेका थिए । घटनास्थल सदरमुकाम भैरहवाबाट करिब ५ किलोमिटर पूर्वमा छ ।


गत असार १७ गते अपराह्न लुम्बिनीस्थित कृषि विकास बैंकबाट रकम झिकेर फर्किरहेकी गैडहवा ताल मर्मत तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष रेशमकुमारी मल्लमाथि गोली प्रहार भयो । गोली हानेर मल्लबाट ४ लाख ६० हजार रुपैयाँ लुटेर ती व्यक्ति फरार भए । चैत १३ गते साँझ बुटवल–१ गढीटोल बस्ने भारतको बिहारका ४३ वर्षीय फिरोज खानको पनि गोली हानी हत्या गरियो । काम सकेर कोठातर्फ आउँदै गर्दा उनीमाथि गोली प्रहार गरिएको थियो । फिरोजकै श्रीमतीले भारतबाटै पेसेवर सुटर ल्याएर पतिको हत्या गराएको प्रहरी दाबी छ । हत्यामा संलग्न आरोपित फरार छन् ।


गत असार ३ गते दिउँसो गौतमबुद्ध विमानस्थलबाट पोखरा जान लागेका भारत लखनउका उमेश शुक्ला एक पेस्तोल, दुई म्याग्जिन र १६ राउन्ड गोलीसहित पक्राउ परे । उनी भारतबाट सीमा पार गरेर विमानस्थलसम्म हतियार र गोलीसहित आइपुगेका थिए ।


गत जेठ २ गते सिद्धार्थनगर–११ पिपरैयामा प्रहरी जाँचका क्रममा भारत नौतनवा फरेनाका झिनक धोवीलाई खनतलासी गर्दा पेस्तोल फेला पर्‍यो । उनलाई नियन्त्रणमा लिन खोज्दा भएको अवरोधका क्रममा गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भयो ।


रूपन्देहीमा गोली प्रहारका घटना शृंखलाबद्ध रूपमा भइरहेका छन् । एकपछि अर्को हत्याका घटना हुन थालेपछि सर्वसाधारण त्रस्त छन् । ससाना विवादमा पनि हत्याका घटना हुनु सामान्यजस्तै बनेको छ । रूपन्देही–३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले यस्ता घटनालाई ‘विहारी शैली’ को संज्ञा दिए । ‘दिनदहाडै राजमार्ग र बजारमा यस्ता घटना हुनुले यहाँका प्रत्येक व्यक्ति असुरक्षित रहेको देखाउँछन्,’ उनले भने, ‘सुरक्षा प्रबन्ध कमजोर भएको संकेत यी घटनाले गरिरहेका छन् ।’ सुरक्षा चुनौती बढ्न थालेको र अपराध नियन्त्रणमा नआए आर्थिक, व्यापारिक, औद्योगिक र पर्यटकीय हबका रूपमा विकास भइरहेको रूपन्देहीको भविष्य अन्योलतर्फ उन्मुख हुने उनको दाबी छ । सुरक्षा प्रमुखको छिटोछिटो सरुवा र आफूअनुकूलका व्यक्ति ल्याउने परिपाटीले पनि सुरक्षा अवस्था कमजोर बनेको उनको भनाइ छ ।


भारतसँगको खुला सिमाना र नेपालतर्फ सुरक्षा प्रभावकारी हुन नसक्नुले आर्थिक र पर्यटकीय हबका रूपमा उदाइरहेको जिल्लामा पछिल्लो समय आपराधिक क्रियाकलाप बढेको नागरिक अगुवा बताउँछन् । यहाँ साना हतियारको प्रयोग बढ्दो छ । दुई वर्षयता जिल्लामा दुई दर्जन यस्ता घटना भए । ‘पछिल्लो समय रूपन्देहीमा बढेका आपराधिक क्रियाकलापले शान्तिसुरक्षा भरपर्दो छैन,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने, ‘लामो समयदेखि सुरक्षा प्रभावकारी हुन सकेन ।’ न्यौपानेमाथि पनि पसलमै बसिरहेका बेला दुई वर्षअघि गोली प्रहार भएको थियो । घटनाका दोषी अहिलेसम्म पक्राउ परेका छैनन् ।


सुरक्षा योजना भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए । स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, जनप्रतिनिधि र उच्च सुरक्षा अधिकारीबीच मर्यादाक्रमको अन्योल, काम, कर्तव्य तथा अधिकार बाँडफाँटबारे देखिएको अन्योलले सुरक्षामा प्रभाव पारेको उनको भनाइ छ । ‘एउटा बैंकबाट रकम झिकेर अर्कोसम्म जाँदासम्म सुरक्षा हुँदैन,’ उनले भने, ‘यसले उद्योगी, व्यवसायी तथा लगानीकर्ता त्रस्त छन् ।’


सीमा व्यवस्थित, आवतजावत गर्ने व्यक्तिको प्रमाणीकरण र नाकामा एक्सरे मेसिन राख्ने काम नगर्दासम्म नेपालतर्फ सुरक्षा व्यवस्था चुनौतीपूर्ण रहने पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए । ‘मूल नाकाबाट पनि कुन व्यक्ति आयो, उसले केके सामान ल्यायो भन्नेबारे जबसम्म यकिन हुँदैन, तबसम्म सुरक्षा चुनौती रहन्छ,’ उनले भने ।


भारतबाट नेपालतर्फ आउँदा सुरक्षा जाँच प्रभावकारी छैन । भन्सार जाँच राजस्व केन्द्रित छ । जिल्लामा सुरक्षा चुनौती थपिएको रूपन्देहीका प्रहरी उपरीक्षक हृदय थापा स्विकार्छन् ।

प्रकाशित : आश्विन २, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?