फलफूल तथा तरकारी हाट : बाग्दुलामै व्यवस्थित संकलन केन्द्र

प्यूठान — जनप्रतिनिधि आएको २ वर्षपछि प्यूठान नगरपालिकाले बाग्दुला क्षेत्रमा फलफूल तथा तरकारी पसल व्यवस्थापन गर्ने योजना अघि सारेको छ । नगरपालिकाको ७ र ८ वडाको सीमा क्षेत्र बाग्दुला–खलंगा सडक छेउका झुप्राझुप्री हटाएर व्यवस्थित तरकारी हाट बजार बनाउने भएको हो ।

फलफूल तथा तरकारी हाट : बाग्दुलामै व्यवस्थित संकलन केन्द्र

किनमेल गर्न आउने ग्राहकको भीड र सवारी साधनको चाप भएकाले सडक आसपासका झुप्राझुप्री र टहरालाई हटाएर व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर ठेक्कामार्फत संकलन केन्द्र निर्माण गरिएको हो । निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।


नगर प्रमुख अर्जुनकुमार कक्षपतिका अनुसार पहिलो चरणमा प्रदेश सरकारको २५ लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट जम्मा गरिएको २० लाख रुपैयाँ खर्च गरेर २६ सटर निर्माण गरिएको हो । जिल्लाका स्थानीय तहहरूको केन्द्रमा पुग्ने मुख्य द्वार मानिने बाग्दुलामा निकै भीड हुन्छ । नौबहिनीको बाहाने, झिमरुकको मच्छी, गौमुखीको ठूलाबेसी लिवासे, मल्लरानीको केन्द्र खलंगा जाने मुख्य द्वार बाग्दुला भएकाले यहाँ भीड बढी हुने गरेको हो ।


‘बाग्दुला पुलचोक क्षेत्रको अव्यवस्थित बजारले धेरै समस्या निम्त्याएको छ,’ नगर प्रमुख कक्षपतिले भने, ‘सडक छेउका झुप्राझुप्री र टहरा हटाउने योजनासहित संकलन केन्द्र निर्माण गर्न लागिएको हो ।’ उनले सबभन्दा पहिले सडक क्षेत्रको १५ मिटर दायाँबायाँ लगतकट्टा गर्ने प्रक्रिया पूरा गरी थुप्रा/टहरा हटाइने बताए । ‘सडक छेउमा बसेकालाई लक्षित गरेर संकलन केन्द्र बनाउन लागेका हौं,’ उनले भने, ‘निर्माणको काम सकिएपछि सूचना निकालेर दसैंलगत्तैबाट संकलन केन्द्रमा फलफूल र तरकारी व्यापार सुरु हुनेछ ।’ संकलन केन्द्रलाई बहुउपयोगी बनाउने विषयमा समेत स्थानीय अगुवासँग छलफल भइरहेको उनले बताए ।


बाग्दुला पुलचोक नामले परिचित यो ठाउँमा जिल्लाका ग्रामीण भेगमा गाडी पुगेपछि चहलपहल बढेको स्थानीय बताउँछन् । यहाँ रहेका तरकारी र फलफूल पसललाई व्यवस्थित गरिए सवारी चाप घट्ने स्थानीय प्रमोद पोख्रेलले बताए । पुलचोक बजार आसपासमा जनज्योति सामुदायिक विकास केन्द्रले निर्माण गरेका सडकछेउका सटर भाडामा लिएर फलफूल र तरकारी व्यापारीले व्यापार गर्दै आएका छन् । यस्तै केही वर्षअघि निर्माण भएको प्रतीक्षालयमै स्वर्गद्वारी यातायात व्यवसायी समिति र नमस्ते यातायात प्रालिले टिकट काउन्टर खोलेका छन् । सडक छेउमा रहेका पसलमा किनबेच गर्ने, टिकट काट्ने यात्रुको भीडले सवारी आवागमनमा समस्या भएको स्थानीय जुमानसिंह जीसीले बताए ।


नगरपालिकाले गत वर्ष सडक छेउमा रहेका झुप्राझुप्री हटाउने निर्णय गरे पनि व्यापारीले अटेर गरेका थिए । व्यापारीको वैकल्पिक व्यवस्थाका लागि संकलन केन्द्र निर्माण गरिएको नगरपालिकाको भनाइ छ । फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणले बाग्दुला पुलचोक बजार व्यवस्थित हुने स्थानीय नेगनसिंह कुँवरले बताए । सडक छेउमा रहेका झुप्रा हटाएपछि बाग्दुला बजारको रौनक बदलिने नगरपालिकाले जनाएको छ । संकलन केन्द्रमा अहिले २६ स्टल, शौचालय निर्माण भइरहेको प्रमुख कक्षपतिले बताए । जस्तापाताको छानो लगाएर स्टल निर्माण भएको छ । स्टलहरूमा रंगरोगन, गेट निर्माणलगायतको काम सकिएपछि स्टल बुकिङ खुला गरिनेछ ।

प्रकाशित : आश्विन २, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?