जनचेतनाले घट्दै कुपोषण

बर्दिया — सचेतनासँगै निगरानी बढाइएसँगै यहाँका ११ महिनामुनिका बालबालिकामा कुपोषण घट्दै गएको छ । गाउँघर क्लिनिक, स्वास्थ्य चौकीमा समेत बालबालिकाको निगरानी गरिन थालिएको हो ।

कुपोषण घटउना अभिभावकहरूलाई खानपिनदेखि सरसरफाइबारे जानकारी दिने गरिएको हो । नियमित खानपिनमा अभिभावकहरूले ध्यान दिन थालेसँगै कुपोषणमा पनि कमी आउन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ११ महिनामुनिका बालबालिकाको कुपोषितदर अहिले साढे ४ प्रतिशतमा झरेको छ ।


०७४ मा ४ दशमलव ८ र ०७३ मा ५ दशमलव २ प्रतिशत बालबालिकामा कुपोषण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले गाउँघर क्लिनिक, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, गाउँबस्तीमा रहेका स्वयंसेवीकाहरूले पनि निगरानी गर्ने तथा कुपोषणबारे जानकारी दिने गरेको बताए । ‘गाउँघर क्लिनिकमा पनि ११ महिनामुनिका बालबालिकाको तौल लिएर जाँच गर्दै आएका छौँ ।


तौल नपुगेका बालबालिकाका अभिभावकलाई पोषण खानेकुराबारे जानकारी दिन्छौं,’ उनले भने, ‘अभिभावकहरूले पोषणबारे जानकारी पाएपछि कुपोषणको अवस्थामा सुधार भइरहेको छ ।’ बर्दियामा एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ३ र ३० स्वास्थ्य चौकी छन् । ती सबै ठाउँमा कुपोषण जाँचको व्यवस्था मिलाइएको छ । त्यसबाहेक प्रत्येक महिनामा गाउँमै क्लिनिक सञ्चालन हुने गरेको छ । बच्चा तौल गर्न आउने सबै बच्चाका अभिभावकलाई स्वास्थ्यकर्मीहरूले सुझाव दिने गरेका छन् । ६ महिनाको पुगेपछि बच्चालाई आमाको दूधबाहेक थप पोषिलो खाना खुवाउनुपर्ने जानकारी अभिभावकलाई नहुँदा वा जानेर पनि लापरवाही गर्दा बालबालिका कुपोषणको सिकार हुने गरेका छन् ।


नेपालमा २७ प्रतिशत बालबालिका कुषोषित भएको अभिलेख छ । त्यस्तै ंसन २०११ मा सार्वजनिक गरिएको नेपाल डेमोग्राफिक हेल्थ सर्भेले ४१ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । त्यस्तै २९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल नबढेको, ११ प्रतिशतमा ख्याउटे, ४६ प्रतिशतमा रक्तअल्पताको समस्या छ ।


प्रकाशित : आश्विन २, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?