अपांगता परिचयपत्र वितरण

पाल्पा — यहाँका दुई स्थानीय तहले आफ्ना सबै वडामा अपांगता परिचयपत्र वितरण गरेका छन् । अपांगता भएकाहरूको पहिचान गर्न परिचयपत्र वितरण गरिएको हो । माथागढी गाउँपालिकाले आठवटै वडाका अपांगता भएका व्यक्ति पहिचान गरी घरघरमै पुगेर २ सय ७२ जनालाई परिचयपत्र दिएको अध्यक्ष सन्तोषकुमार थापाले बताए । 

रहबासका चेतबहादुर विकले घरमै कार्ड पाउँदा खुसी लागेको बताए । उनले आफू अशक्त भएकै कारण समाजबाट हेपिएको अनुभूति भएको सुनाए । ‘स्थानीय सरकार घरमै आएर परिचयपत्र दिँदा खुसी लागेको छ,’ उनले भने । परिचयपत्र वितरणमा सहयोग गरेका डा. कुशल खनालले माथागढीका दुर्गम भेकमा गरिब तथा अशक्तको सामान्य परीक्षण गरी कार्ड वितरण गरिएको बताए ।


पूर्वखोला गाउँपालिकाले पनि सबै वडामा पुगेर अपांगता भएकाका लागि परिचयपत्र वितरण गरेको छ । अपांगता परिचयपत्रका आधारमा रातो परिचयपत्र हुनेले मासिक ३ हजार र नीलो परिचयपत्र हुनेले मासिक १ हजार ६ सय रुपैयाँ राज्यबाट सहयोग पाउँछन् । पहेंलो र सेतो परिचयपत्र पाउने अपांगता भएकाहरूलाई सीपमूलक तालिम प्रदान गरी आय आर्जन कार्यक्रम दिने गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

प्रकाशित : आश्विन २, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?