कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फैलिँदै सडक सञ्जाल

सडक निर्माणसँगै  आर्थिक, सामाजिक, धार्मिक र पर्यटन विकासमा जिल्लाले काँचुली फेर्ने सर्वसाधारणको विश्वास
कमल पन्थी

(बर्दिया) — सदरमुकाम गुलरिया लामो समयसम्म सडक सम्पर्कविहीन थियो । सीमावर्ती मुर्तिहाबाट बस र रेल चढेर रुपैडिहा हुँदै नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । तीन दशकको बीचमा जिल्लाले सडक सञ्जालमा प्रगति गरेको छ । सदरमुकाममात्र नभएर ग्रामीण क्षेत्रको मुहार पनि फेरिँदैछ । 

फैलिँदै सडक सञ्जाल

गुलरिया–नेपालगन्ज हुलाकी सडक निर्माण भएको झन्डै ३० वर्ष भयो । अहिले यसको स्तरोन्नति कार्यले गति लिएको छ । ३ महिनाभित्र गुलरिया–भुरीगाउँ–राजापुर खण्ड कालोपत्र हुँदै छ । त्यसपछि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सहज हुनेछ । यसले गाउँ र सहरको दूरी घटाउँदैछ । पहिले गुलरियाबाट राजापुर ४० किमि पार गर्न चार घण्टाको बस यात्रा गर्नु पर्थ्यो । अहिले उक्त दूरी सवा घण्टामै पार गर्न सकिन्छ । कर्णालीमा पुल निर्माण भएको छ । हुलाकी सडक पक्की बनेको छ । यसले यात्रा सहज र सुविधाजनक भएको हो ।


यसैगरी गुलरिया–भुरीगाउँ ३३ किमि दूरी पार गर्न ३ घण्टा लाग्ने गरेको थियो । सडकमा खाडल थिए । ग्राभेल भएकाले तीव्र गतिमा गाडी सञ्चालन गर्न सम्भव थिएन । अहिले एक घण्टामै यो दूरी पार गर्न सकिन्छ ।

गुलरिया–राजापुर–भुरीगाउँ करिब ७० किमि सडकमध्ये ८० प्रतिशत कालोपत्रे भइसकेको छ । गुलरियाको विवादित भन्सार रोड क्षेत्रमा मापदण्डविपरीतका घर/टहरा भत्काउन थालिएको छ । त्यो पूरा भएपछि असोजभित्र हुलाकी सडक निर्माण सकिने गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए ।


नेपाल–भारत सीमाको रजनवादेखि बारबर्दियाको रम्मापुर जोड्ने सडक निर्माण कार्य पनि सुरु भएको छ । यो सडक निर्माण भएपछि आर्थिक, सामाजिक, धार्मिक र पर्यटन विकासमा जिल्लाले काँचुली फेर्ने विश्वास गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी अहिले सडक निर्माणको काम भइरहेको छ । यसको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ । यो सडकलाई जिल्लाको उत्तर–दक्षिण लाइफलाइन मानिएको छ ।


निर्माणपछि त्यस भेगका झण्डै एक लाख बासिन्दा लाभान्वित हुनेछन् । उक्त सडक स्तरोन्नति नहुँदा यहाँ उत्पादित खाद्यान्न ओसारपसारमा समस्या हुँदै आएको छ । अब दुई लेनको सडक रम्मापुरदेखि बारबर्दियाको जब्दीघाटसम्म निर्माण हुने भएको छ । रजनवाबाट जब्दीघाटसम्म चार लेनको सडक निर्माण गरिने गुलरिया नगरपालिकाका सव–इञ्जिनियर अर्जुन लम्सालले बताए । भारतीय ऋण सहयोगमा निर्माण हुन लागेको उक्त सडकको ठेक्का पीआरएल कुमार जेभीले लिएको छ ।


सडक सुधार विकास आयोजनाकी प्रमुख कल्पना अधिकारी सुवेदीले सन् २०२१ सम्म यहाँ ३० किमि सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन् । फोर लेन सडकको सर्भेसमेत भइसकेको छ । रम्मापुरबाट सडक निर्माण कार्य थालनी भएको छ । चार लेनका लागि गुलरिया नगरपालिकाभित्र २४ मिटर सडक चौडा पार्ने काम सुरु भएको छ । रम्मापुर–जब्दीघाट १५ मिटर चौडा हुनेछ । पूर्व–पश्चिम राजमार्ग हुँदै पहाडी जिल्ला पुग्न यो सडक निकै महत्त्वपूर्ण हुने बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारुले बताए । ‘गुलरिया–भुरीगाउँ–राजापुर हुलाकी सडक खण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘रम्मापुर–रजनवा सडक निर्माणले यस क्षेत्रको विकासमा फड्को मार्नेछ ।’ अर्कोतर्फ तीन प्रदेश जोड्ने गरी भुरीगाउँ–सुर्खेत सडक निर्माणाधीन छ ।

प्रकाशित : आश्विन २, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?