कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिद्धबाबामा दिनहुँ पहिरो

माधव अर्याल

(पाल्पा) — सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डमा दिनहुँ पहिरो जान थालेपछि यात्रु हैरानी खेप्न बाध्य छन् । वर्षासंगै दिनहुँ पहिरो झर्ने र खुल्ने क्रम जारी छ । वर्षासंगै राजमार्गको ३९ किमि खण्डका विभिन्न स्थानमा पहिरो खस्ने गरेको हो ।

प्रहरीका अनुसार राजमार्गको कालीमाटी, केराबारी, चौबीसमाइल, झुम्सा, पानी मिल, सिद्धबाबा, दोभान क्षेत्रमा वर्षासंगै पहिरो खसेको छ । दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तिमगरका अनुसार सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका ३, माथिल्लो सिद्धबाबा नजिकैको छर्छरे झर्ना नजिक, हेडवक्स, सिद्धबाबा नजिक, दोभान, झुम्सालगायत स्थानमा दैनिकजसो ठूला ढुंगा, पहिरो खसेको छ ।


दैनिकजसो ढुंगा र पहिरो खसेपछि सडक अवरुद्ध हुने गरेको उनले बताए । पानी नपर्ने हो भने दुई घण्टामा सुचारु हुने गरेको उनले बताए । ‘वर्षा नरोकिँदा पहिरो पन्छाउन कठिन हुने गरेको छ,’ उनले भने, ‘पानी पर्न बिसाउने हो भने एक/दुई घण्टामै पहिरो पन्छाउन सकिन्छ ।’ सिद्धबाबा र दोभानतर्फबाट पहिरो फाल्न मेशिन तयारी अवस्थामा राखिएको छ । सोंचे भन्दा छिटो नै सडक अवरोध हटाउने प्रयास गर्ने गरेको उनले बताए । पहिरो खसेपछि राजमार्ग केही समय अवरुद्ध हुनु स्वभाविक हुने उनको बुझाई छ । पानी परिरहँदा र पहिरो झर्ने क्रम रोकिएन भने केही ढिला हुने गरेको छ । पानी रोकिनासाथ पहिरो फाल्ने गरेको प्रहरी चौकी दोभानले जनाएको छ । सिद्धबाबा नजिकै डोजर राखिएको छ । दोभानमा पनि डोजरको व्यवस्थापन गरेकाले पहिरो पन्छाउन सहज भएको छ ।


यसवर्ष चर्चरेदेखि दोभानसम्म ठूला पहिरो खसेको छैन । तर सामान्य पहिरो सफा गर्ने गरिएको सडक डिभिजन सडक कायालयले जनाएको छ । तिनाउ गाउँपालिका–५, गौडेपुल, कालीमाटी र चर्चरे नजिकै पहिरो खसेर तीन दिनदेखि एकतर्फि यातायात संचालन भएको छ । यहाँ एकतर्फि सवारी साधन संचालनमा आएको राजमार्ग अन्तर्गत प्रभास प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीले बताए । उनका अनुसार दिनदिनै जस्तो पहिरो खसेर हैरानी छ । दैनिक जसो पटक पटक सडक खुल्ने र बन्द हुने भएको छ । सडक डिभिजनको समन्वयले गर्दा केही समय सवारी रोकेर भएपनि राजमार्ग दोहोरो खुलाउने गरेको प्रभास प्रहरी चौकी प्रमुख नेपालीले बताए । मंगलबार बिहान पहिरो खसेर एकतर्फि भएको सडक पुन: बेलुकी दुई घण्टा अवरुद्ध भएको थियो । पुन: पहिरो खसेको र सडक खुलाउन मेशिन प्रयोग गर्दा केही ढिला भएको प्रहरीले जनाएको छ । ‘हामीले थाहा पाउनासाथ मेशिन प्रयोग गरेर तत्काल एकतर्फि सडक खुलाउने गरेका छौं,’ उनले भने, ‘जाममा परेका सवारी साधनलाई पठाइसकेपछि पुन: दुई तर्फि संचालनको व्यवस्थापन गर्ने गरेका छौं ।’


केही दिनयता पानी परिरहेकाले राजमार्ग खुल्ने र बन्द हुने क्रम जारी रहेपनि तत्काल मेसिन पठाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौजन्य नेपालले बताए ।

प्रकाशित : आश्विन १, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?