कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भवन बन्यो, छैन उपचार

बिजुली–पानी र चिकित्सकको अझै अभाव
मधु शाही

(बाँके) — सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गत शुक्रबार नरैनापुर २ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरे । तीनतले भवनको निर्माण १८ महिनामा पूरा गर्ने सम्झौता थियो । त्यसविपरीत १० वर्षमा निर्माण सकेर रिबन काटिएको छ । 

भवन बन्यो, छैन उपचार

एक दशकमा भवन बन्यो तर उपचार सेवा सुरु गर्न भने सकिएको छैन । स्वास्थ्य चौकीका इञ्चार्ज मोहम्मद तैराव राईका अनुसार भवनमा बिजुली–पानीको सहज पहुँच नहुँदा सेवा सुरु गर्न नसकिएको हो । ‘बिजुली–पानी नहुँदा काम सुरु गर्न पाइएको छैन,’ उनले भने, ‘बिरामीलाई हेर्दै रिफर गर्नेबाहेक अरू उपाय छैन ।’ उनका अनुसार गाउँपालिकाका ६ वटै वडाका बिरामीका लागि उपचार केन्द्र पायकमा छ । यहाँ दैनिक ५० देखि ६० बिरामी जाँच गराउन आउँछन् । स्वास्थ्य केन्द्रमा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा बिरामीलाई नेपालगन्ज वा भारत पठाउनु पर्ने बाध्यता छ ।


यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० जना कार्यरत छन् । दक्ष चिकित्सक छैनन् । स्वास्थ्य केन्द्रमा अनमि र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्न बाध्य भएको उनले सुनाए । यहाँ कार्यरत चिकित्सक परीक्षा दिन गएका थिए । उनी फर्केनन् । स्टाफ नर्स मीरा रावलले ४ वर्षदेखि स्वास्थ्य चौकीमा काम गरिरहेको बताइन् । विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउन बाध्य भएको उनले बताइन् । ‘भवन बन्दैमा उपचार पाइने होइन,’ उनले भनिन्, ‘खोइ त चिकित्सक १’ गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।


स्वास्थ्य चौकीमा बसेका सबै डाक्टर हुन् भन्ने स्थानीयको बुझाइ छ । ठूलो आशा लिएर उपचार गर्न आउँदा चिकित्सकको अभावमा फिर्ता गर्नुपर्ने हुन्छ । नरैनापुर–६ का ४४ वर्षीय लखन लोहार खुट्टा भाँचिएपछि उपचारका लागि केन्द्रमा पुगे । त्यहाँ उपचार भएन । त्यसपछि नेपालगन्ज आउनु परेको उनले सुनाए । नरैनापुर–३ की रजिया खाँले उपचारका लागि भारत जाने गरेको बताइन् । ‘त्यो मेरो रहरभन्दा पनि बाध्यता हो,’ उनले भनिन्, ‘दमका रोगी श्रीमान्को उपचारका लागि प्रत्येक महिना जानु पर्छ ।’ त्यहाँ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एकपटकमा २० देखि ३० हजार रुपैयाँ खर्च हुने गरेको उनले सुनाइन् । ‘गाउँकै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्थेन,’ उनले भनिन्, ‘भवन बने पनि चेकजाँच नहुँदा आकस्मिक बिरामीलाई झनै समस्या छ ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद माइन खाँले एमबीबीएस डाक्टरको दरबन्दी पुरानै भएको बताए । चिकित्सक धेरैपटक आउने र जाने हुन्छ । स्थायी रूपमा यहाँ बस्दैनन् । दुई–तीन महिनामै पढ्न जाने भन्दै चिकित्सकले छाड्ने गरेको उनले सुनाए । ‘अहिले अहेव, अनमिले काम चलाउँदै आएका छौं,’ उनले भने । स्थानीय सैयद मुसताक अहमद शाहले १० कट्ठा जमिन स्वास्थ्य केन्द्रलाई दान गरेका थिए । त्यही जमिनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बनेको छ । स्वास्थ्य संयोजक खाँका अनुसार ०५० सालमा नरैनापुरमा स्वास्थ्य चौकी स्थापना भएको हो । मेराज अहमद शाहले सुरुमा भवनको भाडा तिरिदिएका थिए ।


भवन निर्माणका लागि ०६६ मा टेन्डर भएको थियो । ‘लामो समय ठेकेदार देखा परेनन्,’ उनले भने, ‘न कसैले पहल गरे ।’ ३ करोड ४० लाख रुपैयाँमा भवन बनेको हो । मन्त्री राईले केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने योजना सुनाए । योजना स्वीकृतसमेत भइसकेको उनले बताए ।


प्रकाशित : आश्विन १, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?