१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बढ्दै डेंगुका बिरामी

स्थानीय तह भन्छन्, ‘वडाका टोलटोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई सचेत र सुसूचित गराएका छौं’

(नेपालगन्ज), (दाङ) — बाँके र दाङमा डेंगु संक्रमण बढेको छ । यससँगै भाइरल ज्वरोका बिरामीले अस्पताल भरिएका छन् । दिनहुँ स्वास्थ्य परीक्षण गर्नेको भीड लागेको छ । बाँकेका विभिन्न अस्पतालमा सोमबारसम्म ४० भन्दा बढी डेंगुका बिरामी रहेको पुष्टि भएको छ ।

दाङमा सोमबारसम्म ६४ जनामा डेंगु संक्रमण देखापरेको छ । दुवै जिल्लामा बिरामीको संख्या बढिरहेको चिकित्सकले बताए ।


नेपालगन्ज र कोहलपुरका अस्पतालमा ४० डेंगुका बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग निरीक्षक दुर्गा गौतमले बताए । उनका अनुसार विभिन्न जिल्लामा देखिएको डेंगु संक्रमण बढेकाले यहाँका अस्पतालमा जिल्ला र बाहिरका बिरामी छन् । सरकारी र निजी गरेर विभिन्न अस्पतालमा डेंगुका बिरामी उपचारका लागि आउने क्रम बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


कार्यालयले दिएको जानकारी अनुसार बाँके, बर्दिया, कैलाली, रुकुम, दाड र सुर्खेतबाट डेंगुका बिरामी नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचारका लागि आइरहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १३ जनाको उपचार भइरहेको गौतमले बताए । बाँकेका चार, बर्दियाका दुई, कैलालीका तीन, रुकुमका एक, दाङका एक र सुर्खेतका दुई जनाको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डेंगु रोगका ५ संक्रमितको औषधि उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


यस क्षेत्रकै ठूलो भेरी अस्पतालमा अहिले पनि सात जना डेंगुका बिरामी भर्ना भएको अस्पताल प्रमुख रूपानन्द अधिकारीले बताए । यसअघि १७ जना बिरामी उपचारपश्चात् घर फर्किएको उनले सुनाए । ‘हाम्रो काम उपचार गर्ने हो । रोकथामका लागि स्थानीय तहले पहल गर्नुपर्छ,’ उनले भने, ‘जसरी बिरामी बढिरहेका छन्, रोकथामको प्रयास नभएको हो कि भन्ने देखिन्छ ।’


भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको जानकारी दिंदै उपचारका लागि आएका अधिकांश बिरामी बुटवल, नारायणगढ, पोखराजस्ता ठाउँको भ्रमण गरी फर्किएको बताए । बाँकेका ८ स्थानीय तहमध्ये जानकी र डुडुवा गाउँपालिकामा एडिस जातका लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाइएको छ । ‘यहाँका छवटै वडालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौं,’ जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने, ‘वडाका टोलटोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई सचेत र सुसूचित गरेका छौं ।’


६४ मा संक्रमण

दाङमा सोमबारसम्म ६४ जनामा डेंगुको संक्रमण देखापरेको छ । तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी बिरामी देखापरेको जनस्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन कमल चन्दले बताए । यसैगरी घोराही उपमहानगरपालिका र बबई गाउँपालिकामा पनि बिरामी फेला परेका छन् । केही बिरामी सल्यानबाट पनि आएको उनले बताए । तीमध्ये अधिकांश उपचारपछि घर फर्किसकेको र केहीको मात्रै उपचार भइरहेको चन्दले जानकारी दिए । ‘त्यस्तो भयावह अवस्था छैन । डेंगु संक्रमण भए पनि धेरै घरमै बसेर उपचार गरिरहेका छन् । हाम्रो नियमित सम्पर्कमा रहेका छन्,’ उनले भने, ‘अस्पतालमा भीडभाड हुने अवस्था छैन । केही गम्भीर बिरामी जिल्लाबाहिरै गएर उपचार गराइरहेका छन् ।’ केही काठमाडौं र लखनउमा उपचार गर्न गएको उनले बताए । डेंगु संक्रमण बढ्दै गएपछि चेतनामूलक अभियान पनि सञ्चालन गरिएको उनले बताए । ‘दिनदिनै बिरामी भेटिन थालेपछि सबै स्थानीय तहमा चेतना अभियान सञ्चालन भएका छन्,’ उनले भने, ‘लामखुट्टे मार्ने र यसबाट बच्ने उपायबारे सबैलाई प्रशिक्षित गराउने काम भइरहेको छ ।’


जिल्लामा सबैभन्दा बढी बिरामी भेटिएपछि तुलसीपुर र घोराही उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान चलाएका छन् । उपमहानगरको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि मार’ अभियान सञ्चालन गरेको हो । पानी जम्ने खाडल नष्ट गर्ने, लामखुट्टे मार्ने र जनचेतना दिनेजस्ता काम गरिरहेको घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।

प्रकाशित : आश्विन १, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?