कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्वास्थ्य संस्थामै सुत्केरी

जल्पा, सिलुवा र देवी नगरलाई घोषणा गरिसकेकाले पूर्वखोला गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ को तयारीमा
माधव अर्याल

पाल्पा — जिल्लाको पूर्वखोला गाउँपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । त्यसैले गाउँपालिकाले छिट्टै सबै वडालाई ‘जिरो होम डेलिभरी’ घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जल्पा, सिलुवा र देवीनगरलाई घोषणा गरेपछि सिंगो गाउँपालिकाको तयारी गरेको बताए । रिङनेरह, हेक्लाङ र वीरकोट यसअघि नै घोषणा भइसकेका छन् । 

स्वास्थ्य संस्थामै सुत्केरी

गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ६ जना अनमी र पाँच जना कार्यालय सहयोगी भर्ना गरिसकेको अध्यक्ष थापाले बताए । ‘हामीले नागरिकको स्वास्थ्यलाई ध्यान दिएर सोही अनुसारको सहयोग गरेका छौं,’ उनले भने, ‘यसबाट प्रतिफल पनि देखिएको छ ।’ उनले आमा र नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा सुरक्षित हुने बताए ।


गाउँपालिकाले सबै गर्भवती महिलालाई अस्पतालमा सुत्केरी हुन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमसमेत गरेको छ । नर्सिङ कर्मचारीलाई गाउँगाउँमा खटाउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउन प्रोत्साहन गर्ने गर्छन् । सोही अनुसार भौगोलिक विकटता भए पनि अहिले सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी हुन आएको हेक्लाङ स्वास्थ्य चौकी प्रमुख अमृतविक्रम श्रेष्ठले बताए ।


उनका अनुसार पूर्ण संस्थागत सुत्केरीको प्रमाणपत्र पाए पनि आगामी दिनमा चुनौती थपिएको बताए । ‘जति घोषणा गर्न सहज छ, त्यति यसलाई निरन्तरता दिन गाह्रो छ भन्ने लागेको छ,’ उनले भने । गाउँपालिकाले पनि नर्सिङ कर्मचारीलाई गर्भवती खोजी गर्न हिंड्दाको सामान्य सुविधा प्रदान गरेको छ । त्यसले पनि उनीहरूमा हौसला मिलेको छ ।


गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले पूर्वखोलालाई प्रदेश ५ कै पहिलो सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी हुने गाउँपालिका बनाउने योजना रहेको बताए । उनले सोही अनुसार काम अगाडि बढाएको बताए । पूर्वखोला गाउँपालिकाले सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ । ‘यसले पनि संस्थागत सुत्केरी हुनलाई प्रोत्साहन भएको छ,’ सूचना अधिकारी ढकालले भने, ‘घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न र स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन आकर्षित गराउनमा ठूलो सहयोग पुगेको छ ।’


हेक्लाङ र जल्पामा कर्मचारीले नै पकाएर खुवाउँछन् । अन्य स्वास्थ्य संस्थाले बिल पेस गर्ने गरेका छन् । वडामा रहेका स्वास्थ्य चौकीका साथै तानसेनका मिसन र लुम्बिनी मेडिकल कलेजमा गएर सुत्केरी हुने गर्छन् । गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईका अनुसार संस्थागत सुत्केरी बढाउन सहयोग गर्दै आएको बताइन् ।


उनका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि कार्यक्रम सुरु गरेको हो । अघिल्लो आर्थिक वर्षमा पूर्वखोला–१, सिलुवा स्वास्थ्य चौकीमा ४२, वडा–२ को जल्पा स्वास्थ्य चौकीमा २०, वडा–३ को रिङ्नेरह स्वास्थ्य चौकीमा २५, वडा–४ को देवीनगर स्वास्थ्य चौकीमा १४, वडा–५ को वीरकोट स्वास्थ्य चौकीमा ४१ र वडा–६ को हेक्लाङ स्वास्थ्य चौकीमा २७ जनाले प्रसूति सेवा लिएका थिए ।


सुत्केरी आमा र शिशुको ज्यान अकालमै नजाओस् भनेर स्वास्थ्य संस्थामा नै पुगेर सेवा लिनका लागि गर्भवतीलाई आकर्षित गर्ने ग्रिएको हो । गाउँमै स्वास्थ्य सेवा सहज प्रवाह गर्न सिलुवाको तामाखानी, जल्पाको साठीकोल र वीरकोटको भोर्सेमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले बताए ।


‘गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुत्केरी हुन जानेलाई प्रोत्साहन स्वरूप ६ सय रुपैयाँ पनि दिने गरेको छ,’ उनले भने, ‘चार पटकसम्म नियमित गर्भ परीक्षण गराउनेलाई एक क्यारेट अण्डा पनि दिइएको छ ।’ गत आर्थिक वर्षमा एक जनाले मात्र घरमै बच्चा जन्माएको तथ्यांक छ ।


प्रमुख प्रशासकीय अधिकृत पन्थका अनुसार कम्तीमा करोड बजेट वार्षिक रूपमा स्वास्थ्यका क्षेत्रमा खर्च हुँदै आएको छ । ३७ लाख ७७ हजार रुपैयाँ स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले राखेका कर्मचारीका लागि खर्च हुन्छ । वच्चा जन्मेपछि २४ घण्टा, तीन दिन र सात दिनमा घरमा नर्सिङ कर्मचारीसहित पठाउने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?