बाँगीका धेरै युवा कतारतिर

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–५, बाँगीका धेरै युवा कतार गएका छन । ‘गाउँघरका सबै दाइभाइ यहीँ छन । गाउँलेबीच दैनिक भेटघाट भइरहन्छ,’ कतारमा रहेका बाँगी प्यूडाँडाका रामप्रसाद पराजुलीले टेलिफोन सम्पर्कमा भने, ‘कोही टाढा र कोही नजिक छन् ।’

बाँगीका युवा ३० वर्षयता कतार आउजाउ गरिरहेका छन । पराजुली एक दशकदेखि कतारमै रोजगारी गरिरहेका छन । केही युवालाई उनले भिसा पठाइदिए ।

बाँगी–कतार सम्पर्क समाज गठन गरेर बेला–बेलामा भेटघाट, पिकनिक, नाचगान र रमाइलो गर्छन । ‘बाँगीबाट कतार आएका युवा साढे चार सयजति छन्,’ पराजुलीले भने, ‘काम खोज्ने युवाले गाउँबाट फोन, म्यासेज र भिडियो कलमा म कतार आउँछु, भिसा पठाइदिनूस् भन्छन । यहाँ काम खोजेर बोलाउँछौं ।’ गाउँमा बसेर पुग्दैन । यहाँ केही रोजगारी छैन ।

त्यसैले कतार गएका एकले अर्कोलाई तान्छन । दाजुले भाइलाई बोलाउँछन । प्यूडाँडाका माधव भुसाल कतार जाने पहिलो हुन । उनले आफ्ना गाउँका दाइभाइ र नातेदारलाई काम गर्न बोलाए । त्यसपछि लहर चल्यो । कतारमा महिनामा २० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने उनीहरू बताउँछन् ।

कुझेरीका रणबहादुर बीसी सुरुमा छिमेकीको सहायतामा कतार गए । उनले त्यसपछि माइलो भाइ हुमबहादुर र कान्छो भाइ वसन्तलाई उतै बोलाए । अहिले तीनै भाइ कतार आउजाउ गरिरहन्छन् । कुझेरीकै मणिराम थापाले कतार छिरेको एक वर्षपछि माइलो भाइ कृष्णलाई भिसा पठाइदिए । करिब १० वर्ष कतारमा रोजगारी गरेर सदरमुकाममा घर बनाए ।

चार वर्षदेखि चुत्राबेसीमा किराना पसल चलाएका छन । कृष्ण कतार आउजाउ गर्छन । ‘स्वदेशमा केही काम पाइँदैन, कतार नगए उपाय नै छैन,’ मणिरामले भने, ‘पैसा संकलन गरेर व्यापार गर्न थालेको छु, । आफ्नो ठाउँजस्तो कतार छैन ।’ पसलपाटाका लक्ष्मण महतले ६ वर्षको कमाइले सन्धिखर्कमा कुखुरा फर्म खोले । ‘व्यवसाय गर्ने पैसा थिएन, गाउँको दाइलाई भिसा पठाइदिन भनेर कतार गएँ,’ उनले भने, ‘अलिकति पैसा भएपछि कुखुरा फर्म खोलेर बसें ।’ उनको खोरमा एक हजार कुखुरा छन् ।

कतारमा रहेका यहाँका धेरै युवा मान्यजनको हातबाट टीका लगाउन दसैंमा गाउँ आउँछन । आउन नपाएकाले उतै भेला भएर मनाउँछन् । ‘गाउँकै अंकल, दाजु नातेदार सबै यहीं छन् । सबै एउटै परिवारका रूपमा जम्मा भएर दसैं मनाउने कार्यक्रम छ,’ कतारबाट कृष्णले भने । उनले सन्धिखर्कमा घर बनाएका छन । ‘छोराछोरी पढाउन केही वर्ष यतै बस्छु,’ उनले भने ।

बाँगी गाउँमा अहिले युवा भेट्नै मुस्किल छ । युवाजति कतार गएपछि यस्तो भएको हो । ‘कतारमा त जता पनि हाम्रो गाउँकै युवा भेटिछन्,’ वीसीले भने । उनका तीनै भाइले कपिलवस्तुमा घडेरी किनेर घर बनाएका छन । ‘गाउँमा बस्ने मन त छ तर के गर्ने, काम केही पाइँदैन । बल हुँदासम्म यहीं काम गर्छु,’ उनले भने ।

वैदेशिक रोजगारीको कमाइले गाउँको घरआँगनसम्म मोटरबाटो लगेका छन् । आफूले पढेको स्कुलमा अक्षय कोष स्थापना गर्ने काम पनि गरेका छन् । पराजुलीले गत वर्ष आफूले पढेको स्कुल सिद्ध मावि भडारमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरे । आधुनिक शिक्षा अभियान चलाएर रकम संकलन गरी स्कुलमा १० वटा कम्प्युटर हस्तान्तरण गरे । रेमिटयान्सले बाँगी गाउँको जीवनशैली नै फेरिएको छ । खरका छाना भएका घर जस्तापातामा बदलिएका छन । सबै घरमा पक्की शैचालय छन् । गाउँले धेरैका सदरमुकाम र तराईमा घर/घडेरी छन् ।

वैदेशिक रोजगारीले गाउँ परनिर्भर बन्दै गएकामा सरोकारवालाले चिन्ता जनाएका छन् । युवा जनशक्ति विदेश पलायन हुने र महिलाजति छोराछोरी पढाउने निहुँमा सहर पस्दा गाउँको दुर्गति सुरु भएको उनीहरूको भनाइ छ । ‘युवा जोश/जाँगरजति विदेशमा खर्चिन्छन । अनि, बुढेसकालमा स्वदेश फर्केर सबै बर्बाद भयो भन्ने गुनासो उनीहरूकै हुन्छ,’ बाँगीको शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले भने, जबसम्म युवामा स्वदेशमै केही गर्ने सोच विकास हुँदैन गाउँको परनिर्भता हटाउन सकिंदैन ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — भारतको पञ्जाबमा रोजगारी गर्दै आएका अर्घाखाँचीका दुई युवाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मृत्यु हुनेमा शीतगंगा नगरपालिका-३ का ३२ वर्षीय विष्णुबहादुर विक र पाणिनि गाउँपालिका-२ खिदिमका ४४ वर्षीय कृष्णबहादुर सुनारको मृत्यु भएको आफन्तले जनाएका छन् । 

शुक्रबार काम सकेर मोटरसाइकलमा डेरामा फर्कँदै गर्दा विपरित दिशाबाट आएको गाडीले ठक्कर दिँदा विकको घटनास्थलमै र सुनारको उपचारको क्रममा मृत्यु भएको हो । शवलाई पञ्जाबको भटिण्डा स्थित सिभिल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । शवलाई नेपाल ल्याइने आफन्त महेश्वर विकले बताए ।

प्रकाशित : भाद्र २८, २०७६ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्