बालश्रममुक्त वडा घोषणा

दाङ — तुलसीपुर उपमहानगरपालिका–६ बाल श्रममुक्त घोषणा भएको छ । बाल श्रमिकको संख्या शून्य भएपछि शनिबार विभिन्न टोल विकास संस्था, महिला समूह, बालबालिका र अन्य सरोकारवालाहरूको सहभागितामा र्‍याली र झाँकी प्रदर्शन गर्दै बाल श्रममुक्त वडा घोषणा गरिएको हो । 

बालश्रममुक्त वडा घोषणा

सर्वेक्षणका क्रममा १३ बाल श्रमिक फेला परेको र उनीहरूलाई परिवारमा पुनःस्थापना गरिएपछि बाल श्रममुक्त घोषणा गरिएको

वडाध्यक्ष नवराज लामिछानेले बताए ।


बाल श्रम बालअधिकारको मुख्य चुनौती भएकाले लामो समयदेखि यसविरुद्धको अभियान सञ्चालन गरिएको उनले बताए । ‘हामीले बाल श्रमिकको पहिचान गर्ने, उनीहरूको उद्धार र पुनःस्थापना गर्ने काम गरिरहेका छौं,’ लामिछानेले भने, ‘बजार क्षेत्र भएकाले धेरै चुनौतीका बाबजुद बाल श्रममुक्त घोषणा गरिएको छ ।’


बाल श्रममुक्त घोषणाको दिगोपनाका लागि घोषणापछिको पाॅच वर्षे रणनीति पनि तयार गरिएको लामिछानेले बताए । वडा ६ मा १२ हजार ९ सय ६९ जनसंख्या रहेको छ । जसमध्ये १८ वर्षमुनिका बालबालिका ५ हजार ७ सय १ रहेको उनले बताए । वडामा १० गाउॅ र ७२ टोल विकास संस्था छन् ।


वडाका ३ हजार ३ सय १३ घरपरिवारमध्ये दैनिक ज्यालादारीमा जीविका चलाउने परिवार ५१.६७ प्रतिशत रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । सन् २०११ मा गरिएको सर्वेक्षणमा तुलसीपुरमा २ सय ४९ बाल श्रमिक फेला परेका थिए । जसमध्ये वडा ६ मा ५५ जना थिए । त्यसपछि बाल श्रमिक न्यूनीकरणको अभियान थालिएको उनले बताए । अहिले ३ हजार २ सय ४९ घरपरिवारमा सर्वेक्षण गर्दा बाल श्रमिक नभेटिएको उनले सुनाए ।


अब बालमैत्री उपमहानगर बनाउन पहल गरिने नगर प्रमुख घनश्याम पाण्डेले बताए । ‘बालबालिकाका सम्पूर्ण अधिकार सुरक्षित गरी बालमैत्री उपमहानगर बनाउन हामी लागिपरेका छौं,’ उनले भने, ‘यो अभियानमा सबैले साथ दिनुपर्छ । हरेक अभिभावक बालबालिकाप्रति जिम्मेवार हुनुपर्छ ।’


न्यायिक समितिमा पनि काखमा बच्चा च्यापेका र बालबालिका जोखिमपूर्ण अबस्थामा रहेका महिलाहरू नै बढी आउने गरेको न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख माया शर्माले बताइन् । ‘घरेलु हिंसा भोगेर निस्केका महिलाका बालबालिका श्रमको जोखिममा पर्ने गरेका छन्,’ उनले भनिन्, ‘अब जोखिममा रहेका बालबालिकालाई पनि बाल श्रमबाट बचाउन विशेष ध्यान दिइनेछ ।’


बाल श्रममुक्त वडा घोषणा गर्दै संघीय सांसद् हीराचन्द्र केसीले बाल श्रममुक्त वडा घोषणापछि नगरको इज्जत बढेको बताए । बालबालिकाका अधिकार संरक्षण गर्न यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सरोकारवालाहरूले बाल श्रममुक्त नगर बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?