कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वन्यजन्तु हेर्न अब गोविन्दपुर

ठाकुरसिंह थारु

बर्दिया — ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरका जीवनकुमार चौधरी पाहुनालाई हौस्याउँदै थिए, ‘रतुवा निस्कियो है । अलि पर हेर्नुस् त ऊ नीलगाईको झुण्ड । त्यो बँदेलको बगाल हो ।’ अहिले गाविन्दपुर गाउँछेउकै खोदउ सामुदायिक वनमा दिउँसै वन्यजन्तु हेर्न पाइन्छ ।

उक्त सामुदायिक वनमा गैंडा, हात्ती, पाटेबाघ, चितुवा र बाह्रसिंगेलगायत वन्यजन्तु छन् । ‘तपार्इं जतिबेला आउनूस् कुनै न कुनै वन्यजन्तु सहजै देख्न पाउनु हुन्छ । यो हाम्रो वनको विशेषता हो,’ चौधरीले भने, ‘वन्यजन्तु हेर्न अब टाढा जानुपर्दैन, यहीं आए हुन्छ ।’ दक्षिणमा भारतीय जंगलसँग जोडिएको यो सामुदायिक वन १ सय ८६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

भुरीगाउँ बजारबाट पाँच किलोमिटर दक्षिण–पश्चिममा गोविन्दपुर गाउँ छ । छेउमै सामुदायिक वन छ । वन्यजन्तु हेर्न आउने पाहुनाका लागि १२ होमस्टे खोलिएका छन् । प्राकृतिक वातावरणका होमस्टेमा बस्ने र सामुदायिक वनमा घुम्दै रमाउने वातावरण मिलाइएको छ । वनमा पैदल घुम्दै वन्यजन्तु हेर्न सकिन्छ ।


बर्दिया राष्ट्रिय निकुञ्जसँग उक्त वन जोडिएका कारण वन्यजन्तु बढी देखिने गरेका हुन् । स्थानीयले वन्यजन्तुको संरक्षण गर्दै आएका छन् । पर्यटकलाई आकर्षित गर्न स्थानीय संरक्षणमा जुटेका हुन् । ‘संरक्षण गरेकै कारण घरछेउको हाम्रो सामुदायिक वनमा दुर्लभ वन्यजन्तु हेर्न पाइन थालेको हो । नीलगाई, बँदेल त आँगनमै आउँछन्,’ गोविन्दपुर होमस्टे सञ्चालक समितिका अध्यक्ष वीरबल कुसमाले भने, ‘हाम्रो गाउँको आकर्षण भनेकै वन्यजन्तु हुन् ।’


भुरीगाउँ बजारछेउ रहेको गोविन्दपुर गाउँ भने प्रचारप्रसार अभावमा ओझेलमा छ । सञ्चार माध्यमको आँखामा पनि उक्त गाउँ परेको छैन । जसका कारण आन्तरिक र बाह्य पर्यटकको रोजाइमा गोविन्दपुर पर्न नसकेको स्थानीयको भनाइ छ । ‘सुरुआत भएर पनि होला गाउँको प्रचार हुन सकेको छैन । तर, थाहा पाएका पाहुना भने वन्यजन्तु हेर्न आउन थालेका छन् । कोही होमस्टेमा रात पनि बिताउँछन्,’ अध्यक्ष कुसमाले भने, ‘बिस्तारै पाहुना आउने क्रम बढ्दै गएको छ ।’


वन्यजन्तु हेर्न सामुदायिक वनमा मचान बनाइएको छ । वन क्षेत्रमा प्रवेश निःशुल्क छ । होमस्टेमा थारु परिकारको मजा लिन सकिन्छ । थारु परम्पराअनुसार पाहुनाहरूको सत्कार गरिन्छ । ढिक्री, लोकल कुखुरा, घोंघी, माछा र सिद्रा लगायतको परिकारको स्वाद पाहुनाले पाउने गरेका छन् ।


नगरपालिका आफैंमा प्राकृतिक रूपमा निकै धनी छ । बर्दिया निकुञ्ज र थुप्रै सामुदायिक वन छन् । नगरपालिकाले गोविन्दपुरमा होमस्टे सञ्चालनका लागि सहयोग गरेको छ ।


ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठले गोविन्दपुरका होमस्टे प्रवर्द्धनका लागि आर्थिक सहयोग गरिरहेको र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेको बताए । ‘गोविन्दपुर निकै सुन्दर गाउँ हो । प्रकृृतिले भरिपूर्ण छ । वन्यजन्तु पनि प्रसस्त छन्,’ उनले भने, ‘पर्यटकलाई यहाँसम्म ल्याउन सक्ने हो भने गाउँको विकास आफैं हुनेछ ।’

प्रकाशित : भाद्र २९, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?