कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बजारमा अर्ग्यानिक

बर्खाको सिजनमा महिलाले जंगली साग, निउरो, जिब्रे, च्याउ, फुट्की, कर्मुवा, तामालगायत तरकारी बेच्छन्
रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जको धम्बोजी चोकको बैंक परिसरमा लस्करै डालोमा तरकारी राखेर महिलाले दैनिक कारोबार सुरु गर्छन् । गाउँको उत्पादन अर्ग्यानिक हुने भन्दै उपभोक्ता त्यसमा झुम्मिन्छन् । बिहानै महिलाले डालोमा तरकारी फिँजाएपछि ग्राहकको भीड लाग्छ । 

बजारमा अर्ग्यानिक

कुनै विषादी एवं रासायनिक मलखाद नपरेको अर्ग्यानिक तरकारीले सबैलाई लोभ्याएको नेपालगन्ज १० की टीका गुरुङले बताइन् । बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा जंगली साग बढी स्वादिलो र स्वास्थ्यवर्द्धक हुने भएकाले त्यसमा धेरै आकर्षित हुने उनले सुनाइन् । ‘ताजा र स्वादिलो हुने भएकाले दिनहुँ यहींबाटै किन्छु,’ उनले भनिन्, ‘यो तरकारी अर्ग्यानिक पनि छ । विषादी हुँदैन ।’


एकाबिहानै बाटोमा तरकारी फिँजाउन महिलाहरू बाँकेको बैजनाथ गाउँपालिकाको टिटहरियाबाट ३ घण्टाको दूरी पार गरेर नेपालगन्ज आइपुग्छन् । २० महिलाको समूह तरकारी बेच्न छुट्टाछुट्टै समूह बनाएर बजारभरि छरिन्छन् । तरकारी बिक्रीले आफू र आफ्ना परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको उनीहरूले बताए ।


सिजन अनुसारकै तरकारी बिक्री गर्छन् । नेपालगन्जमा प्रायः भारतीय बजार रुपैडिहाबाट तरकारी आउने गर्छ । नेपालगन्ज बजारमा नदेखिने घुइया, प्याटा आदि सिजनअनुसारका तरकारी लिएर आउने गरेको टिटहरिया ८ की मीना थारूले बताइन् । ‘धेरै ग्राहकको रोजाइ जंगली साग नै हो,’ उनले भनिन्, ‘धेरै त नियमित ग्राहकै छन् ।’ उनी २ वर्षदेखि नियमित तरकारी बेच्न नेपालगन्ज आउने गरेकी छन् ।


महिला नियमित तरकारी बिक्री गर्न बजार आउने भएपछि पुरुषले घरको काम गर्छन् । पुरुषले बजारमा कुरेर व्यापार गर्न अप्ठ्यारो मानेकाले महिला मात्र आउने गरेको बैजनाथ गाउँपालिका ८, टिटहरियाकी भोलारानी थारूले बताइन् । उनले १ बिघामा तरकारी खेती गरिरहेकी छन् । उनले आफ्नै बारीको तरकारी मात्र बिक्री गर्छिन् ।


बिहान ५ बजे उठेर तरकारी बिक्रीका लागि आउने उनीहरू सबै बिक्री गरी ११ बजे घर पुग्छन् । ‘आउँदा एउटा गाडी रिजर्ब गरेर आउँछौं,’ मंगल थारुले भनिन्, ‘जाँदा माइक्रोले लैजान्छ ।’ प्रत्येक महिलाले दैनिक हजारदेखि २ हजार रुपैयाँसम्मको तरकारी बेच्ने गरेको उनले बताइन् ।


आय–आर्जनको अर्को स्रोत नभएका उनीहरूले दिनहुँजसो तरकारी बेचेर आफ्नो घर खर्च जुटाउँदै आएका छन् । बर्खामा महिलाले जंगली साग, निउरो, जिब्रे, च्याउ, फुट्की, कर्मुवा, तामालगायत बिक्री गर्छन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?