१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

न शैक्षिक सुधार न समायोजन

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिकाभित्रको शैक्षिक सुधार योजना अलपत्र परेको छ । अहिलेसम्म न अपेक्षाकृत रूपमा शैक्षिक सुधार देखिएको छ, न त विद्यालय समायोजनको कार्यक्रम नै सफल बनेको छ ।

नगर शिक्षा समिति संयोजकसमेत रहेका नगर प्रमुख पूर्ण केसीले विद्यालयको संख्या र शिक्षक दरबन्दी समायोजन गरेर शैक्षिक गुणस्तर वृद्धि गर्न पहल थालिए पनि सफलता नमिलेको बताए । ‘विद्यालय समायोजन गर्न खोज्दा कतै विद्यालय व्यवस्थापन र अभिभावकले मानेका छैनन् । कतै भने जनप्रतिनिधि र शिक्षकको साथ मिलेको छैन,’ उनले भने, ‘समायोजन योजना बनाउने क्रममै रोकिनुपरेको छ ।’


नगरपालिकाका ५, ८, ९ र १० वडा दुर्गममा पर्छन् । ती वडाका विद्यालयमा न दरबन्दी पूर्ण छ, न त मापदण्डअनुसार विद्यार्थी संख्या पुगेको छ । ती स्थानका विद्यालयका अभिभावकले रकम संकलन गर्दै निजी स्रोतका शिक्षक राखेर पढाइ अघि बढाएका छन् । रोल्पा नगरपालिकामा सामुदायिक र संस्थागत गरी ७३ विद्यालय छन् ।


मावि १२, ६ देखि ८ कक्षा सञ्चालन गरिएका आधारभूत विद्यालय १४ र ४७ प्राथमिक विद्यालय छन् । नगरमा ६५ बाल विकास केन्द्र, ५ सामुदायिक सिकाइ केन्द्र र तीनवटा १२ कक्षासम्म पढाइ हुने शैक्षिक संस्था छन् । नगरभित्र करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् भने करिब १ सय ६८ शिक्षक कार्यरत छन् । तर, सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी संख्या १ सय २ मात्रै छ । दरबन्दी अपुग भएका विद्यालयमा निजी, राहत र सट्टा पदमा शिक्षक नियुक्त गरिएको नगरले जनाएको छ ।


नगरभित्रका विद्यालयको अवस्था सुधार गर्न र शैक्षिक अवस्था राम्रो बनाउन छलफल चलिरहेको नगर शिक्षा अधिकारी उपसचिव महेन्द्र पराजुलीले बताए । ‘जबसम्म शिक्षा योजनालाई मुख्य प्राथमिकतामा पार्न सकिँदैन, तबसम्म विद्यालयको भौतिक र शैक्षिक अवस्थामा आशातीत सुधार ल्याउन सकिदैन,’ उनले भने ।


बाधाको चाङ

दूरीका हिसाबले नजिक भएका र भौतिक अवस्थाले परिपूर्ण देखिएका विद्यालयको समायोजन र सहकार्य गर्नेबारे केही समययता छलफल चलिरहेको छ । नगर शिक्षा अधिकारी पराजुलीले जनप्रतिनिधिले विद्यालयको शिक्षा सुधार गर्ने योजनालाई मुख्य प्राथमिकतामा राख्न सके त्यसको प्रभाव सकारात्मक पर्ने बताए ।


राज्यले विद्यालय सञ्चालन गरेबापत हरेक विद्यार्थीका लागि करिब १२ देखि १५ हजार रुपैयाँ खर्च गरेको छ । प्रतिफल भने अपेक्षाकृत हुन सकेको छैन । सुगमदेखि दुर्गमसम्म सञ्चालित विद्यालयमा पूर्ण दरबन्दी छैन ।


नगरभित्रै ३० निजी शिक्षक

रोल्पा नगरलाई शैक्षिक केन्द्र बनाउने भनी जनप्रतिनिधिले योजना अघि सारे पनि प्राथमिक, आधारभूत र माध्यमिक गरी सबै तहका विद्यालयमा निजी शिक्षक कार्यरत छन् । दरबन्दी न्यून भएकाले सरकार र अभिभावक दुवैले निजी स्रोतबाट शिक्षक भर्ना गरेका हुन् ।


नगर शिक्षा समितिका अनुसार कोटगाउँ, जंकोट, होमा, धबाङ, लिबाङ, खुमेल र जेदबाङस्थित प्राथमिक विद्यालयमा मात्रै १४ शिक्षक निजी स्रोतबाट राखिएको छ । यस्तै कोटगाउँ, जंकोट, धबाङ, जेलबाङ, खुमेल, होमा र लिबाङमा १२ शिक्षक निजी स्रोतका छन् । यसै शैक्षिक सत्रबाट आधारभूत तहको पढाइ सञ्चालन गरेका लिबाङका बालमन्दिर र हरिगातिनास्थित विद्यालयमा पनि दरबन्दी पूर्ण छैन ।


जेदबाङ, खुमेल, धबाङ र होमास्थित माध्यमिक विद्यालयमा पनि निजी स्रोतबाट शिक्षक भर्ना गरिएको छ । कोटगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा माविको दरबन्दी एउटा मात्रै छ भने राहत दरबन्दीमा ३ जना कार्यरत छन् । यस्तै माडीचौरस्थित माविमा एक दरबन्दी पनि छैन ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?