पर्यटक सवारीसाधनलाई सीधै भारत जान रोक

रूपा गहतराज

नेपालगन्ज — पहाडी जिल्लाबाट सीधै भारतीय सहरमा यात्रु बोक्ने पर्यटक सवारीसाधनलाई स्थानीय प्रशासनले रोक लगाएको छ  । पहाडी जिल्लाबाट नेपालगन्ज हुँदै भारतका विभिन्न सहरमा पुग्ने गरी सीधा यातायात सञ्चालन हुँदै आएको थियो  ।

पर्यटकका नाममा सर्वसाधारणलाई ओसारपसार गर्ने विकृति बढेपछि प्रशासनले रोक लगाएको हो । होटल व्यवसायी संघ नेपालगन्जको पहलमा जिल्ला प्रशासनले सर्वपक्षीय बैठक गरेर रोक्ने निर्णय गरेको संघका अध्यक्ष भीमलाल कँडेलले बताए ।

‘निर्णय भए पनि प्रभावकारी कार्यान्वयनको खाँचो छ,’ उनले भने, ‘नेपालगन्ज मात्र नभएर सीमावर्ती सबै सहरमा यो रोक्नु जरुरी छ ।’ नरोकिए सर्वसाधारणको अवैध ओसारपसार थप बढ्ने उनले बताए । राप्तीका पहाडी जिल्लासँगै दाङ, अर्घाखाँचीलगायतका जिल्लाबाट भैरहवा, कपिलवस्तु, नेपालगन्ज नाका हुँदै भारतका दर्जन बढी सहरबाट पनि सोझै बस सञ्चालन हुने गरेको छ । पर्यटक बसको अस्थायी इजाजत लिंदै स्थानीय बसहरू भारतीय सहर पुग्ने गरेका छन् ।

त्यसको विरोधमा व्यवसायी आन्दोलित भएका थिए । यातायात व्यवसायीले समेत जिल्ला–जिल्लाबाट भारतीय सहरमा सोझै बस सञ्चालन हुँदा सुरक्षा जोखिमदेखि भारतीय व्यवसायीसँग अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उनीहरूको दाबी छ । ‘सीधा यातायात सञ्चालनले यात्रुलाई सुविधा हुन सक्छ,’ भेरी यातायात व्यवसायी प्रालिका सञ्चालक शोभाखर पौडेलले भने, ‘तर रुकुम, रोल्पा, सल्यान, प्यूठानजस्ता जिल्लाबाट सोझै सिमला, पञ्जाब, दिल्लीजस्ता सहरमा गाडी पुर्‍याउँदा असुरक्षासँगै स्थानीय व्यवसाय पनि धराशायी हुन्छ ।’


यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अगुवाइमा यस खालका यातायात सञ्चालनमा वैध वा अवैध भएको यकिन गरी कानुनविपरीत कार्य रोक्न बाँके प्रहरीलाई जिम्मा दिइएको थियो तर त्यसतर्फ प्रहरी र यातायात व्यवस्था कार्यालय गम्भीर नहुँदा होटल व्यवसायी संघले त्यस खालका बस रोक्न हस्तक्षेप गर्न थालेको थियो । ‘तीन दिनयता मात्रै दर्जनभन्दा बढी गाडी रोकेका छौं,’ संघका अध्यक्ष कँडेलले भने, ‘प्रशासनको पछिल्लो निर्णय कार्यान्वयन नभए आक्रोशित भीडले गर्ने कारबाहीप्रति संघ जिम्मेवारी हुन सक्दैन ।’


प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले तीनबुँदे निर्णय गर्दै त्यसबारे यातायात व्यवस्था विभागमा जानकारी गराउने सहमति गरेको छ । नेपाल–भारत मैत्री बसहरूबाहेक अन्य साधन भारत जाँदा जुन प्रयोजनका लागि हो, सोही प्रयोजनमा मात्र सञ्चालन गर्नुपर्ने, नेपालबाट भारततर्फ जाने सवारीसाधनको यात्रु सूची इलाका प्रहरी कार्यालय जमुनाहले राख्ने, फर्कंदा परिचय खुल्ने कागजातसहित यकिन गर्ने निर्णय पनि भएको प्रशासनले जनाएको छ ।


बैठकमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वस्तुगत व्यवसायी संघका अध्यक्ष भीमबहादुर रानाभाट, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, बाँके प्रहरी प्रमुख, ट्राफिक प्रमुख, यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

एउटै बेडमा २ बिरामी

गिरुप्रसाद भण्डारी

(प्यूठान) — साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बिजुवारमा दरबन्दीका चिकित्सक अभावमा पोस्टमार्टम, घाउ जाँच, ओसीएमसी (लैगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्र) लगायतका काम ठप्प छन् ।

उपचारका लागि आएका बिरामीले सेवा र औषधि पाएका छैनन् । अस्पतालमा ओपीडी सेवा नै बन्द हुँदै छ भन्ने खबर प्रदेश ५ को स्वास्थ्य निर्देशनालय बुटवलमा पुग्यो । सोमबार अस्पतालको अवस्थाबारे बुझ्न निर्देशनालय प्रमुख डा. विनोदकुमार गिरी आए । उनीसँग कर्मचारीले अस्पताल अस्तव्यस्त भएको र असारदेखि पारि श्रमिक पनि नपाएको गुनासो गरे ।

‘असारदेखि तलब पाएका छैनौं,’ कर्मचारीको गुनासो थियो, ‘बिरामीलाई दिने औषधि पनि छैन ।’ निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएर फर्किएका छन् ।
‘संघीयता कार्यान्वयन भएपछि देशभरि नै समस्या छ,’ उनले भने, ‘यहाँको अवस्था पनि नाजुकै रहेछ ।’

धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उनले बताए । प्यूठान अस्पतालमा रहेका चिकित्सक र कर्मचारी मिलेर सेवा दिन सकिने हुँदाहुँदै निमित्त कार्यालय प्रमुख जिम्मेवार नहुँदा समस्या देखिएको उनले बताए । दरबन्दीमा रहेका चिकित्सकलाई बिनाजानकारी अस्पताल छाड्नुको कारण मागिने उनले बताए ।

मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेको पाइएको गिरीले बताए । चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन् । अस्पतालमा दरबन्दीका कुनै चिकित्सक छैनन् । निकसाइमन इन्स्टिच्युटअन्तर्गतका डा. सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन् । गर्मी बढेसँगै यहाँ रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामीले अस्पातल भरिभराउ छ ।

एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ । यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले अस्पतालमा समस्या थपिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘बिरामीले औषधि खरिद गर्ने प्रक्रिया मिलेको छैन भन्ने कुरा जान्दैनन्,’ उनले भने, ‘बिरामी परेका बेला उनीहरूलाई सेवा चाहिएको हुन्छ ।’

अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । औषधि किन्ने अख्तियारी कसैलाई छैन ।

‘अति आवश्यक अक्सिजन सकिएर समस्या भएको भन्ने भो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले भने, ‘मैले ५ हजार रुपैयाँ व्यक्तिगत तवरमा दिएर किन्न लगाएँ ।’ अस्पतालको खातामा लाखौं रुपैयाँ हुँदाहुँदै पनि कार्यालय प्रमुख नभएको र अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्