एउटै बेडमा २ बिरामी

गिरुप्रसाद भण्डारी

(प्यूठान) — साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बिजुवारमा दरबन्दीका चिकित्सक अभावमा पोस्टमार्टम, घाउ जाँच, ओसीएमसी (लैगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्र) लगायतका काम ठप्प छन् ।

उपचारका लागि आएका बिरामीले सेवा र औषधि पाएका छैनन् । अस्पतालमा ओपीडी सेवा नै बन्द हुँदै छ भन्ने खबर प्रदेश ५ को स्वास्थ्य निर्देशनालय बुटवलमा पुग्यो । सोमबार अस्पतालको अवस्थाबारे बुझ्न निर्देशनालय प्रमुख डा. विनोदकुमार गिरी आए । उनीसँग कर्मचारीले अस्पताल अस्तव्यस्त भएको र असारदेखि पारि श्रमिक पनि नपाएको गुनासो गरे ।

‘असारदेखि तलब पाएका छैनौं,’ कर्मचारीको गुनासो थियो, ‘बिरामीलाई दिने औषधि पनि छैन ।’ निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएर फर्किएका छन् ।
‘संघीयता कार्यान्वयन भएपछि देशभरि नै समस्या छ,’ उनले भने, ‘यहाँको अवस्था पनि नाजुकै रहेछ ।’

धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उनले बताए । प्यूठान अस्पतालमा रहेका चिकित्सक र कर्मचारी मिलेर सेवा दिन सकिने हुँदाहुँदै निमित्त कार्यालय प्रमुख जिम्मेवार नहुँदा समस्या देखिएको उनले बताए । दरबन्दीमा रहेका चिकित्सकलाई बिनाजानकारी अस्पताल छाड्नुको कारण मागिने उनले बताए ।

मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेको पाइएको गिरीले बताए । चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन् । अस्पतालमा दरबन्दीका कुनै चिकित्सक छैनन् । निकसाइमन इन्स्टिच्युटअन्तर्गतका डा. सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन् । गर्मी बढेसँगै यहाँ रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामीले अस्पातल भरिभराउ छ ।

एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ । यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले अस्पतालमा समस्या थपिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘बिरामीले औषधि खरिद गर्ने प्रक्रिया मिलेको छैन भन्ने कुरा जान्दैनन्,’ उनले भने, ‘बिरामी परेका बेला उनीहरूलाई सेवा चाहिएको हुन्छ ।’

अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । औषधि किन्ने अख्तियारी कसैलाई छैन ।

‘अति आवश्यक अक्सिजन सकिएर समस्या भएको भन्ने भो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले भने, ‘मैले ५ हजार रुपैयाँ व्यक्तिगत तवरमा दिएर किन्न लगाएँ ।’ अस्पतालको खातामा लाखौं रुपैयाँ हुँदाहुँदै पनि कार्यालय प्रमुख नभएको र अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘जहाज चढ्ने ठूलो रहर’

कान्तिपुर संवाददाता

दमौली — सास फेर्न कठिन भएकाले पाइप राख्नुपर्छ । बायाँ आँखा मासुले पुरिएको छ । दायाँ आँखा भए पनि ज्योति छैन । त्यही पनि पट्टीले बाँधेर सुत्नुपर्छ । नत्र निद्रा पर्दैन । नबाँधे नानी सुक्ने, चिप्रा आउने र घाउ हुने गर्छ ।

कष्टपूर्ण जीवन बिताइरहेका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको यस्तो अवस्था जन्मजात भएको होइन । २०७० सालमा करेन्ट लागेपछि अंगभंग भए । घरनजिक बासीपानीमा विद्युत्को शाखा लाइन जोड्ने क्रममा करेन्ट लागेको थियो । टाउकोले अचानक थ्री फेज लाइनमा छुँदा घटना भयो । ‘करेन्ट लागेको २० दिनपछि बल्ल होस आएछ,’ उनले भने ।

सबै अनुहार डढ्यो । हातका पाखुरा, ढाडको मासु निकालेर नाक बनाउने र डढेको अनुहारमा मासु राखिएको छ । अंगभंग अवस्थामा कष्टकर जीवन बिताउनुपरेको उनको भनाइ छ । ‘ठेकेदारमार्फत विद्युत्को काम गर्दै आएको थिएँ,’ उनले भने, ‘दिनको ५ सय ज्याला पाइन्थ्यो । करेन्ट लागेपछि यस्तो हालत भयो ।’

श्रीमती संगीता, छोरी मेनुका र घरपरिवारलाई सुखमा राख्ने सपना सजाएका उनी वैदेशिक रोजगारीमा लागि जाने तयारीमा थिए । भिसा झरिसकेको थियो । भोलिपल्ट काठमाडौं जाने तयारी थियो । अघिल्लो दिन घटना भएर जीवनमा वज्रपात पर्‍यो । ‘जहाज चढ्ने ठूलो रहर थियो,’ उनले भने, ‘एम्बुलेन्स चढेर अस्पताल पुगेछु ।’ पोखराको मणिपाल शिक्षण अस्पतालमा २० दिन उपचारपछि काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगियो । उपचारपछि उनी बोल्न र घर वरपर लट्ठीको सहारामा हिँड्डुल गर्न सक्ने भएका छन् ।


त्यही अस्पतालमा जर्मन डा. रोबर्ट र डा. सन्तोष नेपालीले औषधोपचार गरिदिएको उनले बताए । नयाँ आँखा राख्न सके देख्न सकिने चिकित्सकको सल्लाह छ । तर आर्थिक अवस्थाले आँखा राख्न समस्या छ । ‘देख्न पाए श्रीमतीलाई काममा सघाउँथें,’ उनले भने, ‘तर पैसा छैन ।’ अहिलेसम्म करिब ३० लाख रुपैयाँ उपचारमा खर्च भएको छ । तर त्यो तिर्नु नपरेको र केही रकम चन्दास्वरूप पनि उठेकाले औषधि किन्न सहज भएको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT