सद्भावको पर्व मोहर्रम

कान्तिपुर संवाददाता

(कपिलवस्तु/परासी) — मुस्लिम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व मोहर्रम मंगलबार कपिलवस्तु र परासीमा धुमधामले मनाइएको छ । यहाँका हिन्दुले पनि यो पर्व मनाउँदै आएका छन् । हिन्दु र मुस्लिम समुदायको सामूहिक पर्व बनेको यसले धार्मिक सद्भाव राख्न बल पुगेको सरोकारवालाहरू बताउँछन् ।

दुवै समुदायले सोमबार साँझ आ–आफ्ना घरअघि कागजको मन्दिर (तहाजिया बाबा) बनाएर मंगलबार स्थानीय कर्बला (चिहान गाड्ने ठाउँमा सेलाएर पर्व मनाएका हुन् । धार्मिक गुरु हजरते इमामे हुसेनको सम्झनामा मुस्लिम समुदायले उनको प्रतीक स्वरूप तहाजिया बाबाको पूजाआजा गर्ने प्रचलन छ ।

धर्मगुरु पैगम्बर मोहम्मद शाहका नाति हजरते इमाम हुसेन न्यायका लागि लड्दा एक क्रूर शासकबाट मारिएपछि उनको सम्झनामा दुःखको पर्वका रूपमा मोहर्रम मनाउने कपिलवस्तुका मुस्लिम अगुवा अब्दुल रसिद खाँले बताए । हिन्दु धर्मावलम्बीले मनोकांक्षा पूरा भएको खुसीमा बाबालाई घरअघि निकालेर अर्को दिन सेलाउने चलन छ ।

कपिलवस्तु नगरपालिका तिलौराका सन्तोष चाईले १० वर्षदेखि तहाजिया बाबाको पूजा गर्न थालेको बताए । गाउँका मुस्लिम समुदायसँगै मिलेर बाबाको पूजाआजा गर्न पाउँदा निकै सन्तुष्टि मिलेको उनले बताए । कपिलवस्तु १०, तेनुवाका वंशीधर बनियाले पनि आठ वर्षदेखि तहजिया बाबाको पूजा गर्दै आएको बताए ।

‘गाउँका हिन्दु र मुस्लिम मिलेर सँगै मोहर्रम मनाइयो,’ उनले भने । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका आमगाउँका हरिराम चौधरीले बाजेकै पालाबाट मोहर्रम पर्व मनाउँदै आएको बताए । बजारमा यस वर्ष दुई सयदेखि १० हजार रुपैयाँसम्मका तहाजिया बिक्री भएका थिए । जिल्लाको सीमावर्ती कृष्णनगर बजारमा पनि मोहर्रमको उल्लास बढेको थियो । तौलिहवामा सागरटोलमा रहेको कर्बला र कृष्णनगरमा लक्ष्मीनगरमा रहेको कर्बलामा तहाजिया सेलाइएको थियो । परासीका हिन्दु र मुस्लिमले अँगालोमा बाँधिएर शुभकामना साटासाट गरेका थिए ।

तहाजिया बेचेर आम्दानी
कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलका समसुल पखियालाई दुई महिनादेखि दिनरात गरेर बनाएका तहाजिया बेच्न सोमबार भ्याइनभ्याइ भयो । उनले एकै दिन १ सय ४७ वटा तहाजिया बचेको बताए । उनीजस्तै मस्जिद टोलकै व्यापारी रउफ खाँले पनि सातायता दैनिक १० हजार रुपैयाँका दरले तहाजिया बिक्री गर्दै आएको बताए । उनले घरका पाँच जना मिलेर ढाइ महिनादेखि तहाजिया बनाएका थिए ।

‘सोमबार मात्रै ४० हजार रुपैयाँको बिक्री गरें,’ उनले भने, ‘यसैको कमाइबाट वर्षभरि पाँच जनाको परिवार पाल्नु छ ।’ धर्मसँगै आम्दानी हुने भएकाले आफूले तहाजिया बनाएर बिक्री गरेको अर्का ब्यवसायी अब्दुल अजिजले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सारंगी जोगाउँदै गन्धर्व

सम्झना रसाइली

(तनहुँ) — गाउँघर घुम्दै सारंगीको धुनमा गीत गाउने गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो । यसरी गाउँघरमा गीत गाउँदै मनोरञ्जनका साथै एक ठाउँको सूचना अर्को ठाउँमा पुर्‍याउने परम्परागत संस्कृति भए पनि अहिले यो लोप हुने अवस्थामा पुगेको छ ।

पछिल्लो समय प्रविधिको विस्तारसँगै गन्धर्व समुदायको परम्परागत पेसा संकटमा छ । सारंगीको धुनमा गीत गाउँदै मनोरञ्जन प्रदान गरी संकलन भएको खाद्यान्न तथा रकमले जीविकोपार्जन गर्न कठिन भएपछि यो समुदाय वैकल्पिक पेसा, व्यवसायतर्फ पनि आकर्षित हुन थालेको छ । तर, भानु नगरपालिका–१ नयाँ बस्तीका गन्धर्वले भने परम्परागत संस्कृतिको संरक्षणसँगै व्यावसायिक रूपमा सारंगी उत्पादन थालेका छन् । बढ्दो आधुनिकता र प्रविधिका विकाससँगै आफ्नो समुदायको परम्परागत पुर्ख्यौली पेसा लोपको संघारमा पुगेपछि पेसाको संरक्षणका लागि सारंगी बनाउने व्यवसाय सञ्चालन गरेको ४४ वर्षीय कृष्ण गान्धारी बताउँछन् ।

उनले भने, ‘शिक्षक, वैदेशिक रोजगारी, यातायात व्यवसाय, नेपाल सरकारको जागिरलगायतका पेसा व्यवसाय गरे पनि सोचेजस्तो सन्तुष्टि पाउन नसकेपछि पुनः आफ्नै पुर्ख्यौली पेसामै फर्किएको छु ।’

गान्धारीले घरमै सारंगी उद्योग सञ्चालन गरी आम्दानी लिन थालेका छन् । करिब ३ लाख रुपैयाँको लागतमा सञ्चालित उद्योगमा ७ जनालाई रोजगारीसमेत प्रदान गरेकागान्धारीले भने, ‘उद्योगमा दैनिक १० देखि १५ सारंगी उत्पादन हुन्छ । गन्धर्व टोलमा रहेका २५ घरधुरीका गन्धर्वले पनि सारंगी निर्माणसँगै गाउँघर, बसमा सारंगीको धुनमा मीठो गीत गाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।’

कुनै समय गाउँघर डुली सारंगीको बजाएर सर्वसाधारणलाई मनोरञ्जनका साथै सूचना प्रदान गरेर संकलित खाद्यवस्तु तथा नगदले जीविकोपार्जन हुन्थ्यो । राजमार्गमा सञ्चालन हुने यात्रुबाहक बस तथा पर्यटकीय क्षेत्रमा सारंगी र गीत गाएर पैसा संकलन गर्ने परम्परा कायमै रहे पनि गाउँघर डुल्ने क्रम भने लोप भएको छ । आर्थिक अवस्था कमजोर भएकाले आधुनिक डिजाइनका सारंगी उत्पादनका लागि मेसिन खरिद गर्न नसकेको कृष्णले बताए । मेसिन खरिद, सीपमूलक तालिम, काठको सहज व्यवस्थापन भइदिएमा पुर्ख्यौली पेसा र सारंगी उत्पादन गर्ने व्यवसाय सञ्चालन गर्न टेवा पुग्ने उनले बताए ।

सारंगी उत्पादनसँगै प्रत्येक दिन बेलुका एक घण्टा सारंगी बजाउने, गन्धर्व समुदायको पूजाआजा, विवाह चाडपर्वमा गाइने गीत पनि नयाँ पुस्तालाई सिकाएर संस्कृति संरक्षण गरिएको छ । ‘उद्योगबाट भाइभतिजालाई गाउँमै रोजगारी मिलेको छ । योसँगै सारंगी भनेको के हो र यसबाट कस्ता धुनहरू निकाल्न सकिन्छ भनी नयाँ पुस्तालाई सिकाउँदा परम्परागत पेसा संरक्षण पनि भएको छ,’ गान्धारीले भने ।

घरआँगनमा पुर्ख्यौली पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउँदा रोजगारीको खोजीमा भौंतारिनु नपरेको २३ वर्षीय विनोद गन्धर्व बताउँछन् । ‘गन्धर्व दाजुभाइ मिलेर धेरै सारंगी बनाएर अन्य ठाउँमा बेच्न जान्छौं,’ उनले भने, ‘हामीले बनाएको सारंगीको बुट्टा, बनावट मन पराएर तारिफ गर्छन् । आफैंले बनाएको सारंगी बेच्दा गौरवको अनुभूति हुन्छ ।’

सारंगी काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौरहालगायत पर्यटकीयस्थलमा खपत हुने गरेको छ । तीनवटा आकारमा सारंगी बन्ने र ठूलोलाई १५ सय, मध्यमलाई १ हजार र सानो आकारकोलाई ५ देखि ६ सय रुपैयाँमा बिक्री गर्ने विनोदले बताए । सारंगी बकाइनो, दबदबे, छतिवन, फड्के, खिरोजस्ता काठबाट बन्ने तर आजभोलि काठ पाउनै मुस्किल भएको रमेश गान्धारीले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT