कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

तीन स्थानीय तहमा प्रदेशका ३२ सडक योजना

यस वर्ष अन्तरपालिका, अन्तरजिल्ला र अन्तरप्रदेश जोड्ने सडकका निम्ति बजेट व्यवस्था गरिएको छ । डोल्पा, रोल्पा, रुकुम पश्चिम जोड्ने सडकलाई प्राथमिकता दिइएको हो ।
हरि गौतम

रुकुम पूर्व — जिल्लामा चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ सडक निर्माण गर्ने भएको छ । जिल्लाका तीन गाउँपालिकामा नयाँ ट्र्याक खोल्ने, पुरानालाई निरन्तरता दिने, स्तरोन्नति र मर्मत शीर्षकमा बजेट छुट्याइएको छ । 

तीन स्थानीय तहमा प्रदेशका ३२ सडक योजना

अघिल्ला आर्थिक वर्षमा निर्माण सुरु भई सम्पन्न हुन नसकेका सडकमा चालु आर्थिक वर्षमा बढी बजेट परेको छ । यस वर्ष अन्तरपालिका, अन्तरजिल्ला र अन्तरप्रदेश जोड्ने सडकका निम्ति बजेट व्यवस्था गरिएको हो ।


जिल्लाका तीनवटै स्थानीय तहका हरेक बस्तीदेखि मुख्य सडक जोड्ने ३२ सडक निर्माणलाई प्राथमिकता तोकिएको छ । विशेष गरी डोल्पा, रोल्पा, रुकुम पश्चिम जोड्ने सडकलाई प्राथमिकता दिइएको हो ।


भूमे गाउँपालिकाको चुनबाङ, महत, पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम हुँदै डोल्पाको सहतरा जोड्ने सडकमा १ करोड रुपैयाँ परेको छ । पीपल–पोखरा–प्वाङ–सिस्ने भएर डोल्पा जोड्ने सडकमा ५० लाख, चुनबाङ–रुकुमकोट–सिस्नेद्वारी भएर डोल्पा जोड्ने सडकमा १ करोड, च्याङचुङ–दोबाटो–गलेबाङ–भेरीडाँडा युद्ध संग्रहालय सडकमा १ करोड बजेट प्रदेश सरकारले छुट्याएको छ ।

चुनबाङ–सिमचौर–गर्पा–तीनबहिनी–रुकुमकोट सडकमा ५० लाख, गैरीगाउँ–डाँडागाउँ–तीन बहिनी धार्मिक स्थल ट्रेकिङ मार्गमा १ करोड, पुथाउत्तरगंगा गाउँपालिकाको पहुँच मार्ग तकसेरा–कोल–नाखा–जामाबागर सडकमा २ करोड ५० लाख बजेट परेको छ । १२ किलोमिटर लामो यो सडक स्तरोन्नति हुनेछ ।


चालु आर्थिक वर्षमा अन्य योजनासँगै सडक निर्माणलाई बढी केन्द्रित गरिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । जिल्लाका सबै ठाउँ सडक सञ्जालसँग नजोडिएकाले सडकलाई प्राथमिकता दिइएको उनले सुनाए । ‘अझै पनि केही गाउँ सडक सञ्जालदेखि निकै टाढा छन्,’ उनले भने, ‘सबभन्दा पहिला सबै गाउँबस्तीको पहुँच सडकसम्म पुर्‍याउनु पर्नेछ ।’


आधारभूत आवश्यकताका रूपमा रहेको सडकले सबैतिर छोएपछि जनताको जीवन स्तर बदलिने उनले बताए । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिकाका धेरै गाउँलाई सडक सञ्जालले छुन सकेको छैन । गाउँपालिकाका १४ मध्ये ९ वडा सडकको पहुँचमा छैन । यहाँका सर्वसाधारण पिठ्यु र घोडा–खच्चडबाट मालसामान ढुवानी गर्छन् । एक गाउँबाट अर्को गाउँसम्म पैदलै हिंड्न बाध्य छन् । गाउँपालिकाको १ देखि ९ वडासम्मै सडक सञ्जालले छोएको छैन ।


यसअघि निर्माण थालिएको सहिद मार्ग र पछिल्लोपटक विभिन्न ३ सडक योजनामार्फत पुथा उत्तरगंगालाई सडक सञ्जालसँग जोड्ने प्रयास थालिएको छ । यद्यपि, चालु वर्षमै सडक पुग्ने अवस्था भने छैन । ‘पछिल्लो समय सडक निर्माणका लागि भनेर बजेट परिरहेको छ तर त्यो पुग्दो देखिन्न,’ पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले भने, ‘अप्ठ्यारो भूगोलका कारण धेरै बजेटले थोरै सडक निर्माण हुने गरेको छ ।’

प्रकाशित : भाद्र २४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?