बजारभरि भारतीय आलु–प्याज

अमृता अनमोल

बुटवल — विषादी मापन सुरु भएपछि भारतीय बजारबाट हरियो तरकारीको आयात घटे पनि आलु–प्याजको आयात भने बढेको बढ्यै छ ।

बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रमा आलु–प्याज मात्रै दैनिक १ करोड ३० लाख रुपैयाँ बराबरको आयात भइरहेको बजार केन्द्रका व्यवस्थापक रामबहादुर खत्रीले बताए । ‘कारोबार हुनेमध्ये एक प्रतिशत आलुमात्र स्वदेशी हो,’ उनले भने, ‘९९ प्रतिशत आलु र शतप्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।’

गत वर्षसम्म केन्द्रमा दैनिक एक करोड रुपैयाँको आलु–प्याजको कारोबार हुन्थ्यो । केन्द्रमा अहिले दैनिक तीन करोड रुपैयाँको तरकारी तथा फलफूलको कारोबार हुन्छ । त्यसमध्ये करिब ८० लाख रुपैयाँको हरियो तरकारीको कारोबार हुन्छ । अघिल्लो वर्षसम्म १५ प्रतिशत भारतीय तरकारी आयात हुन्थ्यो । ‘अहिले मुस्किलले शून्य दशमलव ५ प्रतिशत मात्रै आइरहेको छ,’ व्यवस्थापक खत्रीले भने, ‘हरियो तरकारीको जस्तै आलु–प्याजमा स्वदेशी विकल्प दिन नसक्दा आयात बढेको हो ।’

बुटवलको विषादी मापन प्रयोगशालामा दैनिक ३० देखि ४० वटा फलफूल तथा तरकारीको नमुना परीक्षण हुन्छ । त्यसमध्ये करिब १२ देखि १५ वटा आलुका नमुना छन् । हरियो तरकारी भने जम्मा १ देखि २ वटा मात्रै हुने गरेको विषादी मापन प्राविधिक नरदेशप्रसाद प्रभाकरले बताए । पछिल्लो पटक असार २६ देखि सुरु प्रयोगशालामा भारतीय बजारबाट भित्रिएका करिब आठ सय आलु–प्याजका नमुना परीक्षण भएको छ । त्यसमध्ये २ वटा नमुना त प्रयोग गर्नै नहुने भेटिएका थिए । तर पनि, यसको आयातमा कुनै असर देखिएको छैन ।

भैरहवा भन्सार हुँदै आयात गरिने आलु–प्याजको मात्रा बर्सेनि बढिरहेको छ । भन्सारका सूचना अधिकृत कलिराम पौडेलका अनुसार गत आर्थिक वर्षमा ४ अर्ब ४४ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको आलु–प्याज आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो ३२ करोडले बढी हो । आर्थिक वर्ष ०७४/७५ मा ४ अर्ब १२ करोड ६४ लाख ४४ हजार बराबरको आलु–प्याज आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब ९० करोडको आलु–प्याज आयात भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने सीप र प्रविधि नदिंदा पनि उत्पादन बढाउन र आयात रोक्न नसकिएको बताए । ‘रोग कीराको संक्रमण बढी हुने र बजार भाउ नपर्ने डरले आलु–प्याज खेती गर्ने किसान घट्दै गएका छन्,’ उनले भने, ‘आयात बढ्नु यसको प्रत्यक्ष असर हो ।’ कृषि विज्ञहरूका अनुसार मुलुकको हिमाल, पहाड र तराई सबैतिरको हावापानीमा आलु फल्छ ।

आलुको उत्पादन बढाउन तीनै तहका सरकारले विभिन्न अनुदानका कार्यक्रम चलाएका छन् । आलुको बीउमा अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम हरेक जिल्लामा छन् । प्याज खेती पहाड र तराईमा हुन्छ । प्याज उत्पादन बढाउन बीउमा अनुदान छ । यद्यपि, रोग कीराको संक्रमण धेरै हुने र लागत अनुसार बजार भाउ नपाउने भएकाले किसान आलु–प्याज खेतीप्रति आकर्षित हुन सकिरहेका छैनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तरकारी विकास निर्देशनालयले रूपन्देहीसहित १० जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, किसानले आवश्यक सीप तथा प्रविधि बढाउन र सरकारले भण्डारण सुविधा दिन नसक्दा अभियान सफल भएन । ‘भण्डारण नहुँदा लागत अनुसारको मूल्य पनि परेन,’ यसअघि प्याज मिसन अन्तर्गत खेती गरिरहेका धकधईका किसान राजेन्द्र यादवले भने, ‘अहिले घरायसी उपयोगका लागि बाहेक प्याज खेती गर्दैनौं ।’

सरकारले चिस्यान केन्द्रमा भण्डारण गर्ने व्यवस्था नमिलाउँदा पनि किसानले आलु–प्याजमा लागत अनुसारको मूल्य नपाएको कृषि विज्ञ मदनराज भट्टले बताए । ‘आलु–प्याजको अनावश्यक प्रयोग घटाउने र उत्पादन बढाउने कार्यक्रम एकसाथ संचालन गर्नुपर्छ,’ उनले भने, ‘किसानलाई प्रत्यक्ष प्राविधिक सहयोग र उत्पादित वस्तुको भण्डारण गर्ने काममा पनि ध्यान दिन जरुरी छ ।’

प्रकाशित : भाद्र २४, २०७६ १०:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मापदण्ड विपरीतका संरचना भत्काइँदै

कान्तिपुर संवाददाता

बर्दिया — सदरमुकाम गुलरियाको बजार क्षेत्रमा हुलाकी आयोजनाअन्तर्गत सडक निर्माण सुरु भएको छ । मापदण्ड विपरीतका संरचना भत्काउँदै सडकको काम भइरहेको हो । 

दसैंअगावै सदरमुकाम क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । तुलापुरदेखि जिल्ला प्रहरी कार्यालयसम्म मापदण्ड विपरीतका दर्जनौं घर, पसल भत्काएर सडक फराकिलो पार्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालयदेखि भन्सार रोडका घर/पसल पनि मंगलबारदेखि भत्काउन सुरु गर्ने नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा हुलाकी सडक आयोजना प्रमुख युवराज पोखरेल, निर्माण व्यवसायी, गुलरिया नगरपालिकाका प्राविधिक टोलीसहित बसेको बैठकले दसैंअगावै हुलाकी सडकको काम सम्पन्न गर्ने सहमति गरेको हो । गुलरियाको तुलापुरदेखि नेपाल–भारत सीमाको सुरजपुरसम्म करिब ५ किमि सडक एक महिनाभित्र कालोपत्रे गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

अहिले विद्युत्, टेलिफोन र खानेपानीका लाइन विस्तार गर्ने काम भइरहेको छ । मापदण्ड विपरीतका सडक भत्काउन थालेपछि सदरमुकाम अस्तव्यस्त भएको छ । तर, पुरानो बजार भन्सार रोडका ९५ प्रतिशत संरचना नभत्काइएका कारण काममा अवरोध आएको छ । सडक मापदण्ड अनुसार भन्सार रोडका ९९ प्रतिशत संरचना भत्काउनुपर्ने हुन्छ ।

मापदण्ड विपरीतका संरचना भत्काउँदै काम सुरु गर्ने आयोजनाले जनाएको छ । विद्युत् र टेलिफोन लाइन विस्तार गर्ने क्रममा ती संरचना नभत्काइए सडक निर्माणमा अवरोध आउने स्थानीय गणेश यादवले बताए । नगरपालिकाको अगुवाइमा स्थानीय प्रशासनले सडक निर्माण भएको दिनदेखि मापदण्ड विपरीतका संरचना भत्काउँदै आएको छ ।

ठेकेदार कम्पनीले गत साउन महिनाभित्र सडक निर्माण गर्ने सम्झौता थियो । गुलरिया नगरपालिकाले १२/१२ मिटर सडकको मापदण्ड तोकेको भन्दै पुरानो बजार भन्सार रोडका व्यवसायी र घरधनीले मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि कुनै आदेश नआएपछि काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

ठेकेदार कम्पनी गणपति निर्माण सेवाले वेलवा चोकदेखि मूर्तिहा सीमासम्म करिब १८ किमि सडक निर्माण गरी कालोपत्रे गर्ने सम्झौता गरेको हो । ग्रामीण क्षेत्रमा ७ किमि चौडा कालोपत्रे बनाउने सम्झौता छ भने सहरी क्षेत्रमा भने १३ मिटर चौडा कालोपत्रे निर्माण हुने सम्झौतामा उल्लेख छ ।

दुई वर्षअघि हुलाकी सडक आयोजनाअन्तर्गत सुरजपुर–मधुवन नगरपालिका–८, भुरीगाउॅ–८ र वेलवा–राजापुर खण्डमा ठेक्का सम्झौता भएको थियो । १८ किमि हुलाकी सडक करिब २५ करोड ३१ लाख ८५ हजार (भ्याटबाहेक) मा साउनको तेस्रो साताभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।

निर्माण व्यवसायी गणपति निर्माण सेवाका सञ्चालक तुलसी भण्डारीका अनुसार संरचना नभत्केका कारण आयोजनाले म्याद पनि थपेको छैन । नगरप्रमुख मुक्तिनाथ यादवले दसैं अगावै सदरमुकामभित्र हुलाकी सडक निर्माणका लागि कर्मचारी र प्राविधिक टोली परिचालन गरिएको बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×