१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्थानीय तहमा नियमविपरीत भुक्तानी

माधव अर्याल

पाल्पा — आन्तरिक लेखा परीक्षण नहुँदा स्थानीय तहमा नियमविपरीत भुक्तानी भइरहेको छ । यसरी भुक्तानी गरेकामा हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले गल्ती औंल्याउने गरेको छ । तैपनि, स्थानीयले तहले सुधार गर्न सकेका छैनन् ।

गत आवमा महालेखा परीक्षकले तानसेन नगरपालिकाका विभिन्न शीर्षकमा ५० बढी गल्ती औंल्याएको थियो । त्यसअघिका वर्षमा यस्ता गल्ती झन् धेरै थिए । नगरपालिकाले महालेखालाई दिएको जवाफ झाराटराई रहेको पाइएको छ ।


विभिन्न शाखासँग नियमित गरिने र गरिँदै आएको भन्ने जवाफ पठाएर अनियमितता ढाकछोपको प्रयास गरिएको छ । नगरपालिकाको लेखा समिति सक्रिय नभएकाले आन्तरिक लेखा परीक्षण भएको छैन । लेखा समितिले देखाएका गल्तीसमेत सुधार गरिएको छैन । ‘लेखा समिति नाम मात्रको रहेको हामी पनि स्वीकार्छौं,’ नगरपालिकाका लेखा समिति संयोजक महेश्वर श्रेष्ठले अघिल्लो नगरसभामा बुझाएको प्रतिवेदनमा उल्लेख छ, ‘जसले गर्दा गल्तीलाई सुधार्नेभन्दा ढाकछोप गर्ने चलन छ ।’


नगरपालिकाद्वारा सञ्चालित योजनामा बेरुजु, काम पूरा नभएर पनि भुक्तानी, कर्मचारी, जनप्रतिनिधिले पेस्की लिएर फर्स्योट नहुनु र कागजपत्रसमेत दुरुस्त नहुनुलगायत गल्ती महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । नगरपालिकाले विकास निर्माणका काममा समेत अनियमित ढंगले खर्च गर्दै आएको देखिएको महालेखाले जनाएको हो ।


महालेखा परीक्षक कार्यालयले विभिन्न ऐन, नियम एवं कार्यविधिमा उल्लेख भएका कार्यालयको कामसँग सम्बन्धित आन्तरिक नियन्त्रणको व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ । दैनिक तथा भ्रमण भत्ता खर्चको बिल भुक्तानी गर्दा भ्रमण प्रतिवेदन संलग्न नगरी भुक्तानी लिएर अनियमितता गरेको महालेखाले औंल्याएको छ ।


नगरपालिकाले भने आगामी दिनमा दैनिक तथा भ्रमण भत्ता खर्चको बिल भुक्तानी गर्दा प्रतिवेदन संलग्न गरी भुक्तानी गर्ने बेहोराको जवाफ दिएको छ । लेखा अधिकृत दिवाकर अर्यालले विगतमा भएका गल्तीलाई सुधारेर लैजाने बताए । तानसेन नगरपालिकाले मूल्य नखुलेको पुराना सामानको मूल्य कायम गरी जिन्सी अद्यावधिकै नगरेको महालेखा परीक्षणले औंल्याएको छ ।


तानसेनले जिन्सी खाता अद्यावधिक र प्रमाणित गरेर राखेको छैन । नगरपालिकाले अभिलेख गर्ने र जिन्सी खाता प्रमाणित गर्छौं भन्ने प्रतिबद्धताको जवाफ महालेखालाई दिएको छ । राजस्व असुली र दाखिलामा समेत नगरपालिका चुकेको देखिएको छ । साबिकको गाविसबाट नगरपालिकामा जोडिन आएका वडालाई राजस्व असुली र दाखिला व्यवस्थित गरी व्यवसाय दर्ता, नक्सापासलगायत नियमानुसार गर्न महालेखाले निर्देशन दिएको छ ।


तानसेन नगरपालिकाले वार्षिक खरिद योजना तयार नगरेर गल्ती गरेको उसले औंल्याएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८ (१) ले सार्वजनिक निकायले १० लाख रुपैयाँभन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा आगामी आवको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट तयार गर्नुपर्छ । आगामी आवमा गर्ने वार्षिक खरिद योजना तयार गर्नुपर्ने हुन्छ ।


कार्यालयले विगतमा १० लाखभन्दा बढी रकमको खरिद कार्य गरेको छ । तर, वार्षिक खरिद योजना तयार गरेको नपाएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकालाई प्राप्त हुने आय रकमको दोहोरो लेखा प्रणालीका आधारमा अभिलेख राख्न महालेखाको सुझाव छ ।

प्रकाशित : भाद्र २४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?