सहकारी अपचलन प्रकरण : ३५ जनालाई मुद्दा

कान्तिपुर संवाददाता

नेपालगन्ज — सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन प्रकरणमा मुद्दा प्रक्रिया अघि बढेको छ । दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा प्रक्रिया आवश्यक भए पनि यसले निक्षेपकर्ताको बचत रकम फिर्तामा भने अन्योल सिर्जना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । हाल ६ जना प्रहरी नियन्त्रणमा छन् । अन्य फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

प्रहरीले निक्षेपकर्तालाई आफ्नो प्रमाणसहित रकम दाबी गर्नका लागि गत भदौ १५ मा सूचना जारी गरेको थियो । ‘करिब ७ करोड रुपैयाँ दाबी गर्दै निवेदन प्राप्त गरिसकेका छौं,’ प्रवक्ता सापकोटाले भने, ‘बचतकर्ताले रकम दाबी गर्दै सम्पर्क गरिरहनु भएको छ ।’ सहकारीमा भएको अपचलन मुद्दा प्रक्रियामा जाँदा त्यसले बचत फिर्तामा भने अन्योल बढाएको छ ।

यसअघि बाँके बचत तथा ऋण सहकारी संस्थामा पाँच करोड रुपैयाँभन्दा बढी अपचलन भएको थियो । बचतकर्ताले अहिलेसम्म रकम फिर्ता पाउन सकेका छैनन् । ‘मुद्दा प्रक्रियामा जाँदा बचत फिर्ताको विषय अब अदालतबाट नै टुंगो लाग्छ,’ जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भने, ‘अदालतले दोषीलाई सजाय देला, बिगो तोक्ला तर बचतकर्ताले आफ्नो रकम फिर्ता पाउँछन् भन्नेमा आशंका नै छ ।’ सहकारीका पीडित बचतकर्ताले रकम फिर्ताका लागि संघर्ष समिति गठन गरेका छन् ।

विजयकुमार गुप्ताको संयोजकत्वमा गठित संघर्ष समितिका पदाधिकारी र सदस्य रकम फिर्ताको सुनिश्चितता गर्न कार्यालय धाइरहेका छन् । सहकारीको बचत सुरक्षित गर्न माग गर्दै संयोजक गुप्ता काठमाडौं पुगेका छन् । ‘सहकारी विभाग र नेपाल राष्ट्र बैंकका अधिकारीसँग सहकारीको समस्या राखेर बचत फिर्ताको सुनिश्चितताका लागि पहल गर्दै छौं,’ उनले भने, ‘बचतकर्ताको रकम डुब्न नदिने प्रयासमा छौं ।’

अपचलन रकम निश्चित गर्न तीनवटा समिति गठन भएका छन् । ५२ करोड रुपैयाँ अधिकतम पुँजी रहेको सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीको संयोजकत्वमा गठित आन्तरिक छानबिन समितिले २६ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन र जिल्ला सहकारी संघले गठन गरेको नवराज उपाध्याय संयोजक रहेको समितिले भने ३८ करोड १७ लाख ५० हजार अपचलन भएको प्रतिवेदन तयार गरेको थियो । संघको विशेष साधारणसभाबाट गत असार २८ मा गठित पूर्वमन्त्री सर्वदेव ओझाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समितिले गठन भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

रूपन्देहीमा ८५ डेंगुका बिरामी

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार साँझ मृत्यु 
अमृता अनमोल

बुटवल — रूपन्देहीमा डेंगुको संक्रमण भयावह बन्दै गएको छ । आइतबारसम्म ८५ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार साँझ मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै डेंगुका ६८ जना बिरामी भेटिएका छन् । ४० जना उपचाररत छन् भने २७ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ । यस अस्पतालमा साउन २८ देखि डेंगुका बिरामी भेटिएका थिए । भदौको दोस्रो साताबाट बिरामी ह्वात्तै बढेका हुन् । पछिल्लो दुई दिनमा मात्रै १५ जना नयाँ बिरामी थपिएको अस्पतालको रेकर्डर शाखाका पंकज पटेलले बताए । उनका अनुसार शनिबार आठ र आइतबार सात जनामा डेंगु संक्रमण भेटिएको छ ।

उच्च ज्वरोका बिरामी आउने र परीक्षण गर्दा डेंगुको संक्रमण भेटिने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए । पछिल्लो साता यहाँ उच्च ज्वरोका दैनिक ६ सयभन्दा बढी बिरामी आएका छन् । यसमध्ये करिब दुई सय आकस्मिक कक्षमा पुगेका हुन्छन् । सामान्यतः डेंगुका बिरामीलाई भर्ना गरेर छुट्टै निगरानीमा राख्नुपर्छ ।

बिरामी बढेपछि अस्पतालले यस्तो सुविधा दिन सकेको छैन । आकस्मिक कक्षमै कोचिएर डेंगुका बिरामी बसेका छन् । कतिपय नजिक घर हुनेलाई अस्पतालले सम्झाएर घरमै पठाउने गरेको छ । उच्च ज्वरो र डेंगु शंकास्पद बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ । एउटै बेडमा तीन जना सुताएर उपचार भएको छ । यसले गर्दा संक्रमण फैलिने आशंका बढेको छ । चालु आर्थिक वर्षमा अस्पतालले ७५ वटा डेंगु परीक्षण किट पाएको थियो । त्यो सकिएपछि आइतबार पुनः ७५ वटा ल्याएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रादेशिक अस्पतालबाहेक बुटवल हस्पिटल प्रालि, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, क्रिमसन, गौतमबुद्ध मुटु अस्पताल, भैरहवाको युनिभर्सल मेडिकल कलेजलगायतका अस्पतालमा डेंगुका बिरामी रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । क्षेत्रका हिसाबले रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकामा डेंगुको संक्रमण बढी भएको उनले बताए ।

डेंगुको संक्रमण नियन्त्रणका लागि खास अभियान थालिएको छैन । रूपन्देहीमा ०६७/६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । तीमध्ये चार जनाको मृत्यु भएको थियो । यस्तै ०७३/७४ मा दुई र ०७४/७५ मा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्