२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रूपन्देहीमा ८५ डेंगुका बिरामी

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार साँझ मृत्यु 
अमृता अनमोल

बुटवल — रूपन्देहीमा डेंगुको संक्रमण भयावह बन्दै गएको छ । आइतबारसम्म ८५ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

रूपन्देहीमा ८५ डेंगुका बिरामी

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार साँझ मृत्यु भएको हो ।


लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै डेंगुका ६८ जना बिरामी भेटिएका छन् । ४० जना उपचाररत छन् भने २७ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ । यस अस्पतालमा साउन २८ देखि डेंगुका बिरामी भेटिएका थिए । भदौको दोस्रो साताबाट बिरामी ह्वात्तै बढेका हुन् । पछिल्लो दुई दिनमा मात्रै १५ जना नयाँ बिरामी थपिएको अस्पतालको रेकर्डर शाखाका पंकज पटेलले बताए । उनका अनुसार शनिबार आठ र आइतबार सात जनामा डेंगु संक्रमण भेटिएको छ ।


उच्च ज्वरोका बिरामी आउने र परीक्षण गर्दा डेंगुको संक्रमण भेटिने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए । पछिल्लो साता यहाँ उच्च ज्वरोका दैनिक ६ सयभन्दा बढी बिरामी आएका छन् । यसमध्ये करिब दुई सय आकस्मिक कक्षमा पुगेका हुन्छन् । सामान्यतः डेंगुका बिरामीलाई भर्ना गरेर छुट्टै निगरानीमा राख्नुपर्छ ।


बिरामी बढेपछि अस्पतालले यस्तो सुविधा दिन सकेको छैन । आकस्मिक कक्षमै कोचिएर डेंगुका बिरामी बसेका छन् । कतिपय नजिक घर हुनेलाई अस्पतालले सम्झाएर घरमै पठाउने गरेको छ । उच्च ज्वरो र डेंगु शंकास्पद बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ । एउटै बेडमा तीन जना सुताएर उपचार भएको छ । यसले गर्दा संक्रमण फैलिने आशंका बढेको छ । चालु आर्थिक वर्षमा अस्पतालले ७५ वटा डेंगु परीक्षण किट पाएको थियो । त्यो सकिएपछि आइतबार पुनः ७५ वटा ल्याएको अस्पताल प्रशासनले जनाएको छ ।


प्रादेशिक अस्पतालबाहेक बुटवल हस्पिटल प्रालि, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, क्रिमसन, गौतमबुद्ध मुटु अस्पताल, भैरहवाको युनिभर्सल मेडिकल कलेजलगायतका अस्पतालमा डेंगुका बिरामी रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । क्षेत्रका हिसाबले रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकामा डेंगुको संक्रमण बढी भएको उनले बताए ।


डेंगुको संक्रमण नियन्त्रणका लागि खास अभियान थालिएको छैन । रूपन्देहीमा ०६७/६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । तीमध्ये चार जनाको मृत्यु भएको थियो । यस्तै ०७३/७४ मा दुई र ०७४/७५ मा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?