२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाँकेमा ७ जनामा डेंगु संक्रमण 

काठमाडौँ — बाँकेमा पनि डेंगुको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार हालसम्म सात जना बिरामीमा डुेंगुको संक्रमण देखिएको हो । 

बाँकेमा ७ जनामा डेंगु संक्रमण 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीका अनुसार ६ जना अन्य जिल्लाका छन् भने एक जना बाँकेका छन् । अस्पतालमा भेटिएका डेंगुका बिरामीमा कैलालीका एक, बर्दियाका एक, पाल्पाका एक, बुटवलका तीन जना रहेका छन् ।


बाहिरी जिल्लाबाट नेपालगन्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेंगु फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले बताए । ‘अहिलेसम्म बाँकेमा जोखिम देखिएको छैन,’ उनले भने, ‘यद्यपि, सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’ भेरी अस्पतालका डा. खगेन्द्रजंग शाहीले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण भने नपाइएको बताए ।


‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ,’ उनले भने, ‘भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ ‘डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेका छन्,’ डा. शाहीले भने, ‘ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुन् ।’


डा. शाहीले बाँकेमा डेंगु जोखिम नदेखिए पनि सतर्कता अपनाउन भने सुझाव दिएका छन् । ‘नियमित झुल लगाएर सुत्नूस्,’ उनले भने, ‘पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, खाली ड्रम, गाडीका टायर आदिमा पानी जम्न नदिनु उचित हुन्छ ।’ डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?