१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दलित बस्तीमा पुरुषजति मुग्लान

आफ्नो खेतबारीको उब्जनीले तीन महिनाभन्दा बढी नधान्ने भएकाले कमाउन परदेस जाने चलन फेरिएको छैन
काशीराम डाँगी

अरेस, रोल्पा — दलित र गैरदलितको बराबर बसोबास रहेको यहाँको कोइरालखर्क गाउँका धेरैजसो दलित मुग्लान पसेका छन् । उनीहरू कमाउनका लागि त्यता गएका हुन् । भारतको चण्डीगढमा चौकीदारी, कुल्ली र हिमाचलसम्म पुगेर खेतीकिसानी गरेर यहाँका दलितले घरखर्च चलाउने गरेका छन् । 

दलित बस्तीमा पुरुषजति मुग्लान

रोल्पालाई आधार क्षेत्र बनाएर विगतमा भएका राजनीतिक परिवर्तनले यहाँका विपन्नलाई छोएको छैन । ‘काम खोज्न हाम्रा गोसाँ (श्रीमान्) इन्डिया पुगेका छन्,’ कोइरालखर्क गाउँकी ४७ वर्षीया ओबिकला सुनारले भनिन्, ‘भएको एउटा छोरा पनि सँगसँगै गएको छ ।’


ओबिकलाका ६२ वर्षका श्रीमान् मानसिंह र १८ वर्षका छोरा अनिल भारत पसेको एक वर्ष भयो । पेट र ढाडको समस्याले थलिएपछि बिरामी छोरालाई वृद्ध बाबुले कमाउँदै उपचार गर्न साथै लगेका हुन् । गाउँघरमा कमाइ गर्ने उपाय नपाएपछि मानसिंह भारत झरेको ओबिकलाले बताइन् ।


ओबिकलाकी २१ वर्षकी छोरी पिंकीको विवाह भइसकेको छ भने ज्वाइँ पनि ससुरासँग कामको खोजीमा भारत गएका छन् । रोग लागेर देब्रे खुट्टा काटेर फालेपछि ओबिकलालाई हिंडडुल गर्न मुस्किल छ । ‘खुट्टा काटेपछि माइती गाउँ बडाचौर नगएको वर्षौं भयो,’ उनले भनिन्, ‘हिंडडुल त के घरकै काम गर्न पनि सक्दिनँ ।


जेठाजुकी बुहारी रामसरीले सघाउँदै आएकी छन् ।’ काम खोज्न भारत पस्नेहरूले स्थानीय शिक्षक, साहुमहाजन र कथित माथिल्लो जातिका अगुवाबाट चर्को ब्याजमा ऋण लिने गरेका छन् । ‘भारतमा पनि कमाइ भएन भने झन् चर्को ब्याज हुन्छ,’ ओबिकलाले भनिन्, ‘घर खर्च नपुग्दा ब्याजमै लिएको पैसा पनि चलाउने गरेका छौं ।’


कतिपय अवस्थामा सयकडा तीन/चार प्रतिशतसम्म ब्याज लिने गरेको उनले सुनाइन् । कोइरालखर्क गाउँकी १४ वर्षकी सेमा सुनारलाई कक्षा ७ भन्दा माथि पढ्न समस्या भयो । गाउँमा कक्षा ८ सम्म मात्रै पढाइ हुने विद्यालय छ । ‘आर्थिक समस्याले परिवारमा समस्या छ । बुबा बितेपछि मेरो पढाइ पनि रोकियो,’ स्थानीय जनता आधारभूत माध्यमिक विद्यालयमा पढ्ने उनले भनिन्, ‘दाइहरू कमाउन भारत गएका छन् । घरमा काम गर्ने कोही छैन ।’


सुक्माका बुबा बितेको तीन वर्ष भयो । आमा पनि बिरामी छन् । गरिबीका कारण गाउँका सबैजसो दलित समुदायका पुरुष भारततर्फ लागेको उनकी दिदी यमकलीले बताइन् । ‘बुबा पनि कमाउन भारत धाउँदा धाउँदै बिरामी भएर ज्यान गयो । यस गाउँका सबै दलित परिवारको अवस्था यस्तै छ ।’


उनका अनुसार दलित परिवारका कसैलाई पनि वर्षभरि आफ्नै खेतीबाट खान पुग्दैन । गरिबी र अभावले थिचिएका यहाँका दलित र गरिब परिवारका लागि स्थानीय तहले पनि ठोस कार्यक्रम ल्याएका छैनन् । पूर्वाधार विकासअन्तर्गत सडक निर्माण र छाना फेर्ने कार्यक्रम ल्याएको सुनील स्मृति गाउँपालिकाले १२ कक्षासम्मको अध्ययन अनिवार्य गर्नुपर्ने नीति पारित गरेको छ । तर, निम्न आय र दलितलाई पढाइ खर्च र सहुलियतको कुनै व्यवस्था गरेको छैन ।


अत्याधुनिक प्रविधिको प्रयोगमा खर्च छुट्याउँदै आएका स्थानीय गाउँपालिका र वडाले विपन्नका लागि सोचेको नदेखिएको स्थानीयले बताए । ‘जनप्रतिनिधिले वडा र गाउँपालिका भवनमा सीसीटीभी राख्ने, इलेक्ट्रिक हाजिरीको व्यवस्था गर्ने, इन्टरनेट प्रविधिमा खर्च गर्नेलगायतका योजना ल्याएका छन्,’ कोइरालखर्क गाउँस्थित एक शिक्षकले भने, ‘गरिब र दलित समुदायका बारेमा

सोचेको पाइँदैन । गाउँका दलितजति भारत जानुपर्ने बाध्यताबारे हाम्रा जनप्रतिनिधि गम्भीर छैनन् ।’


गरिबीको चपेटामा परेकालाई सघाउन फुसका छाना फेर्ने अभियान चलाएको बताउने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले यहाँका विपन्न र दलित परिवारलाई माथि उठाउन सहयोगमूलक कार्यक्रम तय गर्ने बताए । ‘गरिब र दलित परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेर फुसका छाना विस्थापन गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिएर यहाँका गरिब र दलित परिवारलाई यहीं रोजगारी दिलाउने हाम्रो प्रयास छ ।’

प्रकाशित : भाद्र २२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?