कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली प्रहार घटना शंकास्पद

बर्दिया — जिल्ला अदालतले ६ वर्ष कैद सुनाएका फरार नरेन्द्र न्यौपानेलाई गोली प्रहार गरेको घटना शंकास्पद बनेको छ । उनीमाथि गत सोमबार गोली प्रहारको घटना भएको थियो ।

पक्राउ गरेपछि भाग्न खोज्दा घुँडामुनि गोली प्रहार गरेको कोहलपुर प्रहरीले दाबी गर्दै आएको छ । प्रहरीले गोली चलाइएको भनिएको स्थान नेपालगन्ज राँझाका स्थानीयले घटनाबारे अनभिज्ञता जनाएपछि घटना शंकामा परेको हो ।


न्यौपानेको बायाँ खुट्टामा गोली लागेको छ । उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका उनले प्रहरीले नियन्त्रणमा लिएर आफूलाई गोली हानेको दाबी गरेका छन् । पक्राउपछि आफू नभागेको उनले मानवअधिकारकर्मीलाई बताए ।


०६८ असार २१ मा बर्दियाको देउरालीमा यूएनको गाडीमा लुटपाट तथा डकैती मुद्दामा बर्दिया जिल्ला अदालतले उनलाई ६ वर्ष कैद सुनाएको थियो । त्यसयता उनी फरारको सूचीमा थिए । भारतमा लुकेर बसेको अवस्थामा सीमाको इलाका प्रहरी कार्यालय जमुनाहा नजिकैबाट भदौ १६ मा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउपछि मोटरसाइकलमा राखेर कोहलपुर ल्याउने क्रममा राँझाचोक पुग्दा न्यौपाने हाम फालेर भाग्न खोजेपछि गोली प्रहार गरेको प्रहरीको भनाइ छ । तर, घटनास्थल क्षेत्रका स्थानीयको भनाइ र घटना प्रकृति फरक देखिएको भन्दै अधिकारकर्मी सोधखोज गरिरहेका छन् ।


गोली प्रहार गरिएको भनिएको स्थान नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले भदौ १६ मा राँझाचोकमा गोली प्रहार घटना नभएको दाबी गरे । ‘गोली चल्दा मलाई त स्थानीयले जानकारी दिनुहुन्थ्यो होला नि । त्यहाँ पुगेर सोधपुछ गर्दा त्यस्तो केही नभएको पाइयो,’ उनले भने, ‘प्रहरीले गोली प्रहार गर्दा आवाज सुनिन्थ्यो । भीडभाड जम्मा हुन्थ्यो तर त्यस्तो केही भएको जानकारी मलाई भएन ।’


इप्रका कोहलपुरका डीएसपी हेमबहादुर शाहीले भने पक्राउपछि भागेका न्यौपानेलाई नियन्त्रणमा लिन पछाडिबाट गोली चलाएको दाबी गरे । उनले राँझाचोक नजिकै उक्त घटना भएको बताए । ‘नियतवश घटना गराइएको होइन,’ उनले भने, ‘भागेपछि नियन्त्रणमा लिन घुँडामुनि गोली हानिएको हो ।’


घाइतेको अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगको नेपालगन्ज शाखाकी सूचना अधिकारी द्वारिकाकुमारी अधिकारीले शिक्षण अस्पताल कोहलपुरमा भेटघाट गरी घटनाबारे जानकारी लिएकी छन् ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?