बालबालिकाको पढाइ बाधक आर्थिक अभाव

काशीराम डाँगी

अरेस, रोल्पा — पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिका–७, तेबाङ गाउँकी मनीषा विश्वकर्मा अहिले १९ वर्षकी भइन् । दुई वर्ष पढाइ छाडेर अहिले पुनः कक्षा ९ मा भर्ना भएकी छन् । आर्थिक अभावका कारण पढाइ छाडेकी उनले सहयोगीको साथ पाएपछि विद्यालय जान थालेको बताइन् । 

मनीषाका बुबा हाल भारतमा काम गर्छन् । घरमा उनीलगायत एक भाई र एक बहिनी छन् । ‘खर्च अभाव र मेरो पढाइ राम्रो नभएकाले मैले पढाइ छाडेकी थिएँ,’ मनीषाले भनिन्, ‘अब पढाइ नियमित गर्छु । घर र स्थानीय किशारी संवाद समूहबाट साथ र सहयोग पाएकी छु ।’ विद्यालय तहको पढाइ सकेर स्थानीय सामुदायिक रेडियोमा कार्यक्रम प्रस्तोता बन्ने उनको इच्छा छ ।


अभिभावक र गुरुहरूले विद्यालय तहको पढाइ सकेपछि त्यता लाग्नुपर्छ भनेकाले उनले मन लगाएर पढ्न थालेकी छन् ।

आफ्ना सन्तान पढाउन मनीषाकी आमा सीमाले भरमग्दुर प्रयास गर्दै आएकी छन् । ‘मनीषाका बुबा गोपालले पनि भारतबाट आफ्ना सन्तालाई शिक्षा दिलाउन चिन्ता गर्दै आउनु भएको छ,’ गाउँमा किशोरी संवाद समूहलाई सक्रिय बनाउँदै आएका सहास नेपालद्वारा संचालित दिगो तथा मर्यादित आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स)का सामाजिक परिचालक नरेश थापाले भने, ‘गरिबी र आर्थिक अभावले विद्यालय छाडेकालाई पुनः विद्यालय भर्ना हुन सघाएका छौं ।’


किशोरी संवाद समूह गठन गरेर बिहानी कक्षासमेत चलाउन थालेपछि दर्जनौं विद्यार्थी पुनः विद्यालय जान थालेका छन् । तेबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त आचार्यले सिडस कार्यक्रमबाट विद्यालय सुधार र शैक्षिक जागरण कार्यक्रममा सघाउ पुगेको बताए ।


अपांगताकै कारण आधारभूत विद्यालय तहबाट पढाइ रोक्न बाध्य तेबाङकै १८ वर्षीया निर्मला थापाले आफ्नो उमेर बढी भएकाले विद्यालय छाडेको बताइन् । ‘एकातिर आर्थिक अभाव, अर्कोतिर विद्यालय टाढा,’ उनले भनिन्, ‘त्यसैले पढाइ छुट्यो ।’ दुई बहिनी र एक भाइलाई विद्यालय पठाउँदै आएका निर्मलाका बुबा टीकाराम थापाले नजिकको बजार सुलिचौरमा डकर्मी र सिकर्मीको काम गर्छन् । त्यसैबाट आफूहरूको घरखर्च चलेको निर्मलाले सुनाइन् ।


गरिबीकै कारण अरेसस्थित चिन्ने गाउँकी १५ वर्षकी इमा घर्तीमगरको नियमित पढाइ हुन समस्या छ । घरमा वृद्ध हजुरआमा र आमा मात्रै भएकाले घरको काम उनी आफैंले गर्छिन् । ‘पढ्न मन छ । एकातिर काम आफैं गर्नुपर्छ भने अर्कातिर मेरो आँखा कमजोर छ,’ इमाले भनिन्, ‘वृद्ध बुबा कमाउन भारत जानु भएको छ ।’


इमाले अरेसस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । उनका आँखामा समस्या छ । नजिकको अलिअलि देखे पनि टाढाको देख्नै सक्दिनन् । ‘तीन छोरीमध्ये कान्छी इमाको पढ्ने इच्छा छ । तर, आँखा देख्न सक्दिन,’ इमाकी ५५ वर्षीया आमा तिलसरी घर्तीमगरले भनिन् ।


६० वर्षका इमाका बुबा कर्णबहादुर कमाउन भारत गएका छन् । १ सय ३ वर्षकी वृद्ध आमा, ५५ वर्षकी पत्नीसहितको घरखर्च र अपांगताले थलिएकी छोरीको पढाइ खर्च जुटाउन उनी भारत पसेका हुन् । ‘उहिले उसका बुबा पनि भारत जान्थे । अहिले छोरो गएको छ । के गर्ने, नकमाई खान पुग्दैन,’ कर्णकी १ सय ३ वर्षीया आमा ललिताले भनिन् ।


सिड्स कार्यक्रमकी स्थानीय सामाजिक परिचालिका कुमारी विश्वकर्माले गरिबी र अभावसँग जुध्दै आएका गाउँलेले शिक्षा, स्वास्थ्य, सरसफाइ र पोषणयुक्त खानाप्रति ध्यान दिन नसकेको बताइन् । ‘राजनीतिक चेतना माथि उठे पनि सामाजिक र आर्थिक अवस्था दयनीय छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?