खसीको मासु अभाव

नेपालगन्ज — चाडपर्व नजिकिँदै गर्दा खसीको मासुको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै मासु अभाव देखिन थालेको छ । भारतबाट सहजै आयात रोकिएपछि मूल्य बढेको हो । 

वैशाखयता मात्रै दुईपटक यहाँ मासुको मूल्य बढेको छ । वैशाखमा प्रतिकिलो ६ सयबाट ७ सय रुपैयाँ पुगेको थियो भने अहिले ७ सयबाट ८ सय रुपैयाँ पुर्‍याइएको छ । अहिले बजारमा भारतबाट खसी ल्याउन प्रतिबन्ध छ ।


‘खसी ल्याउन पाइँदैन, चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको हो,’ मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्छ ।’ भारतबाट सहजै रूपमा आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्न आन्तरिक रूपमा सहजै खसीबोका उपलब्ध नहुँदा मूल्यवृद्धिसँगै अभाव देखिन थालेको हो ।


‘नेपालगन्जमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा धेरै महँगो छ,’ नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका कुरेसीले भने, ‘महँगो खरिद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।’ भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि बढेको छ । पछिल्ला दिनमा प्रहरीले पटकपटक भन्सार छलेर ल्याइएका खसीबोका नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालय पठाएको थियो ।


भारतबाट खसी ल्याएर सीमावर्ती गाउँमा जम्मा गर्ने र स्थानीय तहबाट कागज बनाएर अन्य जिल्लामा पठाउने गरेको कार्यालयले जनाएको छ । अहिले नेपालगञ्जमा दुब्लो पातलो खसीको जिउँदो मासु प्रतिकिलो ५ सय ८० रुपैयाँ, मध्यम खालको ६ सय रुपैयाँ र राम्रो हट्टाकट्टा र मोटो खसीको जिउँदो मासुको मूल्य ६ सय ५० रुपैयाँसम्म छ । नजिकिंदै गरेको दसैंमा चाहिनेजति खसी नआए प्रतिकिलो ९ सय रुपैयाँसम्म पुग्ने व्यवसायीले बताए ।


दसैंको समयमा नेपालगञ्जमा दैनिक १० हजार किलोसम्म खसीको माग हुने गर्छ । मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै बढ्ने बताए । उनका अनुसार अहिले गैरकानुनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेका छन् । सहजै रूपमा आउन भन्सारमा रोक लगाइएको छ । दसैंको समयमा भारतबाट खसी नआए जिउँदो खसीकै मूल्य प्रतिकिलो ७ सय रुपैयाँसम्म पुग्ने उनले बताए ।


नेपालगञ्जको रामबागस्थित मासु बधशालाबाट नियमित रूपमा मासुको प्रयोग गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१० का भक्तराज गिरीले खसीको मासुको मूल्य लगातार बढिरहेको बताए । ‘हरेक पर्वमा मासुको मूल्य बढ्दै गएको छ,’ उनले भने, ‘स्थानीय उत्पादन न्यून छ, आयात रोकिएको छ ।’ त्यसले कम आम्दानी हुनेलाई मासु प्रयोगमै समस्या आउन थालेको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?