भाइरल ज्वरोले एकै गाउँका ७३ बिरामी, विद्यालय बन्द

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–३ रिङनेरहको अर्खलडाँडामा चार दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको छ । गाउँका अधिकांश बिरामी भएपछि दुई दिनदेखि विद्यालय बन्द छ । 

भाइरल ज्वरोले एकै गाउँका ७३ बिरामी, विद्यालय बन्द

अर्खलडाँडामा केही दिनयता मौसमी भाइरल ज्वरोको प्रकोप देखिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले बताए ।

कोरङगा र अर्खलडाडाँ गाउँका २० बढी घर परिवारमा भाइरल ज्वरोको प्रकोप देखिएको उनले बताए । भाइरल फैलिएको जानकारी पाउनासाथ गाउँपालिकाको स्वास्थ्य शाखा र रिङनेरह स्वास्थ्य चौकीबाट गाउँमै शिविर राखेर बिहीबार उपचार गरिएको छ ।


स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालका अनुसार ७३ जनालाई गाउँमै पुगेर उपचार गरिएको छ । टोलीले ४३ जना पुरुष, ३० जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । यसमा १८ जना विद्यार्थी प्रभावित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँका अधिकांश बालबालिका बिरामी परेको र भाइरल अन्यलाई सर्ने भएकाले जनउज्जवल आधारभूत विद्यालय शुक्रबार पनि विदा दिइएको छ ।

मौसमी रुघाखोकी, ज्वरो र भाइरलमा उपचार पछि केही सुधार आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । गाउँपालिकामा दैवीप्रकोप द्रुत समूह गठन गरिएकाले खबर पाउनासाथ तत्काल उपचारका लागि टोली पठाउने गरिएको अध्यक्ष थापाले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?