२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ठाकुरबाबाद्वारा आफ्नै पाठ्यक्रम

बर्दिया — धान कुट्ने ढिकी, माछा फसाउने ढडियालगायत परम्परागत प्रविधि करिब–करिब लोप भइसक्यो । संस्कृति र संस्कार पनि ओरालो लागिसक्यो ।

सांस्कृतिक परम्परा एवं प्रथा, पुस्तान्तर तथा स्थानीय ज्ञान, लोकनृत्य, परम्परागत थारु नृत्य, देउडा, पञ्चेबाजा धरापमा छन् । यही कुरालाई मध्यनजर गरी ठाकुरबाबा नगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी नयाँ पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रमको नाम ‘हाम्रो ठाकुरबाबा’ राखिएको छ ।


यहाँका बालबालिकालाई स्थानीय परम्परा, संस्कार, संस्कृति, चाडपर्व र व्यावहारिक शिक्षा सिकाउन पाठ्यक्रम लागू गरिएको हो । स्थानीय सरकारले आफ्नै गाउँठाउँको परम्परा, संस्कृति र व्यावहारिक ज्ञानलाई समेटेर पाठ्यक्रम तयार गरेको दाबी गरेको छ । हाम्रो संस्कृति र प्रविधि शीर्षकमा मुख्य समुदायका चाडपर्व, भाषा (थारू, नेपाली), समुदायका सांस्कृतिक परम्परा एवं प्रथा, पुस्तान्तर तथा स्थानीय ज्ञान, लोक नृत्य, माछा समाउने हेल्कालगायतका प्रविधि, ढिकीबारे जानकारी दिइएको छ ।


नगरपालिका प्रमुख घननारायण श्रेष्ठले पछिल्लो पुस्ताले परम्परा र व्यावहारिक ज्ञानबारे जानकारी नपाउँदा विकृति बढ्दै गएको बताए । नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न धर्म, संस्कृतिबारे जानकारीसँगै विकास, वातावरण, पोषणलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको उनले जनाए । ‘यसअघि जारी गरिएको पाठ्यक्रममा नसमेटिएका विषयवस्तुलाई हामीले ल्याएको स्थानीय पाठ्यक्रममा राखेका छौं । यसले नयाँ पुस्तालाई धेरै कुरा सिकाउन सहयोग गरेको छ,’ उनले भने, ‘प्राकृतिक स्रोत साधन र नगरपालिका गठन विधिबारे पनि पाठ्यक्रममा जानकारी दिइएको छ ।’


कक्षा ५ को हाम्रो ठाकुरबाबा पाठ्यक्रममा नगरपालिकाको सामाजिक, भौगोलिक र जनसंख्याको बनोटबारे जानकारी दिइएको छ । त्यससँगै यस क्षेत्रमा सञ्चालित पेसा, व्यवसाय प्रवर्द्धनका उपाय, सामाजिक, सांस्कृतिक, भाषिक विविधताभित्र एकता रहेको सन्देश दिइएको छ । सूचना, सञ्चार र प्रविधिको ऐतिहासिक विकासक्रमबारे व्याख्या गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको परिचय, महत्त्व र संरक्षणका उपाय र हरित विद्यालयको आवश्यकता र महत्त्वबारे पनि बुझाइएको छ ।


‘कला र संस्कृतिको महत्त्व र संरक्षणका उपायबारे पनि पाठ्यक्रममा जानकारी दिइएको छ । समाजमा विकृति बढ्दै गएकाले संस्कृति संरक्षणमा बढी जोड दिएका हौं,’ नगरपालिका प्रमुख श्रेष्ठले भने, ‘दिगो विकास र वातावरण संरक्षणलाई पनि जोड दिएका छौं ।’ शिक्षा शाखा प्रमुख रामहरि रिजालले नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा उक्त पाठ्यक्रम लागू भएको बताए । उक्त पालिकामा २७ सामुदायिक र १५ संस्थागत विद्यालय छन् । स्थानीय पाठ्यक्रमले बालबालिकालाई जीवनोपयोगी ज्ञान दिएको शाखा प्रमुख रिजालले जनाए ।

प्रकाशित : भाद्र २०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?