३ हजारको मोबाइल चोर्दा १७ दिन हिरासत

कान्तिपुर संवाददाता

बुटवल — मुलुकी अपराध (संहिता) ऐनले बाल कसुरलाई कानुनी विवादमा परेका वा बाल बिज्याइँ गरेका भनेर परिभाषित गरेको छ । त्यस्ता बालबालिकालाई हतकडी लगाउन पाइँदैन । बालिगसरह हिरासतमा राख्न बन्देज छ । सट्टामा बाल निगरानी कक्षमा राख्नुपर्छ ।

जघन्यबाहेक अन्य अपराधमा बालबालिकालाई मुद्दा लाग्दैन । दिशान्तर हुन्छ अर्थात् उनीहरूलाई सामाजिक काममा लगाउनुपर्छ । तर, यस्तो सुविधा यहाँका धेरै बालबालिकाले पाएका छैनन् ।

त्यसको पछिल्लो उदाहरण चोरी आरोपमा पक्राउ परेका देवदह नगरपालिकाका बालक हुन् । साउन १३ गते १६ वर्षीय २ र १७ वर्षीय १ बालक ३ हजार रुपैयाँ बराबरको मोबाइल चोरीको कसुरमा पक्राउ परे । देवदह प्रहरीले इलाका प्रहरी कार्यालय बुटवल ल्याएका उनीहरूलाई १७ दिन प्रहरी हिरासतमा राख्यो । हातमा हतकडी लगाइयो । बालिग बस्ने कोठामै बसालियो ।

बालकहरूले देवदह र बुटवल दुवै प्रहरीमा आफ्नो कुरा राखे । धेरै रोए । तर, प्रहरीले विश्वास गरेन । न त ध्यान दिएरै उनीहरूका कुरा सुन्यो । उनीहरू रुँदा बहाना गरेको भनेर थप यातना दिइयो । ‘ठुल्ठूला दाइ र अंकलले भरिएको कोठामा बस्ने ठाउँ नै पाइँदैनथ्यो,’ हाल हिरासतमुक्त एक बालकले भने, ‘पुलिस अंकलहरू रिसाहा हुनुहुन्थ्यो । नाम भन्नु हुन्नथ्यो । बेलाबेलामा चोर यसो गर्, उसो गर् भन्नुहुन्थ्यो । खुट्टाको बुढीऔंलामाथि बेस्सरी लठ्ठीले कुट्नुहुन्थ्यो ।’

घटना विवरणअनुसार साउन १३ गते बिहान तीनै बालक देवदह, खैरेनीमा खेलिरहेका थिए । यसै क्रममा रोकिरहेको लु.२ख ३४०२ ट्रकमा मोबाइल बजेको आवाज आयो । उनीहरूले समाए । वरपर बोलाए । कोही आएन । त्यसपछि मोबाइलमा नम्बर हेर्दै थिए । ट्रक ड्राइभर विनय कुँवर आएर ‘मेरो मोबाइल हो ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

उद्यम अभिवृद्धिका लागि प्रतियोगिता

कान्तिपुर संवाददाता

रूपन्देही — तिलोत्तमा ९ मा अर्ग्यानिक च्याउ तथा तरकारी फर्म सञ्चालन गरिरहेका वसन्त छन्त्यालले सिजनमा ३ सय किलोसम्म च्याउ उत्पादन गर्छन् । अफसिजनमा एक क्विन्टल उत्पादन हुन्छ ।

कृषिमा सरकार र स्थानीय तहले दिने अनुदान र तालिमले सहयोग मिलेको उनले बताए । ‘फर्मबाट सन्तुष्ट छु,’ उनले भने, ‘यही पेसामा अझ मिहिनेत गरी अघि बढ्ने तयारी स्वरूप निरन्तर काम गरिरहेको छु ।’

तिलोत्तमा १७ का अभय चौधरीले कृषि पर्यटन प्रवर्द्धन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि सञ्चालन गरेको साढे २ वर्ष भयो । उनको उद्यम एक्वा टुरिजम ६ बिघामा फैलिएको छ । ‘माछाका परिकार र थारू परिकार पाइने रिसोर्ट चलाएका छौं,’ उनले भने, ‘कृषितर्फ कागती खेती छ । ६ सय २० त कागतीकै बोट छन् ।’

यस्तै विभिन्न कृषि उद्यम गरिरहेका यहाँका किसानलाई समेटी युवा उद्यमशील प्रतियोगिता सुरु भएको छ । रुरल इन्टरप्राइज एक्सलरेन्सी कार्यक्रम र तिलोत्तमा नगरपालिकाको समन्वयमा नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रमअन्तर्गत प्रतियोगिता सुरु भएको हो । तिलोत्तमा नगरपालिकाका ८० उद्यमीबाट छानिएका २० जनाले प्रतियोगितामा सहभागी छन् ।

संस्थाका स्थानीय सदस्यले संकलन गरेको तथ्यांकका आधारमा उद्यमीको उद्यमशील क्षमता हेरेर पहिलो चरणमा २० उद्यमी छनोट गरिएको परियोजना प्रमुख सायुज्य शर्माले बताए । २० युवा उद्यमीबाट १० र त्यसबाट छानिएका ५ जनालाई उद्यम विकास तालिमको व्यवस्था गरिएको छ । ५ मध्येबाट अन्तिममा छानिने एक जनाले उत्कृष्ट पुरस्कार स्वरूप १ लाख रुपैयाँ पाउनेछन् ।

सन् २०१४ बाट थालनी भएको यो कार्यक्रम मकवानपुर, पाल्पा, गुल्मी, रामेछाप हुँदै रूपन्देहीको तिलोत्तमामा बुधबारबाट सुरु भएको प्रमुख शर्माले बताए । प्रतियोगितामा सहभागी उद्यमीले नगरका नागरिकसँग आफ्नो उद्यमबारे जानकारी गराउँदै भोटका लागि अपिल गर्नेछन् । सोही भोटका आधारमा अंक जोडिने आयोजक संस्थाले जनाएको छ ।

उद्यमी आफ्नो कामप्रति अझ बढी लगनशील भएर लागून् र युवालाई उद्यममा लाग्न अभिप्रेरित गरौं भन्ने उद्देश्यले संस्थासँग समन्वय गरिएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘आय आर्जन र सीप विकासका लागि कार्यक्रम उपयोगी हुनेछ,’ उनले भने ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्