पन्टुन पुल बेवारिसे

बर्दिया — राजापुरलाई बाँकी जिल्लासित जोड्न २० वर्षअघि कोठियाघाटमा निर्मित रेडिमेट पन्टुन पुल ६ वर्षदेखि बेवारिसे बनेको छ । ०५६ सालमा यो पुल जडान भएपछि यहाँ यातायात सञ्चालनमा आएको थियो ।

हिउँदमा जडान गरिने र वर्षायाममा निकालिने उक्त पुलको व्यवस्थापन नहुँदा राजापुर सिँचाइ व्यवस्थापन कार्यालयलाई घाँडो भएको छ । उपयोग नहुँदा क्षति पनि बढ्दै गएको छ ।


कर्णालीको भंगालो गेरुवामा ०७१ असोजमा पक्की पुल बनेपछि पन्टुन पुल थन्क्याइएको हो । यसका ६ डब्बा काम नलाग्ने बनेका छन् । करिब १० डब्बा खिया लागेर मर्मत गर्नुपर्ने अवस्थामा रहेको सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर प्रवेश खनालले बताए । ‘आधा दशक भइसक्यो, यसको व्यवस्थापन नहुँदा हरेक वर्ष खिया लाग्ने र डब्बा काम नलाग्ने हुँदै गएका छन्,’ उनले भने, ‘आधा दर्जन डब्बा कामै नलाग्ने भएकाले यसको व्यवस्थापन कतैबाट नहुँदा आयोजनालाई घाँडो भएको छ ।’


पन्टुन पुल सुरक्षाका लागि कोठियाघाटमा राखिएको छ । सुरक्षा आयोजनाबाट खटिएका दुई करारका चौकीदारको जिम्मामा यसलाई राखिएको छ । ३३ डब्बा रहेको पन्टुन एसियाली विकास बैंकको ऋण सहयोगमा खरिद गरिएको थियो । चीनमा निर्मित पन्टुन पुल ०५६ मा सञ्चालनमा आएको हो । करिब ७ करोड रुपैयाँमा पुल खरिद गरिएको थियो ।


पक्की पुल नबन्दै साबिक जिल्ला विकास समिति, कृषक समन्वय समिति र राजापुर सिँचाइ आयोजनाले संयुक्त रूपमा सञ्चालन गरेको पुलको ठेक्का बर्सेनि दिँदै आएको थियो । पन्टुनबाट उठेको राजस्वको लेखाजोखा नै छैन । वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लाग्ने गरेका थियो ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?