सीपले बनायो आत्मनिर्भर

बाँकेको गगनगन्जमा बस्ने बादी समुदायका अधिकांश महिला शिक्षित छैनन्, त्यसैले उनीहरू सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् 
रूपा गहतराज

नेपालगन्ज — र्‍याकभरि जुत्ता–चप्पल । फाट्टफुट्ट कपडा पनि छन् । नेपालगन्ज उपमहानगरपालिका ७, गगनगन्जकी ३४ वर्षीया कविता नेपालीले सञ्चालन गरेको पसलको दृश्य हो यो । ‘पहिले काम थिएन । अहिले भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘थोरै लगानीमा सुरु गरेको पसलबाट घर व्यवहार चलेको छ ।’ 

सीपले बनायो आत्मनिर्भर

१२ कक्षा अध्ययनपछि पढ्नै छाडिन् । परिश्रम गरी जीवन निर्वाह गर्नुपर्छ भन्ने लाग्यो । व्यवसाय गर्ने सोच बनाइन् । ‘थोरै लगानीमा यो पसल सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘ग्राहक बढ्दै गएपछि लगानी बढाउने सोचमा छु ।’ उनका पति वैदेशिक रोजगारीमा छन् । खाली समय आत्मनिर्भरका लागि पसल सुरु गरेको उनले बताइन् ।


उनीमात्र होइन, यहाँका धेरै महिलाको अवस्था अहिले फेरिएको छ । गगनगन्जमा बसोबास भएका बादी समुदायका अधिकांश महिला शिक्षित छैनन् । त्यसैले सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । धेरैले केही न केही आय आर्जनका काम गरिरहेका छन् । कविताले जस्तै रेनु नेपालीले पनि न्युरोडमा जुत्ता–चप्पल पसल खोलेकी छन् । ‘अवसर पाइयो भने काम गरी खान दुःख छैन,’ रेनुले भनिन्, ‘दिनमा १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म कमाइ हुन्छ ।’


विस्तारै आफूमा परिवर्तन ल्याउन यहाँका महिला कस्सिएका छन् । रेनुकी छिमेकी ६५ वर्षीया गोब्ली नेपालीले पनि १० हजार रुपैयाँमा किराना पसल चलाइरहेकी छन् । छोरीसँगै बस्दै आएकी थिइन् । छोरीको मृत्युपछि उनले नै पसललाई निरन्तरता दिइन् । ‘उसैलाई सम्झेर पसल चलाइरहेकी छु,’ गोब्लीले भनिन्, ‘घरखर्च चलिरहेको छ । सीप भयो भने छोरी–बुहारी पनि काम गर्न सिपालु छन् ।’


गगनगन्जमा वादी समुदायको बाक्लो बस्ती छ । उनीहरू आपसमा मिलेर बसेका छन् । ‘अहिले यहाँका धेरै महिला कामकाजी बनेका छन्,’ समुदायकी अगुवा सुशीला नेपालीले भनिन्, ‘अवसर पाएको ठाउँमा अगाडि छन् ।’ विस्तारै समुदायलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको उनले सुनाइन् ।


यो बस्ती अहिले प्रगतिशील नगरमा रूपान्तरित भएको छ । नाममात्र होइन, बस्तीको स्वरूपै परिवर्तन भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिका ७ की वडा–सदस्य मन्जु बादीले परिवर्तनलाई स्थायी बनाउन राज्यको लगानी आवश्यक रहेको बताइन् ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?