उजाडिँदै कोठियाघाट

‘व्यापार, व्यवसाय सुकेसँगै स्थानीयले विकल्प खोज्न थालिसकेका छन् । कोही बाख्रा पाल्न थाले । कोही बसाइँ सरेर अन्यत्रै गए ।’ 
ठाकुरसिंह थारु

कोठियाघाट, बर्दिया — कर्णालीका माछाका लागि प्रख्यात । २ वर्षअघिसम्म झकिझकाउ बजार । ग्राहक उत्तिकै झुम्मिन्थे । पालो कुरेर माछाका परिकार खान्थे । वर्षौंसम्म गुल्जार यो बजार अहिले उजाड बनेको छ ।

कर्णालीको पूर्वी किनारमा बजार बसेको थियो । यहाँ डुंगा र स्टिमरबाट आउजाउ गर्ने भएकाले यसको नाम कोठियाघाट रह्यो । यहाँ हिउँदमा पन्टुन (ड्रम) पुल जोडिन्थ्यो । वर्षाका समयमा स्टिमर र डुंगा सञ्चालन गरिन्थ्यो । राजापुरबाट आउजाउ गर्नेहरू यहाँ खाजा खान्थे । सवारी साधन त्यही बजारमै रोकिन्थे ।

माछाका परिकारसँग खाना र खाजा खानेको भीड हुन्थ्यो । कर्णालीमा पुल निर्माणपछि बजार सुकेको छ । सवारीसाधन रोक्ने स्थान छैन । पुल निर्माण गर्दा हुलाकी सडक निकै अग्लो भएको छ । बजार निकै तल परेको छ । सवारीसाधन रोक्नै नमिल्ने भएपछि बजार सुनसान भएको हो । बजार सुकेपछि होटल व्यवसायी विस्थापित हुन थालेका छन् ।

पहिले यहाँका ४७ होटल ग्राहकले खचाखच हुने स्थानीय विष्णु गिरीले बताए । ‘अहिले त ग्राहक आउनै छोडिसके । पुल बनेपछि सवारी साधन रोक्ने ठाउँ मासियो,’ उनले भने, ‘व्यवसाय धरापमा परेपछि स्थानीयले विकल्प खोज्न थालिसकेका छन् । कसैले बाख्रा पाल्न थाले । केही अन्यत्र गए ।’

सामुदायिक वनछेउमा रहेको बजार प्राकृतिक रूपमा रमणीय छ । कर्णाली नदी बजार छेउबाटै बगेको छ । कर्णाली नदीका माछा खानैका लागि नेपालगन्ज र राजापुरबाट ग्राहक पुग्थे । त्यसो त कर्णालीमा पुल बनेपछि अर्को इतिहास बनेको छ । उक्त पुल मुलुककै लामो मानिन्छ ।

पुल हेर्न आउनेको नजर पनि बजारमा परेको छैन । हुलाकी सडकबाट बजार पुग्न बाटो छेकिएको छ । ‘बजार पूर्ण रूपमै सुकिसक्यो । आक्कल–झुक्कल मात्रै ग्राहक आउँछन् । व्यापार चौपट बनिसक्यो,’ स्थानीय बासिन्दा गिरीले भने, ‘हाम्रो बाध्यता कसैले बुझिदिएको छैन ।स्थानीय सरकारलाई अवस्थाबारेजानकारी गराएका छौं ।’

कोठियाघाट पुल पार गरेपछि राजापुर नगरपालिका सुरु हुन्छ । कर्णालीपारि राजापुर प्रवेशद्वारमा भने नयाँ बजार चम्किएको छ । पुल बन्नुअघि त्यहाँ बजार थिएन । अहिले कटेज र साना होटल सञ्चालनमा आएका छन् । उक्त बजारले माछाका परिकारका लागि चर्चा पाउन थालेको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एउटै परिवारको सिंगो गाउँ

मधुवन गाउँपालिका–३ स्थित धनौरा बस्तीमा एकै परिवारका सदस्य मात्र छन् । संयुक्त परिवार फुटेर ५० घर पुगेका छन्
ठाकुरसिंह थारु

बर्दिया — संयुक्त परिवार थियो । ५० जनाभन्दा बढी एकै छानोमुनि बस्थे । एउटै भान्सामा खानपिन गर्थे । कामको बाँडफाँट हुन्थ्यो । परिवार छुट्टीभिन्न भयो । परिवारका सदस्य बाँडिएपछि अहिले उनीहरूकै गाउँ बनेको छ । उनीहरूको घरको नाम देउराने हो ।

धेरै भएपछि बडका (ठूलो), मझला (माइलो) देउराने भनेर घर चिन्ने गरिएको छ । पहिले एउटै ठूलो घर थियो । अहिले देउरानेका छरिएका धेरै घर भएका छन् ।

मधुवन गाउँपालिका–३ स्थित धनौरा बस्तीमा एकै परिवारका सदस्य मात्र छन् । संयुक्त परिवार फुटेर ५० घर पुगेका छन् । पहिले थारू समुदाय संयुक्त परिवारमा रमाउँथे । पछिल्लो समय सानो परिवारमा बस्न थालेका छन् । अहिले बाबुछोरालाई पनि अलग–अलग घरमा देख्न सकिन्छ । धनौरा गाउँ बसेको पुस्तौं भइसक्यो ।

उहिले चार/पाँच घर थिए । एउटै परिवारमा धेरै जना अटाउन सक्ने वातावरण थियो । त्यो चलन हराएको छ । परिवार विभाजित भए पनि मन टुटेको छैन । विवाह, ब्रतबन्धन, चाडपर्वसँगै मनाउँछन् । दुःख पीडा बाँड्छन् । परेका बेला एकाअर्कालाई सघाउँछन् । ‘हाम्रो तीन पुस्ता पुग्यो । परिवार छुट्टीभिन्न हुँदै ५० घर पुगिसक्यो,’ देउराने घरकी बुहारी बालकृष्णी चौधरीले भनिन्, ‘परिवार फुटे पनि एकअर्कालाई सहयोग गरिरहेका छौं ।’ उनका अनुसार पुर्खाको एउटै परिवार थियो । चार/पाँच भाइका परिवार एउटै घरमा बस्थे । लामो समयसम्म संयुक्त परिवार संचालन भयो । अहिले ५० घर पुगेको उनले बताइन् ।

देउराने परिवारका घर एकै किसिमका छन् । खपडाको छानो छ । धेरै घर भएकाले गुजुमुजु बस्ती देखिन्छ । केहीले टाढा बनाएका छन् । सबैको कुलदेउताको थान एउटै रहेको छ । सबै घरभित्र उत्तरतर्फको पूर्वी कोठा (मिन्झारीमा) कुलदेउता राखिएका छन् । ‘परिवार छुट्टिएपछि पनि कुलदेउता एउटै हुन्छन् । दसैंका बेला विशेष पूजा गरिन्छ,’ बालकृष्णीले भनिन् । धेरै गोतियार भएकाले फाइदा/बेफाइदा दुवै छन् ।

धेरैको मन जित्न समस्या हुन्छ । तर, परेका बेला भने सहयोग लिनदिन सहज हुने गरेको उनीहरूको भोगाइ छ । विवाह, ब्रतबन्ध र मृत्यु संस्कारका बेला सबै एकजुट हुन्छन् । खाना पकाउन दाउरा खोज्न सबै एकसाथ जान्छन् । महिलाले भान्साको काम संयुक्त रूपमा गर्छन् । खेतीपातीमा पनि उनीहरूको सहयोग छँदै छ । एउटालाई कुनै समस्या आइपरे संयुक्त रूपमा सामना गर्छन् ।

‘परिवार मात्रै अलग भएको हो । सबैको मन मिलेकै छ । किनभने, हामी एउटै पुर्खाका सन्तान हौं,’ अर्का सदस्य नाथुराम चौधरीले भने, ‘चाडपर्वका बेला सबै गोतियार जम्मा भएर रमाइलो गर्छौं । मिठोमसिनो बाँडेरै खान्छौं ।’ उक्त परिवारको मूलपुर्खा स्वर्गीय राजवंशी थारू भएको परिवारका सदस्यले बताए । उनका छोरा दुलाल थिए ।

स्वर्गीय दुलालका भगवानदिन र नाथुरामलगायत सन्तान हुँदै परिवार ठूलो हुँदै यहाँसम्म आइपुगेको हो । उनीहरूबाट सुरु भएको पुस्तान्तरण झाँगिंदै गएको छ । ‘हाम्रा धेरै पुस्ता यही ठाउँमा बसे । यति नै पुस्ता भएको थाहा भएन तर सयौं वर्षदेखि बसेको पुर्खाहरू भन्छन्,’ पछिल्लो पुस्ताका दिनेशले भने, ‘बाजे र बुबा अझै हुनुहुन्छ । तीन पुस्ताका सन्तान अझै सँगसँगै छौं ।’

यस परिवारसित भेटघाट गर्न सदरमुकाम गुलरियाबाट ढोढरी चोक हुँदै ओराली बजार पुग्नु पर्छ । त्यहाँबाट करिब दुई/तीन किलोमिटर दक्षिण पुगेपछि धनौरा गाउँ आउँछ । प्रहरी चौकी छ । नेपाल–भारत सीमावर्ती गाउँ भएकाले सुरक्षाका लागि चौकी राखिएको हो । छोटी भन्सार थियो । मुलुकमा सशस्त्र द्वन्द्वका क्रममा हटाइयो । छोटी भन्सारको दुई तले पक्की भवन जीर्ण भइसकेको छ । उक्त परिवार गाउँकै आदर्श मानिन्छ । अझै पनि गोतियारबीच छलफल हुने गरेको छ ।

छलफलमा आफूहरूबीचको सम्बन्धलाई कसरी कसिलो पार्नेबारे बहस हुन्छ । आफूबाट भएका कमी–कमजोरीलाई सुधार गर्दै उनीहरूले सम्बन्धलाई बलियो बनाउँदै आएका छन् । ‘कसैले जानेर नजानेर कमजोरी गर्‍यो भने छलफलबाटै समाधान गरिन्छ । गोतियारका सबैभन्दा ज्येष्ठ सदस्यले छलफल गराउने चलन छ,’ परिवारका सदस्य दिनेशले भने, ‘कहिलेकसो मनमुटाव हुनु स्वाभाविक हो । तर, छलफल गरेर मिलाइन्छ ।’

अझ धेरै गोतियार हुनुको अर्को फाइदा चुनावताका देखिन्छ । धेरै मतदाता भएका कारण विभिन्न दलका नेता त्यहाँ पुग्छन् । उनीहरूलाई आफूतिर आकर्षित गर्ने प्रयास गर्छन् । गोतियार एकजुट हुने भएकाले भोटका लागि नेताहरूलाई बढी कसरत गर्नु पर्छ । गोतियारहरूबीच छलफल गरी एउटै पार्टीमा भोट दिने परम्परा पुरानै हो । वडाका लागि उनीहरूको भोट निर्णायक बन्न सक्छ । परिवारको कुनै सदस्यको मृत्यु भए गोतियारका सबै सदस्यले अनिवार्य कपाल फाल्दा गाउँभरिका मानिस टकला देखिन्छन् ।

प्रकाशित : भाद्र १६, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT