१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भेरी अस्पतालमा जनशक्ति अभाव, कार्यालय सहयोगीका भरमा उपचार

रूपा गहतराज

नेपालगन्ज — बर्दियाका नारायण सिग्देलले छतबाट खसेर घाइते छोरालाई उपचारका लागि शनिबार सुर्खेत पुर्‍याए । त्यहाँ राम्रो उपचार नभएपछि नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पताल ल्याए । आइतबार उपचारमा चिकित्सक संलग्न थिए ।

भेरी अस्पतालमा जनशक्ति अभाव, कार्यालय सहयोगीका भरमा उपचार

सोमबार भने चिकित्सक र नर्स देखिएनन् । सुईमा भ्याक्सिन राखेर बाहिरिएका उनीहरू फर्केर आएनन् । बोलाउन जाँदा नर्स झर्किए । सिग्देलले कर गरेपछि कार्यालय सहयोगी आएर सुई लगाउन थाले ।


‘सुई लगाउनेको परिचय माग्दा आफू मेडिकल पर्सन नभई सहयोगी भएको बताएपछि मैले सुई लगाउन दिइनँ,’ उनले भने । राजापुरबाट आइतबार मधुमेह (सुगर) भएका छोराको उपचारका लागि विपतरानी चौधरी भेरी अस्पताल पुगिन् ।


सोमबार सहयोगी बिस्रानी चौधरीले उनका छोरालाई सुई लगाइरहेको देखिन् । नाताले बिस्रानी विपतरानीकी देउरानी हुन् । बिस्रानीले अस्पतालमा सहयोगीको काम गर्दै आएकी छन् । नेपालगन्जमा दुई दिनदेखि उपचारका लागि बसिरहेकी विपतरानीले बिस्रानीले नै छोरालाई कहिलेकाहीं सुई लगाउने गरेको बताइन् । ‘मेरी देउरानी हुन्,’ विपतरानीले भनिन्, ‘उनले दुईपटक सुई लगाइन् । कहिलेकाहीं नर्स पनि आउँछन् ।’ यहाँ उपचारका लागि आउने धेरै विपन्न तथा निरक्षर हुँदा उपचार गर्ने मान्छे को हुन् भन्ने चिन्दैनन् । नर्सलाई पोसाकले चिन्ने गरेको उनीहरूले बताए ।


बाँकेको डुडुवा गाउँपालिका–५ की धरमिला खत्रीले मधुमेह बढेपछि एक आफन्तलाई अस्पताल पुर्‍याइन् । चार दिनदेखि अस्पतालमै कुरुवा छन् । सोमबार बिरामीको सुगरको मात्रा २ सय ९५ बाट ५ सय ५३ पुग्यो । ‘कुरुवाले बिरामी हेरेनन् भन्ने आरोप लगाउँछन्,’ स्टाफ नर्स माल सोमले भनिन्, ‘काम बढी भएका बेला सहयोगीलाई पनि काम लगाउनु पर्छ ।’ अस्पतालमा जनशक्ति कम छ । अस्पतालमा कर्मचारीको अभाव छ । लामो समयसम्म मध्य र सुदूरपश्चिमको केन्द्रका रूपमा रहेको अस्पताल पहिले संघ मातहत थियो ।


अहिले प्रदेश स्तरीय बनेको छ । अस्पतालका २ सय ४ जना कर्मचारीमा ४६ स्टाफ नर्सको दरबन्दी छ । ‘नन प्रोफेसनल’ व्यक्तिले सेवा दिन नमिल्ने अस्पताल प्रमुख रूपानन्द अधिकारीले बताए । ‘अप्ठ्यारो परेका बेला विषय विज्ञता बुझेकाले सहयोग गर्न सक्छन्,’ उनले भने, ‘तर, सुई नै लगाउन चाहिँ पाउँदैनन् ।’ ०४२ सालमा १ सय बेड रहेको बेलादेखिकै दरबन्दी अहिलेसम्म छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?