उपचाररत बाघको मृत्यु

कान्तिपुर संवाददाता

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा बिरामी परेको बाघको सोमबार उपचारकै क्रममा मृत्यु भएको छ । सुधार गृहमा राखेर उपचार भइरहेको बाघ मरेको निकुञ्जले जनाएको छ ।



आहारा अभावमा मानिसलाई नै आक्रमण गरेर ज्यान लिएको थियो । ठाकुरबाबा नगरपालिका–१ बर्दिया निकुञ्जको डुम्रेनी मन्दिर क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिइएको थियो । सुंगुर, बंगुरलाई आहारा दिइरहेका स्थानीय ७० वर्षीय पहारिया थारूलाई बाघले आक्रमण गरेर मारेको थियो ।

नियन्त्रणमा लिएको बाघ निकै लामो समयदेखि भोको र बिरामी भएको निकुञ्जका कर्मचारीको अनुमान छ । बाघको फोक्सोमा गिर्खा भएको, दाँत भाँच्चिएको, जताततै घाउ भएपछि किरा लागेको र लामो समय भोकभोकै हुँदा मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

१० दिनअघि गेरुवा गाउँपालिका–४ मा घाँस काट्न सामुदायिक वनमा जाँदा स्थानीय रामकली शाहीको बाघको आक्रमण परी मृत्यु भएको थियो । उक्त बाघ अहिलेसम्म नियन्त्रणमा आएको छैन । नरभक्षी बाघ फेला नपरेपछि स्थानीय त्रासमा छन् ।

गेरुवा तटीय क्षेत्रका बासिन्दा दिउँसो वन नजिकबाट हिंड्न छाडेको स्थानीय लक्ष्मण थारूले बताए । बाघले सामान्यतः खाना नपाएर, मानिससँग जम्काभेट हुँदा, बच्चा (डमरु) लाई खतरा महसुस भएको अनुभव गरेमा आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत श्याम थापाले बताए ।

आव ०५०/५१ मा निकुञ्जको बाघले ६ जनाको ज्यान लिएको थियो । निकुञ्ज प्रशासनले ६ जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिई ललितपुरको जाउलाखेलस्थित चिडियाखानामा पठाएको थियो । ०५३ सालमा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि हालसम्म ८ जनाको बाघ आक्रमणमा परी ज्यान गएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ८७ बाघ छन् ।

पूर्वपश्चिम राजमार्ग, साबिक शिवपुर, नेउलापुर, ठाकुरद्वारा, सूर्यपटुवा र गेरुवा गाविसको मध्यवर्ती क्षेत्रमा बाघले सर्वसाधारणमाथि आक्रमण गर्ने गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट ६ महिनाअघि निस्केको एउटा बाघ गेरुवा गाउँपालिका–४ स्थित शान्तिपुर धकनिया खेतमा राखिएको विद्युतीयपासोमा परेर मारिएको थियो ।

बाघको संरक्षणका लागि बर्सेनि ठूलो धनराशि खर्च हुने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारीले बताए । ‘निकुञ्जको आधाभन्दा बढी बजेट बाघको आहारा, घाॅसे मैदान, पानी पोखरी, वन्यजन्तु र मानवबीचको द्वन्द्व रोक्नमै खर्च हुन्छ,’ उनले भने, ‘यसरी करिब १८ करोड रुपैयाँ वन्यजन्तुको संरक्षणमा खर्च हुने गरेको छ ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा १३ मुलुकका १/१ पर्यटक

मनोज पौडेल

लुम्बिनी — स्वदेश र विदेशबाट शान्ति सन्देश र प्रेरणा लिन धेरै पर्यटक लुम्बिनी आउँछन् । बुद्ध धर्मावलम्बी र अनुयायी भने तीर्थाटनको लक्ष्य हुन्छ । शुभेच्छुक शान्ति र सद्भावको ऊर्जा लिन आउँछन् । यहाँ दिनहुँ सयौं व्यक्तिको आवागमन हुन्छ । 

बुद्धस्थल लुम्बिनीस्थित मनमोहक विश्व शान्ति स्तूप । तस्बिरः मनोज/कान्तिपुर

वार्षिक १८ लाख हाराहारीमा यहाँ श्रद्धालु र पर्यटक आउने गरेको तथ्यांक छ । इसाई, मुस्लिम र द्वन्द्वग्रस्त १३ मुलुकबाट भने सन् २०१९ को अगस्टसम्म एक/एक जना पर्यटक मात्र यहाँ आएका छन् ।

लुम्बिनी विकास कोषका अनुसार अल्वानिया, अल्जेरिया, अन्डोरा, सोलोभेनिया, पराग्वे, माल्दोभा, लिबिया, लेबनान, साइप्रस, बोलिभिया, बहमास, बहराइन र ताजकिस्तानबाट एक/एक जना पर्यटक यहाँ आएका हुन् । यस वर्ष भारतसहित १ सय ६ मुलुकका पर्यटक यहाँ आएका थिए । बोलिभिया यहाँबाट १७ हजार ३२ किमि दूरीमा रहेको छ । त्यहाँ क्रिस्चियन धर्मावलम्बी बढी छन् ।

यी १३ मुलुकमध्ये सबैभन्दा नजिक बहराइन पर्छ । नेपालबाट ३ हजार ४ सय ३९ किमि दूरीमा पर्ने बहराइन आइल्यान्ड हो । मुस्लिम धर्म मान्नेको बाहुल्य छ । युरोपकै सबैभन्दा सानो राष्ट्र अन्डोराबाट एक पर्यटक लुम्बिनी आएका थिए । इसाई धर्म मान्नेको संख्या त्यहाँ ७७ हजार छ । १ सय ८० स्क्वायर माइल क्षेत्रफल रहेको उक्त मुलुक भूपरिवेष्टित हो । त्यस्तै नेपालबाट ४ हजार ७ सय २६ किमि पर रहेको लेबनानबाट पनि एक जना पर्यटक मात्र यहाँ आएका छन् ।

मुस्लिम बहुल लिबिया युद्धग्रस्त क्षेत्र हो । अल्वानिया पूर्वी युरोपमा पर्ने इस्लामिक मुलुक हो । उत्तर अफ्रिकामा पर्ने अल्जेरियामा ९९ प्रतिशत इस्लामिक धर्म मान्ने व्यक्तिको बसोबास छ । सोलोभेनिया इसाई धर्म मान्ने राष्ट्र हो । पराग्वे भूपरिवेष्टित मुलुक हो । त्यहाँ रोमन क्याथोलिकको बाहुल्य छ । माल्दोभा क्रिस्चियन मुलुक हो ।

युरोप, एसिया र मध्यपूर्वलाई छोएको क्रिस्चियन बहुल साइप्रसबाट पनि एक जना पर्यटक मात्र यहाँ आएका छन् । बहमास उत्तर अमेरिकामा पर्छ । त्यो क्रिस्चियन मुलुक हो । ताजकिस्तानमा ९८ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् । यस वर्ष अन्डोरा, माल्दोभा, लिविया, साइप्रस र बहमासका पर्यटक नयाँ थपिएका हुन् । यी मुलुकबाट पहिलोपटक उनीहरू लुम्बिनी आएको कोषले जनाएको छ ।

‘एक–एक जना भए पनि मुस्लिम र क्रिस्चियन बहुल देशबाट पर्यटक आउनु सकारात्मक पक्ष हो,’ लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले भने, ‘यसले शान्ति चाहनेको लुम्बिनी आकर्षण जताततै छ भन्ने देखिन्छ ।’ त्यस्तै युद्धग्रस्त मुलुकबाट पनि पर्यटक आएका छन् ।

यसले पनि शान्तिको सन्देश फैलाउन थोरै भए पनि सहयोग गर्ने उनले बताए । ‘जुन लुम्बिनीका लागि गौरवको कुरा हो,’ उनले भने, ‘यसबाट हामीले लाभ उठाउन सक्नु पर्छ ।’ भगवान् बुद्ध धर्मभन्दा पनि शिक्षा, शान्ति र आस्थाको केन्द्र रहेको उनले सुनाए ।

इस्लाम धर्म मान्नेहरू जहाँतहीं खाँदैनन् । उनीहरूका लागि खानाको समस्या छ । त्यस कारण उनीहरूलाई मिल्ने खाना र खाजाको व्यवस्था गरेर मुस्लिमको पनि आस्था बढाउनु पर्ने लुम्बिनी क्षेत्रका प्रदेश सभा सदस्य फकरुद्दिन खानले बताए । ‘लुम्बिनीलाई सबै धर्मावलम्बीको आस्था र महिमाको केन्द्र बनाउन सक्नु पर्छ,’ उनले भने, ‘तब मात्र बुद्धको शान्ति,करुणा र मैत्री शिक्षा संसारभरि फैलिनेछ ।’

तीर्थयात्री बढ्दै
सन् २०१९ मा लुम्बिनी भ्रमण गर्ने तीर्थयात्री र पर्यटक बढेका छन् । आठ महिनामा १ लाख १ हजार २ सय ६९ विदेशी पर्यटक लुम्बिनी आएका छन् । अघिल्लो वर्षको आठ महिनामा भन्दा ७ हजार ४ सय ६१ पर्यटक एवं तीर्थयात्री बढेका हुन् । सन् २०१८ को यही अवधिमा ९३ हजार ४ सय ८ विदेशी पर्यटक लुम्बिनी घुम्न आएका थिए ।

आठ महिनामा ७ लाख ९५ हजार ५ सय ८५ नेपाली, १ लाख १८ हजार ७ सय ५५ भारतीय र १ लाख १ हजार २ सय ६९ विदेशी पर्यटक गरी १० लाख १५ हजार ६ सय ९ पर्यटक एवं तीर्थयात्री लुम्बिनी घुम्न आएका थिए ।

उक्त अवधिमा सबैभन्दा बढी श्रीलंकाका ३१ हजार ७ सय ५५ जना आएका थिए । त्यसपछि थाइल्यान्डका १८ हजार ८५ र म्यानमारका १६ हजार ९ सय ७१ रहेका छन् । चीनका १२ हजार ८ सय ८ जना आएका थिए । दक्षिण कोरियाका ३ हजार ९ सय ३० र भियतनामका ३ हजार ३२ पर्यटक यहाँ आएका थिए । जर्मनीका १ हजार ८ सय ९० र ताइवानका १ हजार ३ सय ८६ जना आएका थिए ।

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइँ भने लम्बिन सकेको छैन । बसाइ लम्ब्याउने योजना आवश्यक छ । त्यसका लागि बुद्धको महिमा र आध्यात्मिक गरिमा बढाउने कार्यक्रम पनि राख्नुपर्छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्