लुम्बिनीमा १३ मुलुकका १/१ पर्यटक

मनोज पौडेल

लुम्बिनी — स्वदेश र विदेशबाट शान्ति सन्देश र प्रेरणा लिन धेरै पर्यटक लुम्बिनी आउँछन् । बुद्ध धर्मावलम्बी र अनुयायी भने तीर्थाटनको लक्ष्य हुन्छ । शुभेच्छुक शान्ति र सद्भावको ऊर्जा लिन आउँछन् । यहाँ दिनहुँ सयौं व्यक्तिको आवागमन हुन्छ । 

वार्षिक १८ लाख हाराहारीमा यहाँ श्रद्धालु र पर्यटक आउने गरेको तथ्यांक छ । इसाई, मुस्लिम र द्वन्द्वग्रस्त १३ मुलुकबाट भने सन् २०१९ को अगस्टसम्म एक/एक जना पर्यटक मात्र यहाँ आएका छन् ।


लुम्बिनी विकास कोषका अनुसार अल्वानिया, अल्जेरिया, अन्डोरा, सोलोभेनिया, पराग्वे, माल्दोभा, लिबिया, लेबनान, साइप्रस, बोलिभिया, बहमास, बहराइन र ताजकिस्तानबाट एक/एक जना पर्यटक यहाँ आएका हुन् । यस वर्ष भारतसहित १ सय ६ मुलुकका पर्यटक यहाँ आएका थिए । बोलिभिया यहाँबाट १७ हजार ३२ किमि दूरीमा रहेको छ । त्यहाँ क्रिस्चियन धर्मावलम्बी बढी छन् ।


यी १३ मुलुकमध्ये सबैभन्दा नजिक बहराइन पर्छ । नेपालबाट ३ हजार ४ सय ३९ किमि दूरीमा पर्ने बहराइन आइल्यान्ड हो । मुस्लिम धर्म मान्नेको बाहुल्य छ । युरोपकै सबैभन्दा सानो राष्ट्र अन्डोराबाट एक पर्यटक लुम्बिनी आएका थिए । इसाई धर्म मान्नेको संख्या त्यहाँ ७७ हजार छ । १ सय ८० स्क्वायर माइल क्षेत्रफल रहेको उक्त मुलुक भूपरिवेष्टित हो । त्यस्तै नेपालबाट ४ हजार ७ सय २६ किमि पर रहेको लेबनानबाट पनि एक जना पर्यटक मात्र यहाँ आएका छन् ।


मुस्लिम बहुल लिबिया युद्धग्रस्त क्षेत्र हो । अल्वानिया पूर्वी युरोपमा पर्ने इस्लामिक मुलुक हो । उत्तर अफ्रिकामा पर्ने अल्जेरियामा ९९ प्रतिशत इस्लामिक धर्म मान्ने व्यक्तिको बसोबास छ । सोलोभेनिया इसाई धर्म मान्ने राष्ट्र हो । पराग्वे भूपरिवेष्टित मुलुक हो । त्यहाँ रोमन क्याथोलिकको बाहुल्य छ । माल्दोभा क्रिस्चियन मुलुक हो ।


युरोप, एसिया र मध्यपूर्वलाई छोएको क्रिस्चियन बहुल साइप्रसबाट पनि एक जना पर्यटक मात्र यहाँ आएका छन् । बहमास उत्तर अमेरिकामा पर्छ । त्यो क्रिस्चियन मुलुक हो । ताजकिस्तानमा ९८ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् । यस वर्ष अन्डोरा, माल्दोभा, लिविया, साइप्रस र बहमासका पर्यटक नयाँ थपिएका हुन् । यी मुलुकबाट पहिलोपटक उनीहरू लुम्बिनी आएको कोषले जनाएको छ ।


‘एक–एक जना भए पनि मुस्लिम र क्रिस्चियन बहुल देशबाट पर्यटक आउनु सकारात्मक पक्ष हो,’ लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले भने, ‘यसले शान्ति चाहनेको लुम्बिनी आकर्षण जताततै छ भन्ने देखिन्छ ।’ त्यस्तै युद्धग्रस्त मुलुकबाट पनि पर्यटक आएका छन् ।


यसले पनि शान्तिको सन्देश फैलाउन थोरै भए पनि सहयोग गर्ने उनले बताए । ‘जुन लुम्बिनीका लागि गौरवको कुरा हो,’ उनले भने, ‘यसबाट हामीले लाभ उठाउन सक्नु पर्छ ।’ भगवान् बुद्ध धर्मभन्दा पनि शिक्षा, शान्ति र आस्थाको केन्द्र रहेको उनले सुनाए ।


इस्लाम धर्म मान्नेहरू जहाँतहीं खाँदैनन् । उनीहरूका लागि खानाको समस्या छ । त्यस कारण उनीहरूलाई मिल्ने खाना र खाजाको व्यवस्था गरेर मुस्लिमको पनि आस्था बढाउनु पर्ने लुम्बिनी क्षेत्रका प्रदेश सभा सदस्य फकरुद्दिन खानले बताए । ‘लुम्बिनीलाई सबै धर्मावलम्बीको आस्था र महिमाको केन्द्र बनाउन सक्नु पर्छ,’ उनले भने, ‘तब मात्र बुद्धको शान्ति, करुणा र मैत्री शिक्षा संसारभरि फैलिनेछ ।’


तीर्थयात्री बढ्दै

सन् २०१९ मा लुम्बिनी भ्रमण गर्ने तीर्थयात्री र पर्यटक बढेका छन् । आठ महिनामा १ लाख १ हजार २ सय ६९ विदेशी पर्यटक लुम्बिनी आएका छन् । अघिल्लो वर्षको आठ महिनामा भन्दा ७ हजार ४ सय ६१ पर्यटक एवं तीर्थयात्री बढेका हुन् । सन् २०१८ को यही अवधिमा ९३ हजार ४ सय ८ विदेशी पर्यटक लुम्बिनी घुम्न आएका थिए ।


आठ महिनामा ७ लाख ९५ हजार ५ सय ८५ नेपाली, १ लाख १८ हजार ७ सय ५५ भारतीय र १ लाख १ हजार २ सय ६९ विदेशी पर्यटक गरी १० लाख १५ हजार ६ सय ९ पर्यटक एवं तीर्थयात्री लुम्बिनी घुम्न आएका थिए ।


उक्त अवधिमा सबैभन्दा बढी श्रीलंकाका ३१ हजार ७ सय ५५ जना आएका थिए । त्यसपछि थाइल्यान्डका १८ हजार ८५ र म्यानमारका १६ हजार ९ सय ७१ रहेका छन् । चीनका १२ हजार ८ सय ८ जना आएका थिए । दक्षिण कोरियाका ३ हजार ९ सय ३० र भियतनामका ३ हजार ३२ पर्यटक यहाँ आएका थिए । जर्मनीका १ हजार ८ सय ९० र ताइवानका १ हजार ३ सय ८६ जना आएका थिए ।


लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइँ भने लम्बिन सकेको छैन । बसाइ लम्ब्याउने योजना आवश्यक छ । त्यसका लागि बुद्धको महिमा र आध्यात्मिक गरिमा बढाउने कार्यक्रम पनि राख्नुपर्छ । प्रकाशित : भाद्र १७, २०७६ ०९:४७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काममै बित्यो प्रदेशमन्त्री र उपाध्यक्षको तीज

कान्तिपुर संवाददाता

बुटवल — तीजको दिन सोमबार सर्वसाधारण महिला दिनभर नाचगान, पूजाआजा र रमाइलोमा व्यस्त रहे । यहाँका कार्यकारी तहका महिलाले भने तीजमा पनि काम गरेरै बिताए । 

प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बिहानैदेखि मन्त्रालयका काममा सरिक भइन् र दिउँसो मन्त्रिपरिषद् बैठकमा सहभागी भइन् ।

‘हिजो नै तीजका दिन हजुरको समय मिल्ने भए मात्रै बैठक बसौं भनेर मुख्यमन्त्रीज्यूले सोध्नुभएको थियो,’ उनले भनिन्, ‘मेरो चाडपर्व र व्यक्तिगत रमाइलोभन्दा मन्त्रिपरिषद् बैठक महत्त्वपूर्ण लाग्यो । मैले नै मेरो कारण बैठक नसारौं भनें ।’ निर्णायक तहमा भएपछि चाडबाड वा अन्य काममा अल्झन नहुने उनको तर्क छ । मन्त्री नभएका बेला आफूलाई पनि तीज निकै लाग्ने उनले सुनाइन् ।

घरपरिवारमा सीमित महिला पछिल्लो समय घरबाहिरका काममा संलग्न हुन थालेका छन् । १० देखि ५ बजेसम्म ड्युटी गर्ने कर्मचारी मात्रै होइन, नीति निर्माण गर्ने र निर्णायक भूमिकामा रहेका नेता महिलाका लागि चाडपर्वभन्दा ठूलो आफ्नो जिम्मेवारी बनेको छ ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य पनि तीजको दिन नियमित काममै जुटिन् । न्यायिक समितिमा थुप्रिएका धेरै गुनासामध्ये चारवटा उजुरीलाई उनले सोमबार मसिनो गरी केलाइन् । त्यसपछि छलफलका एजेन्डा बनाइन् । योजना कार्यान्वयन र अनुगमनका फाइलका चाङ थिए । तिनको अध्ययन गरिन् । ‘काम, कर्तव्य र भूमिका जिम्मेवारीअनुसार हुँदोरहेछ,’ उनले भनिन्, ‘तीजको दिन समय निकालेर कार्यालयमै खटिएर जिम्मेवारीअनुसारको काम गरेँ ।’

प्रदेश उपसभामुख कृष्णी थारू आइतबार अट्वारी अर्थात् थारू महिलाको तीज मनाउने औपचारिक कार्यक्रममा बर्दिया पुगिन् । सोमबार फर्केर प्रदेशसभाको काम सम्हालिन् । प्रदेशसभाको बैठक नभएकाले कार्यकारी काम गर्नुपरेन ।
तीजलगत्तै सांसद महिलाको सशक्तीकरणका लागि कार्यक्रम गर्ने योजना छ । ‘त्यसलाई कसरी अगाडि बढाउने भनेर एक दर्जन बढी महिला सांसदसित सुझाव मागेँ,’ उनले भनिन्, ‘तीजको दिन काममै बिताएँ तर पनि थकथकी लागेन ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×