कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काममै बित्यो प्रदेशमन्त्री र उपाध्यक्षको तीज

बुटवल — तीजको दिन सोमबार सर्वसाधारण महिला दिनभर नाचगान, पूजाआजा र रमाइलोमा व्यस्त रहे । यहाँका कार्यकारी तहका महिलाले भने तीजमा पनि काम गरेरै बिताए । 

प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बिहानैदेखि मन्त्रालयका काममा सरिक भइन् र दिउँसो मन्त्रिपरिषद् बैठकमा सहभागी भइन् ।


‘हिजो नै तीजका दिन हजुरको समय मिल्ने भए मात्रै बैठक बसौं भनेर मुख्यमन्त्रीज्यूले सोध्नुभएको थियो,’ उनले भनिन्, ‘मेरो चाडपर्व र व्यक्तिगत रमाइलोभन्दा मन्त्रिपरिषद् बैठक महत्त्वपूर्ण लाग्यो । मैले नै मेरो कारण बैठक नसारौं भनें ।’ निर्णायक तहमा भएपछि चाडबाड वा अन्य काममा अल्झन नहुने उनको तर्क छ । मन्त्री नभएका बेला आफूलाई पनि तीज निकै लाग्ने उनले सुनाइन् ।


घरपरिवारमा सीमित महिला पछिल्लो समय घरबाहिरका काममा संलग्न हुन थालेका छन् । १० देखि ५ बजेसम्म ड्युटी गर्ने कर्मचारी मात्रै होइन, नीति निर्माण गर्ने र निर्णायक भूमिकामा रहेका नेता महिलाका लागि चाडपर्वभन्दा ठूलो आफ्नो जिम्मेवारी बनेको छ ।


बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य पनि तीजको दिन नियमित काममै जुटिन् । न्यायिक समितिमा थुप्रिएका धेरै गुनासामध्ये चारवटा उजुरीलाई उनले सोमबार मसिनो गरी केलाइन् । त्यसपछि छलफलका एजेन्डा बनाइन् । योजना कार्यान्वयन र अनुगमनका फाइलका चाङ थिए । तिनको अध्ययन गरिन् । ‘काम, कर्तव्य र भूमिका जिम्मेवारीअनुसार हुँदोरहेछ,’ उनले भनिन्, ‘तीजको दिन समय निकालेर कार्यालयमै खटिएर जिम्मेवारीअनुसारको काम गरेँ ।’


प्रदेश उपसभामुख कृष्णी थारू आइतबार अट्वारी अर्थात् थारू महिलाको तीज मनाउने औपचारिक कार्यक्रममा बर्दिया पुगिन् । सोमबार फर्केर प्रदेशसभाको काम सम्हालिन् । प्रदेशसभाको बैठक नभएकाले कार्यकारी काम गर्नुपरेन ।

तीजलगत्तै सांसद महिलाको सशक्तीकरणका लागि कार्यक्रम गर्ने योजना छ । ‘त्यसलाई कसरी अगाडि बढाउने भनेर एक दर्जन बढी महिला सांसदसित सुझाव मागेँ,’ उनले भनिन्, ‘तीजको दिन काममै बिताएँ तर पनि थकथकी लागेन ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?