१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घरेलु हिंसापीडित पुरुष बढे

कपिलवस्तु — लालपुर गाउँका ४३ वर्षे ओरिरामले श्रीमतीले खानलाउन नदिई यातना दिएको भन्दै प्रहरीमा उजुरी दिए । महिना दिनदेखि भोकभोकै बस्नु पर्दा बिरामी भएको जाहेरीमा उल्लेख थियो ।

उनीजस्तै परसोहियाका सजनलालले पनि श्रीमतीले माइतीको धाक देखाउँदै दुर्व्यवहार गर्ने गरेको जाहेरी दिएका छन् । ठूलठूला कुरा गर्दै आफूलाई श्रीमान्जस्तो व्यवहार नगर्दा घरमा बस्नै गाह्रो भइरहेको उनको उजुरीमा लेखिएको छ ।


अहिले कम सुनिने गरेका पुरुषहरूसमेत घरेलु हिंसा प्रभावित भएका घटना बाहिर आएका छन् । चार वर्षमा यस्ता ५३ उजुरी यहाँ दर्ता भएका छन् । पहिले गुपचुपमा मिलाइने पुरुष हिंसाका उजुरी गर्न अहिले पुरुषहरू आफैं प्रहरीकहाँ पुग्ने गरेका हुन् । ‘असैह्य भयो,’ एक प्रभावित पुरुषले भने, ‘कतै उजुरी गर्ने ठाउँ नपाएपछि प्रहरीकहाँ आएँ ।’


गत आवमा प्रहरी कार्यालय महिला सेलमा पत्नीविरुद्ध १५ उजुरी परेका थिए । त्यसअघि ०७४/७५मा १२ जना श्रीमान्ले आफ्नी पत्नीविरुद्ध उजुरी दिएका थिए । ०७३/७४ मा १४ र ०७२/७३ मा १२ त्यस्ता घटना दर्ता भएका छन् । यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकहाँ खासै जाँदैनथे । त्यस कारण प्रहरीले पनि रेकर्ड राख्दैनथ्यो । चार वर्षदेखि बिस्तारै संख्या बढ्दै गएको छ ।


त्यसपछि रेकर्ड राखेर काम गर्न थालिएको प्रहरीको भनाइ छ । महिलाले जस्तै पुरुषले पनि आफू पीडित भएको उजुरी गर्न थालेपछि आरोपित महिलालाई कार्यालयमै बोलाएर छलफल गर्न सुरु गरेको महिला तथा बालबालिका सेलकी शान्ति खत्रीले बताइन् । ‘समय, परिस्थिति र अवस्था फेरिंदै जाँदा नयाँ खाले समस्या आउन थाले,’ उनले भनिन्, ‘सकेसम्म दुवै पक्षलाई मिलाएर पठाउने गरेका छौं ।’ अधिकांश पुरुष वास्तविक रूपमा पीडित भेटिएको उनले बताइन् ।


दुवै पक्ष राखी छलफल गर्दा समस्या पत्ता लाग्ने गरेको उनको अनुभव छ । ‘अब कसरी समाधान गर्ने भनेर निर्क्यौल पनि निकाल्दै छौं,’ उनले भनिन्, ‘अहिलेसम्म पीडित पुरुषलाई चित्त बुझाएरै पठाएका छौं । सम्झाइबुझाइ गर्छौं, नमाने कागज गराएर पठाउँछौं ।’


श्रीमतीले खानलाउन नदिएका र कुटपिट गर्दै दुर्व्यवहार गरेका समस्या धेरै आएको उनले सुनाइन् । ‘घरमा काम नगर्ने, एउटै बिस्तरा सेयर गर्न नमान्नेजस्ता समस्या धेरै आएका छन्,’ उनले भनिन्, ‘विलासी चाहना गरेर दुःख दिएको भन्दै पुरुष धरधरी रुन्छन् ।’ घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने र बालबालिका नहेरेर दुःख दिइरहेको उजुरी पनि पर्ने गरेको उनले सुनाइन् । सामाजिक सन्जाल र मोबाइलको प्रयोगले पनि यस्ता समस्या बढेको उनले बताइन् । ‘गत आवका १५ पुरुषकै समस्या समाधान गर्‍यौं,’ महिला सेलकी खत्रीले भनिन्, ‘त्यसपछि फेरि समस्या भयो भन्दै पुरुष आएका छैनन् ।’


अहिले प्रहरीले पुरुष हिंसाका घटनालाई पनि अन्य हिंसाका रूपमा रकर्डमा राखेर अनुसन्धान र तहकिकात गर्ने गरेको छ । घर बिग्रियो भने परिवार बिग्रने र त्यसले समाजलाई भाँडभैलोतर्फ लैजाने हुँदा सम्भव भए प्रहरी कार्यालयमै छलफल गरेर र नभए अदालतसम्म उठाएर त्यस्ता समस्या समाधान गर्ने गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक दीपशमशेर राणाले बताए । ‘घरेलु हिंसा प्रभावित महिलालाई विशेष महत्त्व दिई काम गर्दै आएका थियौं,’ उनले भने ।

प्रकाशित : भाद्र १६, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?