कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजमार्गका पुल जीर्ण

नवीन पौडेल

(नवलपुर) — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी र पश्चिम नवलपरासी खण्डका विभिन्न खोलामा बनाइएका मोटरेबल पुल जीर्ण भएका छन् । अत्यधिक भार बोक्ने मालवाहक ट्रक र समयमा मर्मत सम्भार नहुँदा पुल जीर्ण भएका हुन् । चार दशक पुराना पुल धसिने तथा सामान्य ठक्करमा पनि भाँचिन थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

हरेक वर्ष पुल भाँचिने र केही न केही समस्या आउने गरेको छ । लोकाहा, जयश्री पुल भाँचिएको र सामान्य मर्मतपछि पुन: यातायात सुचारु गरिँदा थप समस्या आएको छ । राजमार्गको नारायणगढ–बुटवल खण्डका जयश्री, लोकाहा, पत्थर, भलुही खोलाका पुल जीर्ण भइसकेका छन् भने अन्य पुल पनि मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा साउन २९ मा ट्रकको ठक्करबाट क्षति पुगेको थियो । ना६ख ४७१ नम्बरको मालवाहक ट्रकले स्टिल ब्रिजको ट्रटमा ठक्कर दिँदा पुल चर्किएको थियो । जनैपूर्णिमाको अघिल्लो दिन पुलमा यातायात अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र परे । तत्काल डाइभर्सन बनाउन नसक्दा ३५ घण्टासम्म सडक अवरुद्ध भयो । जसोतसो निर्माण भएको डाइभर्सन पनि खोलाले पटक–पटक बगाउँदा यातायात ठप्प भयो । यसअघि पनि लोकाहा पुल र जयश्री पुल भाँचिएकाले कैयौं दिनसम्म राजमार्ग ठप्प भयो । क्षति पुगेको पुल मर्मत गर्नेबाहेक अन्य पुलको अवस्थाबारे सरोकारवालाले जानकारी नराख्दा सामान्य ठक्करमा पनि पुल भाँचिने गरेको छ ।


यस खण्डका पुल ४० वर्ष पुराना छन् । तत्कालीन समयमा यी पुलको भारबहन क्षमता १८ दशमलव २ टन रहेको थियो । तर समयक्रमसँगै ५० टनसम्म भार भएका ट्रक पुलमा गुड्दा थप जोखिममा परेका हुन् । यसका साथै खोलानालामा गिट्टी, बालुवाको टेन्डर दिँदा पुलनजिकैबाट नदीजन्य वस्तु निकाल्न दिने गरेकाले समेत पुलको आयु घटिरहेको छ । गैंडाकोटदेखि सुनवलसम्म साना ठूला गरेर ४० पुल छन् । जसमा स्टिल ट्रस्ट ब्रिज १० वटा छन् । अधिकांश स्थानमा अहिले लगातार हरेक वर्ष यस्तै पुलमा सवारीले ठक्कर दिँदा क्षति पुग्ने गरेको छ । २०२८ सालमा पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि ०३५ र ०३८ सालको बीचमा पुल बनेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । प्राविधिक रूपमा यस्ता पुलको आयु ४० देखि ४५ वर्षसम्म रहन्छ ।


सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरिप्रसाद सुवेदीले राजमार्गका पुल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ‘पुल मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । समय–समयमा मर्मत पनि हुने गरेको छ,’ उनले भने, ‘भारबहन क्षमताभन्दा दोब्बर तौल भएका मालवाहक सवारीले ठक्कर दिँदा अधिकांश पुलमा असर पुगेको छ ।’


सडक डिभिजन कार्यालयले पनि बुटवल–नारायणगढ सडक खण्ड विस्तारका लागि टेन्डर आह्वान भइसकेका कारण सडक र पुल मर्मतमा ध्यान दिएको छैन ।


प्रकाशित : भाद्र १५, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?