२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मौरीबाट मनग्ये 

प्यूठान — यहाँका किसानले मौरी पालेर मनग्य आम्दानी लिन थालेका छन् । प्यूठान नगरपालिका–६, माझकोटका किसानले मौरीबाटै कुस्त कमाउन थालेका हुन् । माझकोटको जुमिल्धारा, आम्धारा, टुनीखर्च, बासपानीलगायत गाउँमा दुई दर्जनभन्दा बढी किसानले मौरी पाल्दै आएका छन् ।

यहाँका किसानले छोरा/छोरीलाई शिक्षादीक्षा र घरखर्चको जोहो मौरीकै आम्दानीले गरेको बताए ।


प्यूठान नगरपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत यहाँ मौरी पालक किसानलाई प्रोत्साहन गर्न समूहलाई आठ लाख रुपैयाँ सहयोग गरेपछि किसान मौरीपालनमा हौसिएका हुन् । परम्परागत रूपमा मुढेघारमा मौरी पाल्दै आएका किसानले विभिन्न समयमा लिएको तालिम र नगरपालिकाबाट आधुनिक घार पाएपछि स्थानीय जातका मौरीलाई आधुनिक घारमा समेत राखेर पाल्न थालेका छन् ।


आधुनिक घारमा मौरी राख्न थालेपछि आम्दानी बढदै गएको किसानले बताए । नगरपालिकाले सहयोग गरेपछि मौरीपालनमा हौसला मिलेको स्थानीय किसान ईश्वरबहादुर केसीले सुनाए । उनले ३५ मुढेघारमा र १० आधुनिक घारमा मौरी पालेको बताए । ‘मौरीबाटै परिवार धानिएको छ,’ उनले भने, ‘मौरीले नै छोराछोरी पढाएको छु ।’ गएको हिउँदमा पानी कम परेकाले उत्पादन बढेको र महकै आम्दानीले माझकोट लम्छ्याङनेटामा ६ कोठे पक्की घरसमेत बनाएको उनले सुनाए । ‘गत हिउँदमा दुई लाख रुपैयाँभन्दा बढीको मह बिक्री गरें,’ उनले भने, ‘हाम्रो सिंगो परिवारलाई मौरीले पालेको छ ।’ जाडो र गर्मी दुवै मौसममा मौरी चर्न सक्ने चरन रहेकाले जुमिल्धारामा मौरीले राम्रो मह पार्ने उनको अनुभव छ । ‘चैत/वैशाखमा लेकमा फुल्ने जडीबुटीको मह बनाउँछ,’ केसीले भने, ‘कात्तिक मंसिरमा चिउरी, तोरी, पैयू फुल्छ ।’


बलियो काठमा मुढेघार बनाएर मौरी राख्ने गरेको माझकोट आम्धाराका अर्का मौरीपालक किसान दण्डबहादुर भण्डारीले बताए ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?