मदिराविरुद्ध आमाहरू 

काशीराम डाँगी

(तेबाङ, रोल्पा) — पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित तेबाङ गाउँको मेलाबाट आमा समूहका सदस्यले फेला पारेको मदिरा संकलन गरेर वडा कार्यालयसम्मै ल्याए । वडाध्यक्षसहितका जनप्रतिनिधिको रोहवरमा आमाहरूले बजारबाट आयातित मदिरासमेत पोखेर नष्ट गरिदिए ।

गाउँका पुरुषले अत्यधिक मदिरा सेवन गर्नाले गाउँ र समाज अनुशासनहीन बन्दै गएको निष्कर्षमा आमाहरूले मदिराविरुद्धका गतिविधिमा सक्रियता देखाएका हुन् । आफ्नैअगाडि मदिरा पोखिएको देखेपछि सुनिल स्मृति गाउँपालिका–७, तेबाङका वडाध्यक्ष मानसिंह पुनले भने, ‘महिलाले असल कामको थालनी गर्नुभएको छ । हाम्रो साथ उहाँहरूलाई छ ।’ त्यसो त वर्ष दिनदेखि आमा समूहहरू मदिरा नियन्त्रण गतिविधिमा खुलेरै लागेका छन् । आमा समूह, विद्यार्थी, किशोरी तथा किशोर संवाद समूहमा आबद्ध सबैको सक्रियता देखिएपछि गाउँमा सरसफाइ र मदिराविरुद्धका गतिविधि एक्कासि बढेका छन् ।


मदिरा नियन्त्रणबारे रोल्पाका सबै स्थानीय तहमा गतिविधि सञ्चालन गरिएको छ । कतिपय जनप्रतिनिधिले आमा समूह, महिला समूह, बाल क्लब, किशोरी समूह र विद्यार्थीले थालेका मदिरा नियन्त्रण कार्यलाई सघाउँदै आएका छन् । केही वडालाई जनप्रतिनिधिले पूर्ण रूपमा मदिरा निषेधित क्षेत्रसमेत घोषित गरेका छन् । तर, प्रभाव भने न्यून रूपमा पर्दै आएको छ । सदरमुकाम लिबाङदेखि करिब २५ किलोमिटर पूर्वको दुर्गम गाउँ तेबाङका आमाहरू भने मदिरा नियन्त्रण गर्न मैदानमै ओर्लिएका छन् । उनीहरूले जनप्रतिनिधिलाई समेत मदिराविरुद्धका गतिविधिमा लाग्न आहवान गर्दै आएका छन् । पुरुषले मदिरा सेवन गर्नाले झैझगडा हुनुका साथै घरव्यवहार चलाउन चुनौती देखिएकाले खुलेरै मदिराविरुद्धको अभियानमा लाग्नुपरेको तेबाङ गाउँका आमा समूहका सदस्यले बताए । चिस्पाधारा आमा समूहकी अध्यक्ष खौमाली आलेका अनुसार मदिरा सेवन रोक्न सकेपछि मात्रै अन्य क्षेत्रको विकास सम्भव हुने देखिएको छ । ‘पुरुष र कतिपय महिलाले मदिरा सेवन गर्नाले गाउँघरको अवस्था बिग्रिएको छ । त्यसैले मदिरा नियन्त्रण गर्नु हाम्रो मुख्य प्राथमिकतामा परेको हो,’ आमा समूहकी अध्यक्ष आलेले भनिन्, ‘घरका अगुवाले नै मदिरा सेवन गरेपछि बालबालिका र किशोर–किशोरीमा नकारात्मक प्रभाव परेको छ ।’


मदिरा सेवन गर्नेमाथि आमा समूहका सदस्यले जरिवाना तिराई १ लाख ७ हजार रुपैयाँ संकलन गरेका छन् । आमा समूहहरूको उक्त गतिविधिप्रति साथ दिँदै आएका वडाध्यक्ष पुनले सबै गाउँमा यस्तै अभियान चलाउन हौसला मिलेको बताए । ‘गाउँपालिका र सबै जनप्रतिनिधिले साथ दिएमा आउँदो दुई वर्षमा तेबाङलाई मदिरा नियन्त्रित वडा बनाउन सकिनेछ,’ उनले भने । अघिल्लो साता चिस्पाधारास्थित जंगल बीचमा लागेको मेलाबाट आमा समूहका सदस्यले ६ वटा बियरका बोतल नियन्त्रणमा लिई वडा कार्यालयमा ल्याएका थिए । उनीहरूले वडा कार्यालय परिसर नजिकै मदिरा पोखाइदिएका थिए । उनीहरूले अवैध घरेलु मदिराको समेत उत्पादन, सेवन र ओसारपसारमाथि रोकथाम गर्दै आएका छन् ।


‘आमा समूहका सदस्य र किशोरी संवाद समूहहरूले असल काम गर्दै आएका छन्,’ गाउँमा आनीबानी र चालचलन बदल्ने गतिविधिमा सघाउँदै आएकी वडा सदस्य काली कामीले भनिन्, ‘हामी यसमा बाधक होइन, सहयोगी बन्नुपर्छ ।’


झन्डै ४ सय ५० घरधुरी रहेको तेबाङमा ६ वटा आमा समूह सक्रिय छन् । अर्को एउटा आमा समूह गठन हुने तयारीमा छ । गाउँलेको मदिराविरुद्धको गतिविधिलाई स्ट्रोम फाउन्डेसन र सहास नेपालले सघाउँदै आएका छन् । त्यहाँ सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण (सिडस) कार्यक्रमका तेबाङस्थित सामाजिक परिचालक नरेश थापाले आमा समूह र किशोरी संवाद समूहहरूका गतिविधिप्रति जनप्रतिनिधिले सघाएकाले चाँडै सकारात्मक परिवर्तन हुने आशा व्यक्त गरे । कार्यक्रमकी जिल्ला संयोजक मेनका मल्ल सिंहका अनुसार विपन्न, शिक्षा, स्वास्थ्य र अवसरबाट वञ्चित पारिएका परिवारलाई लक्षित गरेर अवसर, रोजगार सिर्जना गर्नमा ध्यान दिएको बताइन् ।


६० प्रतिशत मगर, ३० प्रतिशत क्षत्री तथा ब्राह्मण र १० प्रतिशत दलितको बसोबास रहेको तेबाङमा शैक्षिक, सामाजिक र आर्थिक अवस्था सुध्रिएको छैन । स्थानीय युवा महेन्द्र पुनले राज्यको सुदृष्टि नपरेका कारण गाउँको विकास हुन नसकेको बताए ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?