कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पार्कमा तीज

सन्जु पौडेल

(रूपन्देही) — अरू बेला भ्रमण र वनभोजका निम्ति पुगिने यहाँका पार्कमा अहिले तीजको दर खानेको भीड लागेको छ । विगतमा पार्टी प्यालेस र हलमा जम्मा हुने दिदीबहिनीले यसपालि वनवाटिका, फूलबारी, हिलपार्कजस्ता ठाउँमा रमाइलो गरेको देखिन्छन् । 

प्रशासनले महँगा गरगहना लगाएर पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने भनेपछि दरखाने र खुवाउनेले यी पार्क रोजेका हुन् । पार्कमा रहेका सेड र खुला ठाउँमा अहिले दर खानेको भीड लागेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताए । ‘दैनिक घटीमा चार समूहले दर खाने कार्यक्रम गरिरहेका छन्,’ उनले भने, ‘शनिबार १२ स्टलमा खचाखच थियो ।’ वनविहारमा अघिपछि पनि विभिन्न कार्यक्रम गर्नेको भीड लाग्ने भए पनि यो महिनामा रातो सारीमा सजिएर आउने दिदीबहिनीको लहर लागेको उनले बताए । बुटवलको फूलबारीमा समेत दिनहुँ दर खाने कार्यक्रम चलिरहेको छ । पोहोरको जस्तो उपस्थिति नभए पनि बिदाका दिनमा दर खानेको बाक्लै उपस्थिति रहने गरेको काउन्टर सहायक वन्दना शर्माले बताइन् । ‘तीजका बेलामा देखिएको यो भीड अन्य समयमा भन्दा धेरै हो,’ उनले भनिन्, ‘रमाइलो चाडका बेला यस्ता पार्कमा जम्मा हुने शैली राम्रो हो ।’ खर्च कम गर्न पनि पार्कका स्टल र खुला स्थानले सहयोग गरेको उनले बताइन् ।


दिनहुँ बिहान व्यायाम गर्नेको भीड हुने हिलपार्क परिसरमा दिउँसोको समय पनि खाली छैन । व्यायाम गर्नेले तीजकै गीतमा नाचेका हुन्छन् भने दर पकाएर खाने महिलाको समेत बाक्लै उपस्थिति देख्न पाइन्छ । ‘स्थानीयभन्दा बाहिरकैले यहाँ कार्यक्रम राख्ने गर्छन्,’ कर्मचारी गीता ज्ञवालीले भनिन्, ‘चाडपर्वमा पार्कमा जमघट भएर रमाउनेको उपस्थिति राम्रै छ ।’ वनभोज खाने, घुम्ने मात्र नभएर दर खानेका लागि पनि रोजाइको स्थान बनेको देख्दा खुसी लागेको उनले बताइन् । अर्बेनी सम्पर्क समाज रूपन्देहीले वनवाटिकामा तीज मिलन कार्यक्रमको आयोजना गर्‍यो । पार्टी प्यालेसमा गरिने कार्यक्रमलाई प्रशासनले न्यूनीकरण गर्न खोजेकाले प्रशासनको मर्यादा राख्न प्रांगणमा कार्यक्रम गरेको समाजका सदस्य मथुरा न्यौपानेले बताइन् । ‘खुला स्थानमा कार्यक्रम गर्दा मान्छेको बाक्लो उपस्थिति हुने रहेछ,’ उनले भनिन्, ‘दुई हजार जनाको सहभागिता रहने कार्यक्रम हलमा गर्दा साँघुरो हुने भएकाले खुला ठाउँ रोजेका हौं ।’ चौपारी र आँगनमा नाचेर मनाइने तीजको झल्को दिन पनि समाजले प्रांगणमा कार्यक्रम गरेको उनले बताइन् ।


तीजलाई आधुनिक बनाउने बहानामा उच्छृंखल र तडकभडक बढिरहेका बेला प्रशासनको निर्णय कदरयोग्य रहेको उपप्राध्यापक माया कडेरियाले बताइन् । ‘आधुनिकीकरणका नाममा परम्परा भुल्दै गएको पाइएको थियो,’ उनले भनिन्, ‘संस्कृति र परम्परा जोगाउन जरुरी छ ।’ तीजको रौनक खुला चौर र चौपारीमा देख्दा गाउँघरको सम्झना आएको उनले बताइन् ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?