२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दु:ख बाँड्ने अवसर बन्दै तीज

दुर्गालाल केसी

(दाङ) — आइतबार थारु समुदायको महत्त्वपूर्ण पर्व अटवारी मनाइँदै छ । थारु समुदायमा तीजलाई खासै महत्त्व दिइँदैन तर अचेल अन्य समुदायको प्रभावले तीजको महत्त्व सबैतिर बढदै गएको छ । 

दु:ख बाँड्ने अवसर बन्दै तीज

मुक्त कमलरीले शुक्रबार घोराहीमा तीज मिलन कार्यक्रम आयोजना गरी छमछमी नाचे । पश्चिम तराईका विभिन्न जिल्लाबाट जम्मा भएका मुक्त कमलरीले मुक्त कमलरी विकास मञ्चको कार्यालयमा दर खाएर नाचगान गरे । अन्य समुदायका महिलाजस्तै सारीमा ठाँटिएर उनीहरूले तीजको रौनक ल्याए । उनीहरूलाई तीज मनाउनु रमाइलो मात्रै छैन, यसको ऐतिहासिक पक्ष पनि जोडिएको छ । जब उनीहरूले तीजलाई मनका बह पोख्ने पर्वका रूपमा बुझे, त्यसपछि उनीहरू यसप्रति आकर्षित भए । उनीहरूसँग पनि कमलरी जीवनका असीमित पीडा छन् । सधैं पीडा पोख्ने अवसर जुट्दैन । थारु समुदायका चाडपर्वमा पीडा पोख्ने वातावरण मिल्दैन । त्यसकारण पनि उनीहरूले तीजलाई कमलरीका दु:ख बाँडने अवसरका रूपमा लिएका छन् ।


अन्य समुदायका महिलाको पीडा पोख्ने र दु:खसुखका कुरा बाँड्ने माध्यमका रूपमा तीजलाई मनाएको थाहा पाएपछि उनीहरू यसको गहिराइमा पुगेका हुन् । कमलरी थारु समुदामा रहेको गलत प्रथा हो । सरकारले ०७० असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको छ । त्यसयता थारु समुदायका छोरीहरू खुला रूपमा कमलरी बस्न अर्काका घरमा जाने चलन घट्दै गएको छ । मुक्त भएका कमलरी विभिन्न क्षेत्रमा क्रियाशील छन् । अध्ययन, व्यवसाय, उद्यम र सामाजिक काममा क्रियाशील मुक्त कमलरी अन्य समयमा पनि एक ठाउँ जुटेर आफ्ना समस्याबारे छलफल गर्ने गर्छन् । तीजलाई नै माध्यम बनाएर आपसी दु:ख बाँड्ने चलन भने भर्खरै सुरु भएको छ । यसपटक तीजलाई मनका कुरा पोख्ने माध्यम बनाएको मुक्त कमलरी विकास मन्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । ‘सबै दिदीबहिनी एक ठाउँ जुटेर मिठोमिठो खाने, नाचगान गर्ने र आफ्ना समस्या पोख्ने काम गरेका छौं,’ उनले भनिन्, ‘हाम्रो समुदायमा तीजलाई खासै महत्त्व नदिइए पनि बिस्तारै हामीले यसलाई दु:ख पोख्ने माध्यमका रूपमा प्रयोग गर्न थालेका छौं ।’


थारु समुदायमा खासै महत्त्व नदिइने तीज छोरीहरूका लागि स्वतन्त्रताको पर्व मानिने भएकाले मुक्त कमलरीले पनि मनाउन थालेको मञ्चकी पूर्वअध्यक्ष मञ्जिता चौधरीले बताइन् । ‘अन्य समुदायका महिलाले यसलाई स्वतन्त्रताको पर्वका रूपमा मनाउँछन् । दु:खसुख पोख्छन्,’ उनले भनिन्, ‘हामीसँग पनि धेरै दु:ख, पीडा छन् । कमलरी बस्दाका वेदना तीजका गीतमा व्यक्त गर्न सकिन्छ ।’ छोरीका दु:ख पोख्ने पर्वका रूपमा बुझेपछि तीजप्रति आकर्षित भएको घोराही उपमहानगरपालिका–१०, नारायणपुरकी सरस्वती चौधरीले बताइन् । ‘हामीले पहिले तीजलाई त्यति महत्त्व दिँदैनथ्यौं । छोरीहरूले समस्या पोख्ने पर्व हो भन्ने बुझेपछि हामी पनि आकर्षित भयौं,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?